नेपालीको समुद्र सपना

नेपालीको समुद्र सपना

भूपरिवेष्टित देशवासीको इच्छा समुद्र दर्शन हुनु स्वाभाविक हो। भौगोलिक आधारमा नेपाल ठगिएकै पनि हो। समुद्र तटवर्ती देशहरूले आर्थिक उन्नति पनि बेजोड रूपले गरेका छन्। नेपालको आफ्नै समुद्र भएको भए पानीजहाजका लागि यतिविघ्न व्याकुल पनि हुनुपर्ने थिएन। त्यसमाथि नाकाबन्दीको मार पनि खप्नुपर्ने थिएन, सायद। हाल समयको गतिसँगै नेपालको पहुँच चौतर्फी रूपमा समुद्रसम्म पुगेको छ।

नेपालको दक्षिणमा भारत त थियो नै, चिनियाँ नवीन रेशममार्गमा जोडिएसँगै समुद्रसम्मको पहुँच अझै विस्तार भएको छ। विस्तारै समुद्र यात्रा तथा दर्शन पनि सहज हुँदै जाला। साथै पछिल्ला समयमा अध्ययन, रोजगार र विदेश भ्रमणका क्रममा सर्वसाधारण नेपालीले समुद्रलाई हेर्ने, समुद्रमा डुबुल्की मार्ने मौकाहरू धेरै पाएका पनि छन् र पौडीवस्त्रमा खिचिक्क गरिएका यी पललाई सामाजिक सञ्जालमा राख्ने होड पनि चलेकै छ। यसरी जीवनमा एक पटक समुद्रको दर्शन गर्ने इच्छा र लालसा पूरा गरिरहेका छन्।

यो नेपालीले पनि हाल चीन बसाइका क्रममा हरेक गृष्मयाममा तटवर्ती सहरको भ्रमण गर्दै आएको छ। समुद्रको दर्शन गर्ने इच्छा त पूरा भइसक्यो तर पैचिङको लामो हिउँदपछि गृष्ममा एक पटक समुद्रमा ‘सनबाथ’ गरिएन भने तनमनले फुर्तिलो अनुभव नै गर्दैन। तर मेरो समुद्रप्रतिको मोह, समुद्र देख्ने लालसा र समुद्रमा आफ्नो तनलाई भिजाउने चाहना जीवनकालको तीस पैंतीसको गृष्मपछि मात्र आएर पूरा भएको थियो। हुन त सागरसम्म पुग्न यसअघि पनि प्रयास नगरेको भने होइन। आमनेपालीसरह मलाई पनि समुद्र हेर्ने रहर गढेर बसेको थियो।

सन् २०१० मा चीनको राजधानी पैचिङलाई कर्मभूमि बनाएलगत्तै नै समुद्रबारे खोजीनीति गरेको थिएँ। नेपालसहित धेरै एसियाली देशले समुद्रलाई समुद्र नै भन्दा रहेछन् या यस्तै मिल्दो उच्चारण रहेछ भने चिनियाँहरूले हाई भन्दा रहेछन्। नेपालजस्तै भूपरिवेष्टित पैचिङ सहरलाई तीनतिर हपे प्रान्तले र पूर्वमा थ्येनचिन सहरले घेरेको छ। त्यसकारण सहज रूपमा पैचिङबाट समुद्रको यात्रा सम्भव थिएन। यहाँबाट थ्येनचिन सहर या हपेको पेदाइह या छिंगह्वाङ ताव जानुपर्ने रहेछ। त्यसका लागि बस या रेल चढ्नुपर्ने अनि पैचिङमा नवआगन्तुक त्यसमाथि चिनियाँ भाषा पनि नजान्ने, त्यस बेला समस्याका छालमात्र देखेँ मैले।

‘थ्येनचिनसम्म तीव्र गतिको रेलमा आधा घण्टामा पुग्न सके पनि त्यहाँबाट समुद्रसम्म पुग्न डेढ घण्टा लाग्छ। त्यो एक बन्दरगाह सहर हो, पैचिङको मुख्य आयात निर्यात बिन्दु हो।’

पैचिङ बसाइको तीन-चार महिनामा बनेका साथीभाइ तथा सहकर्मीले यसरी थ्येनचिन समुद्री तटमा रम्ने ठाउँ नभएको बताए। आफूलाई त मात्र समुद्र हेर्नु थियो, कति विशाल हुँदो हो। आँखाले भ्याएसम्म भन्दा पनि परपर फैलिएको त्यो अनन्त सागरको अनुभूत गर्ने इच्छा हो।

वर्षात्को समयमा नारायणीलाई हेरेर समुद्र यस्तै विशाल हुँदो हो भन्ने कल्पना गरेको थिएँ या समुद्र अहिलेको नारायणीझैं होला भन्ने सोचेको थिएँ, सायद। अनि सुक्खा महाकाली नदीलाई चाँदनी-दोधाराको बेलिब्रिजबाट हेर्दा बाढी प्रकोपको बेला भारततिरको बाँध थुन्दा यो त महासागर नै देखिने रहेछ भन्ने कल्पना गरेको मैले अझै पनि समुद्र नियाल्ने अवसर जुटाउन सकेको थिइनँ। पानी कति नुनिलो रहेछ भनेर चाख्नु त अझै चन्द्रमामा मानव पाइला टेक्नु बराबर नै भएको थियो, मलाई।

पैचिङबाट समुद्रसम्म सफर कसरी गर्ने भन्ने अन्योलले मलाई पैचिङको करिब चालीस डिग्रीको तापमान र तातो हावाले पोलेसरि भइरहेको थियो। त्यो छटपटाहटसँगै गृष्म सकेर छोटो शरद पनि बित्यो। हेमन्त-शिशिरमा पैचिङसँगै म पनि जम्न पुगेँ। हुन त जमेको समुद्र पनि हेर्न पाए हुन्थ्यो भन्ने नभएको होइन। ‘समुद्रमा घाम ताप्ने हो, पानीमा खेल्ने हो’, मेरा हितैषीले मेरो उत्कण्ठा बुझेपछि यसै भने। हुन पनि जमेको सागरमा न छाल आउनु उल्टै चिसो पानी र शरीरलाई खंग्रंग बनाउने चिसो हावाले त्यहाँ टिक्न मुस्किल बनाउँछ भन्ने जानेपछि अर्को गृष्म कुर्नुबाहेक अर्को विकल्प थिएन। यसअघि पनि नेपालमै समुद्री बालुवामा खेल्ने योजना बनाएको थिएँ। चीनको पहिलो वर्षको बसाइजस्तै त्यो धोको पनि अधुरो नै रहन पुगेको थियो।

नेपालमा कोही व्यापारीले एक विशाल पौडी पोखरी बनाई समुद्री बालुवा या बालुवा राखेर तट (बिच)को अनुभव दिई समुद्री पार्क बनाइसकेको थिएन। अनि म कलेज पढ्दै थिएँ, त्यस बेला हामी साथीभाइ कसैले पनि समुद्री पार्क बनाउने सोच्ने अवस्था थिएन। होला, मैलेजस्तै त्यसै बेला कसैले ओसियन पार्कको कल्पना गरे पनि। तर त्यस्तो पार्क निर्माणका लागि चाहिने लगानी जुटाउने अवस्था हामीसँग थिएन, हुन त अहिले पनि छैन। तापनि दोलालघाट, गल्छीलगायतका नदीबीचमा पिकनिक मनाउन र नदीका आसपास खोलेका रिसोर्टमा जाने त गथ्र्याैं नै। तर नदीले सागरको अनुभव कदापि दिन सक्दैन। समुद्रको रसास्वादन गर्न सामुद्रिक देशको यात्रा गर्नुपर्छ। त्यस बेला र आजको दिनसम्म पनि नेपालीहरू समुद्र हेर्न विशेषतः बैंकक जाँदा हुन्। तर मेरो त्यो स्थिति पनि थिएन, कलेज जीवनको समय थियो।

मेरा केही साथी भारतको बैंगलोरमा हालको बेंगलुरुमा अध्ययनरत थिए, कोही पुणे र दिल्लीमा पनि पढ्दै थिए। अनि तिनीहरूले उता घुम्न बोलाएका पनि थिए। यसरी साथीहरूलाई भेट्ने र भारतका विभिन्न सहरको भ्रमण गर्ने कुरा काठमाण्डुका अरू साथीभाइबीच पनि राखियो। हामी पाँच-छ जना साथी या भनूँ एक समूह थियौं र सबै जना भ्रमणका लागि राजी पनि थियौं। तर हामी सबैको भारत भ्रमणको मुख्य उद्देश्य भनेको समुद्रको दर्शन गर्नु थियो र मुख्य गन्तव्य थियो, गोवा।

डिसेम्बरदेखि गोवामा पर्यटकको भीड लाग्ने र होटेल पाउन मुस्किलका साथै अति चर्को मूल्य पर्ने कुराले वर्षान्तदेखि नयाँ वर्षको पहिलो महिनासम्म जाने कुरै भएन, अनि त्यसपछि उता साथीभाइको जाँच यता हामीहरूको पनि पढाइलगायतका कुराले समय जुराउन सकिएको थिएन। त्यसपछि अब जाऊँ अर्को हप्तालाई प्रोगाम बनाऊँ भन्दा कहिले उसको नभ्याउने, कहिले मैले नभ्याउने, कहिले अर्कोले नभ्याउने। यसरी सामान्य जीवनयापन क्रममा सबैले एकै पटक जाने समय मिलाउन सकिएन। साथीभाइ भनेकै त्यही हो, जता गए पनि सबैसँगै हिँड्ने।

मलाई आज पनि याद छ, हामी भारत जान अन्तिम तयारी गर्दै थियौं, रेलवेको टिकट पनि बुझिसकेका थियौं अनि यता मेरी आमा कामको सिलसिलामा काठमाडौंबाहिर जानुपर्ने भएपछि हिँड्ने बेला मलाई दराज खोलेर देखाउँदै भन्नुभएको थियो, ‘ल तिमी जाने होला भनेर मैले आईसी (भारतीय रुपैयाँ) ल्याएर यहाँ राखेको छु, यो लिनु त्यसबाहेक जाने बेला ड्याडीसँग अरू पनि लिनु।’ आमाले भन्नुभएको र दराजमा रहेको त्यो आईसी अहिले पनि सम्झन्छु। किनकि त्यो पैसा बोकेर समुद्र देखूँला भन्ने नै उत्कण्ठा थियो। तर जीवन यथावत् त्यहीँ रह्यो। समुद्री लहर जति पनि भएन। लहर त किनारलाई छोई फर्कन्छ। आफ्नो त्यतिसम्म पनि भएन। साइतै जुरेन। मानौं, गुलेली चलाउन नजान्दा मट्यांग्रो गुलेलीमै झैं भयो।

यसरी साथीभाइसँगै जाने समय मिलाउन नसकेर या खर्चका लागि अथाह पैसा नभएर समुद्रको दर्शन हुन पाएको थिएन, त्यस बेला। पछि त साथीहरू पढाइ सकाएर कोही काठमाडौं फर्के, कोही फेरि विदेश गए र आफू पनि हातमुख जोड्न व्यस्त हुन थालियो। तापनि समुद्रको दर्शन गर्ने इच्छा भने मारेको थिइनँ र नारायणी, राप्ती, कोसीलगायतका विशाल नदी अनि त्रिशूलीमा वर्षातको समयमा पहिलेझैं समुद्रको रूप हेर्दै गएँ। त्यसपछि नै हेरेको थिएँ, नेपाल पत्रकार महासङ्घको अधिवेशनमा टनकपुर बाँध र महाकाली नदी। तर साँच्चैको सागर हेर्ने इच्छा भने मनको कुनै कुनामा गाँठो परिबस्यो। यसो एक दिन बैंकक या गोवासम्म जानुपर्ला भन्ने सोचेँ होला। त्योभन्दा बढी अरू सोचिनँजस्तो लाग्छ।

अनि समयले मलाई सन् २०१२ मा पहिलो पटक समुद्र पुर्‍याएको थियो। चीन बसाइको तेस्रो गृष्ममा मात्र समुद्र हेर्ने अनि डुबुल्की मार्ने बालसपना पूरा भएको थियो। समुद्र हेरियो, छोइयो, डुबुल्की पनि मारियो, पानी पनि निलियो- हो त नुनिलो हुँदो रैछ। समुद्रको दर्शन गरियो। सपना पूरा भयो। पैचिङबाट रेलमा छिङह्वाङ तावमा झरेर त्यहाँबाट ट्याक्सीमा समुद्रतर्फ लागेका थियौं। ट्याक्सीबाट झरेपछि भवनहरूको बीचबाट समुद्र देख्दा मन पुलकित बनेको थियो। एकदम रोमाञ्चित भएको थिएँ। तर मेरा विदेशी साथीभाइलाई पहिलो पल्ट समुद्र पुगेको कुरा खोलिनँ। हामी सबेरै हिँडेका थियौं, समुद्री किनारमा सी फुडसँगै दिवा खाना खायौं, स्यान्ड बल पनि खेल्यौं। मन हर्षित थियो। तर ! समुद्रको पहिलो दर्शनमा त्यस्तो केही अचम्म या नौलो भने लागेन। पहिले बालमनमा समुद्रप्रति के कस्तो मोह थियो। किन समुद्र हेर्ने तीव्र इच्छा भयो थाहा भएन। सायद, अनन्त र विशालताका कारण अनि लहरको ध्वनि यस्तै होला। यो शरीर पहिलो पल्ट समुद्रमा पुगे पनि त्यो मेरो पहिलो भेन्चरजस्तोे लागेन। किन हो कुन्नि ?

हिजोआज टीभी, फिल्मलगायतमा कयौं पटक देखिसकेकाले हो कि। तैपनि मनको कुनै कुनाले सपना पूरा भएकोमा खुसी भने मनायो त्यसमा कुनै शंका छैन। म, मेरो परिवार र केही विदेशी साथीहरूसँगै हपेको छिंगह्वाङ ताव गएका थियौं। सायद, मैले खुसी मनाउनुको कारण परिवर्तन भइसकेको थियो। मलाई बेग्लै खुसी लागेको थियो कि पौडीसमेत सिक्दै गरेकी मेरी मात्र छ वर्षकी छोरीले समुद्र हेर्न पाइन्, समुद्रमा डुबुल्की मारिन्, पानीमा खेलिन्। त्यो अर्कै कुरा हो कि उनी छालमा पर्दा डराइन् तर उनले मजस्तै समुद्र हेर्नलाई आफ्नो जीवनको आधा उमेर बिताउन परेन। सपना सबैले बुनेका हुन्छन्, उनको सपना अर्कै होला, सायद। जे भए पनि बालुवामा दरबार बनाउँदै, घाम ताप्दै अनि पानीसँग खेल्दै रमाइन् अनि उनीसँगै म पनि धेरै धेरै रमाएँ। मेरो खुसी सागरझैँ अनन्त थियो। बाउछोरीले ग्रेटवालपछि समुद्रको पनि पहिलो पटक सँगै दर्शन गरेका थियौं।

समुद्रको पहिलो दर्शनपछि हालसम्म धेरै पटक धेरै ठाउँको समुद्रको दर्शन गरियो। गृष्ममा चीनका समुद्री तटवर्ती क्षेत्रमा जाँदा सागर मात्रै होइन, मानिसकै पनि सागर देखिन्छ।

हजारौं वर्ष अघिदेखि नै मानिसहरू समुद्रमा यात्रा गर्थे। यही समुद्रको सफरबाटै कोलम्बसले अमेरिका पत्ता लगाएका थिए। सौर्य प्रणालीमा पृथ्वीमा मात्र समुद्र रहेको हालसम्मको खोजले देखाउँछ। यो समुद्रले पृथ्वीको करिब ७१ प्रतिशत भाग ओगटेको छ। यो समुद्र अथाह छ, हिन्दू पौराणिक कथाअनुसार समुद्र मन्थनको क्रममा यहीँबाट चौधवटा विभिन्न वस्तु जस्तै- कामधेनु गाई, उच्चैः श्रवा घोडा, ऐरावत हात्ती, कल्पवृक्ष, पारिजात वृक्ष, कौस्तुभमणि, शंख, अमृत, अप्सरा रम्भा, वारुणी, चन्द्रमा, धन्वन्तरी, देवी, लक्ष्मी आदि प्रकट भएका थिए। हाल यही समुद्र मानिसहरूले निकै फोहोर बनाएका छन्। सन् २०५० सम्ममा समुद्री जीवभन्दा प्लास्टिक धेरै हुने वातावरणविद्ले चेतावनी दिएका छन्।

(लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.