संकटमा चौंरी र याक

संकटमा चौंरी र याक

ताप्लेजुङ : फक्तालुङ गाउँपालिका ६ घुन्सा ताप्लेजुङका चुङ्दाक शेर्पाले गत वर्ष १९ वटा याकसहितको गोठ बेचे। एक हप्ताभित्रमा ७ वटा याक ब्वाँसोले खाइदिएपछि आजित बनेका उनी पुख्र्यौली पेसा छोड्न बाध्य बनेका हुन्। वर्षौंदेखिको याक गोठ रित्याएका चुङ्दाकलाई अब के गर्ने भन्ने अन्योल छ। ‘अब कसरी गुजारा चलाउने भन्ने समस्या त छँदै छ’, उनले भने, ‘त्यो भन्दा ठूलो चिन्ता परम्परागत पेसा छोड्नुपरेकोमा छ।’

घुन्साकै छेतेन शेर्पाले चार दशकभन्दा बढी समय खम्बाचेनस्थित गोठमै बिताए। बाबु, बाजेले गरेको पेसालाई निरन्तरता दिएका उनी पनि गोठ छोडेर घर फर्केका छन्। उनी बैकल्पिक पेसाको खोजीमा छन्। तिब्बती ब्वाँसोले याक र चौंरी खाइदिएपछि दुवैले पशुपालन छाडेका हुन्। ‘एउटा याकको ९० हजारदेखि १ लाख ५ हजारसम्म पर्छ’, चुङ्दाकले भने, ‘ब्वाँसोले कति बेला आएर मार्छ, थाहै पाइँदैन।’

घुन्सा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाली चुङ्दाका अनुसार यो क्षेत्रको फलेदेखि कञ्चनजंघा हिमाल आधार शिविरसम्म याक र चौंरीका गोठ हुन्थे। वन्यजन्तुकै कारण आजित भएर छोडेको उनले सुनाए। ‘५ वर्षअघिसम्म प्रत्येक घरको गोठ थियो’, हिमालीले भने, ‘शेर्पाको पुस्तौंदेखिको पेसा लोप हुने अवस्थामा पुग्यो।’ सबैले तीन दिन हिँडाएर तिब्बत लगेर याक बिक्री गरेका हुन्।

यो क्षेत्रमा अब नुपु शेर्पाको एउटा गोठ मात्रै बाँकी छ। खम्बाचेनस्थित गोठमा ६० वटा याक छन्। त्यसमध्ये २४ वटा दुहुना छन्। त्यसमध्ये एउटा डी (माउ याक) मंगलबार दिउँसै ब्वाँसोले खाइदिएको नुपुका छोरा तेञ्जिङले सुनाए। ‘गोठमै आएर खाइदियो’, उनले टेलिफोनमा भने, ‘अब हामी पनि बेच्छौं।’पहिलेदेखि बाबुलाई बेच्न भनेको तर नमानेको उनको भनाइ छ। ‘मैले बेचौं भनेको पाँच वर्ष भयो, बुबाआमा मान्नुहुन्न, अब जन्तु (ब्वाँसो र हिउँचितुवा) ले सक्ने भयो’, उनले भने। ब्वाँसोलाई खान दिनुभन्दा बेचेर अरु काममा लगाउने निष्कर्षमा आफू पुगेको तेञ्जिङले सुनाए। ‘अहिले तिब्बत सरकारले नेपाली याक, चौंरी खरिदमा रोक लगाएको छ’, तेञ्जिङले भने, ‘खुला भएपछि बेच्छौं।’ चौंरी पालेर घिउ, छुर्पी र चमर बिक्री गर्दै आएका यो क्षेत्रका बासिन्दा अहिले कोही पर्यटन व्यावसायमा, कोही होटल व्यवसायमा लागेका छन्। कोही विकल्प खोज्दै छन्।

कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने यहाँ हिउँ चितुवाले पनि त्यत्तिकै दुःख दिने गरेको तेञ्जिङ सुनाउँछन्। हिउँ चितुवाले क्षति गरेमा कृषकले बिमाबापत ८ हजार रुपैयाँ पाउँछन्। तर, ब्वाँसोको बिमा छैन। पशु बिरामी भएर मरे भने त्यसको पनि बिमा छैन। संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले कृषकलाई क्षतिपूर्तिबापत ८ हजार रुपैयाँ दिने गरेको छ। तर त्यति राहतले केही नपुग्ने किसानको गुनासो छ। ‘एउटा याक, चौंरी मर्दा एक लाखसम्म क्षति हुन्छ। तर, बिमा ८ हजार रुपैयाँ मात्रै पाइन्छ, यो रकम कागज मिलाउँदै सकिन्छ’, नुपुले भने, ‘बिमा नाम मात्रैको छ।’

सरकारले आफूलाई कुनै सहयोग नगरेको नुपुले बताए। पशु बिरामी भए आफैंले झारफुक र जानेको जडीबुटीको प्रयोग गर्ने गरेको र सरकारले नहेरेको उनको भनाइ छ। ‘मैले पनि छोडेँ भने, याक गोठ नै सकिन्छ’, उनी भन्छन्, ‘चौंरी र याकपालन इतिहासमै सीमित हुने भयो।’ शेर्पाको पहिचानका रूपमा रहेको पशुपालन पेसा जोगाइराख्न सरकारले सोच्नुपर्ने हिमाली बताउँछन्। गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बू भने याक र चौंरीपालन प्रवद्र्धनमा आफूले सहयोग गरिरहेको दाबी गर्छन्। ‘गोठ सुधार, उन्नत घाँसको बीउ वितरणजस्ता कार्यक्रम गर्दै आएका छौं’, लिम्बूले भने, ‘हामीले गर्न सक्ने त्यति मात्रै हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.