जलवायु परिवर्तनले बस्ती विस्थापित
जोमसोम : उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती विकट गाउँ समजुङका १८ घरधुरी विगत २ वर्षदेखि नमसुङमा बसाइ सारेका छन् । विश्वमै बढ्दै गएको जलवायु परिवर्तनको असरले समजुङबासी प्रभावित भएपछि बसाइ सराइ गरेका हुन्।
जलवायु परिवर्तनको असरले जीवनशैलीमा नकारात्मक प्रभाव परेको, अन्नबाली उत्पादनमा ह्रास आएको र पानीका श्रोत सुक्दै गएपछि बस्ती विस्थापित भएको हो। विस्थापित समजुङका १८ घरधुरीको बस्ती नमसुङमा सरेको छ।बस्तीमा सडक समेत पुर्याएको छ । समजुङमा विगत केही वर्षयता जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको छ।
परम्परागत रुपमा गरिने खेतीमा सिचाईं अभाव भएको छ। त्यसो त वर्षको एकपटक गरिने खेती पनि हुन छाडेपछि समजुङबासीले मुस्ताङी राजाको सहयोग मागेका थिए । उनीहरुले आफूहरु लोछेदिन समुदायको भएकाले उपल्लो मुस्ताङमै आश्रय दिन राजासमक्ष अनुरोध गरेका थिए । यसपछि दिंवगत मुस्ताङी राजा जिग्मे पलवर बिष्टले समजुङबासीलाई नमसुङमा बस्ती बसाएका थिए ।
मुस्ताङी राजाकै निगाहामा समजुङबासीलाई १ सय रोपनी जग्गा उपलब्ध गराइएको थियो । प्राप्त जग्गामा उनीहरुले घरटहरा र खेती गर्न थालेको मुस्ताङी युवराज जिग्मेसिङ्मी पलवर बिष्टले जानकारी दिए ।
युवराज बिष्टका अनुसार पहिले खेती कम हुने गरेपनि विस्तारै खेती हुन थालेको छ। विस्थापित समजुङ बस्ती सरेपनि पशुपालन व्यवसाय भने उनीहरुले साविक समजुङमै गरेका छन् । पर्याप्त चरनक्षेत्र रहेकाले सामूहिकरुपमा पशुपालन व्यवसाय गर्ने गरेको र बस्ने र खेतीपातीको काम भने नमसुङमा सुरु गरेको युवराज बिष्टको भनाई छ ।
अहिले समुजुङका १८ घरधुरी पुनर्स्थापित बस्तीमा छन् ।पूर्व मुस्ताङी राजाले उक्त जग्गा उपलब्ध गराएका हुन् भने आवास बस्ती निर्माण भने विदेशी सहयोगी निकायको सहयोगमा लोमान्थाङ गाउँपालिकाका वडा अध्यक्ष नवाङ कुञ्ज लामाले पहल गरेका हुन् ।
विस्थापित समजुङका स्थानीय पासाङ वाङ्दी गुरुङले मुस्ताङी राजाले जग्गा दिएकाले नमसुङमा सरेको बताए । उनले जलवायु परिवर्तनको असरले गाउँमा पानीको श्रोत अभावले खेती हुन छाडेकाले बस्ती सर्न परेको स्पष्ट पारे ।
राजाले आफूहरुलाई जग्गा दिएको र नवाङ कुञ्ज लामाको पहलमा नयाँ बस्ती निर्माण भएको उनको भनाई थियो । उनले आफूहरुको पूख्यौली थलो उपल्लो मुस्ताङी भएकाले उपल्लो मुस्ताङमै बस्ने राजालाई इच्छा व्यक्त गरेपछि राजाबाट जग्गा पाएको खुलाए।