छड्केमा स्थानीय तहका २५८ कर्मचारी
काठमाडौं : स्थानीय तहका कर्मचारी सुशासनमा गैरजिम्मेवार देखिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्केमा स्थानीय तहका २५८ कर्मचारी परेका छन्। केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले गाउँपालिका र नगरपालिका पदाधिकारीसमेत सुशासनमा जिम्मेवार नभएको भेटिएको बताए। ‘स्थानीय तहका कर्मचारीले सुशासनमा ध्यानै नदिएको भेटियो,’ उनले भने, ‘पदाधिकारीले पनि त्यसमा कुनै चोसो दिएका छैनन्।’ उपत्यकाका स्थानीय तहमा गरेको छड्के अनुगमनमा स्थानीय तहमा कर्मचारी लापरबाही हदैसम्म भेटिएको उनले बताए।
केन्द्रले एक साता लगाएर ५४ वटा कार्यालयमा अनुगमन गरेको थियो। जसमा १५० कर्मचारी समय पालना नगरेको पाइएको छ भने १०८ जनाले तोकिएको पोसाक लगाएका छैनन्।
कागेश्वरी मनहरा नगरपालिकाका १९ कर्मचारीले समय पालना नगरेको भेटिएको छ भने १ जनाले तोकिएको पोसाक नलगाएको पाइएको छ। गोकर्णेश्वर नगरका १४ कर्मचारी छड्केमा परे जसमा ९ जनाले समय पालना नगरेको पाइयो भने ५ जना तोकिएको पोसाकमा थिएनन्। चन्द्रागिरि नगरपालिकाका ८ कर्मचारी अनुगमनमा परेका थिए। जसमा ३ जनाले समय पालना नगरेको भेटियो भने ५ जना तेकिएको पोसाक नलगाएको पाइयो। टोखा नगरका ६, चागुनारायण नगरका ११, भक्तपुर नगरका ४, दक्षिणकाली नगरका २ कर्मचारी छड्केमा परे। चाँगुनारायण नगर वडा नम्बर ५ र ९ का ३÷३, गोकर्णेश्वर नगर वडा नम्बर ५ का १, कागेश्वरी मनहरा वडा नम्बर ५ का ३ जना कर्मचारीलाई सतर्कता केन्द्रले आचरणमा नरहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ।
त्यस्तै, भूमिसुधार कार्यालय साँखुका ८, नापी कार्यालय साँखुका २, शंखरापुर पोलिटेक्निकल इन्स्टिच्युट २१, यातायात कार्यालय सतुंगलका ५, भूमिसुधार तथा मालपोत कार्यालय टोखाका ४, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका ६, हुलाक सेवा विभागका ३३, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका २, कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका २ जना कर्मचारी छड्केमा परे। त्यस्तै, भन्सार विभागका १२, घरेलु तथा साना उद्योग विभागका ६, दुग्ध विकास संस्थानका ४, आन्तरिक राजस्व कार्यालय टंगालका ७, खानेपानी तथा ढल निकास विभागका १, दुग्ध पदार्थ बिक्री वितरण आयोजना लैनचौरका ७, जिल्ला प्रशासन कार्यालयका २, यातायत व्यवस्था कार्यालय ८, कोष तथा लेखा नियन्त्रण कार्यालयका २, आन्तरिक राजस्व कार्यालयका १९, भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका ५, नापी ललितपुरका ४, जिल्ला प्रशासन कार्यालय ललितपुरका ४, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्रका ४, कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरका १ जना कर्मचारी छड्केमा परेका छन्।