मुगुम प्रहरी चौकी सुनसान : जाडो छल्न सदरमुकाम
मुगु : जाडो छल्न भन्दै प्रहरी चौकीमा ताला नै लगाएर गाउँ छाडेका छन्। तिब्बतसँग सीमाना जोडिएको मुगुको मुगुमकार्मारोङ गाउँपालिका—२ मुगुम गाउँमा रहेको प्रहरी चौकी अहिले खाली छ। सीमा सुरक्षाका लागि स्थापना गरिएको उक्त प्रहरी चौकीमा ताला लगाएर त्यहाँ कार्यरत प्रहरी सदरमुकाम गमगढी झरेका हुन्।
जाडो बढे पनि स्थानीय बासिन्दा गाउँमै छन्। तर सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू भने जाडो बढेको भन्दै गाउँबाट हिँडेका हुन्। प्रहरीले गाउँ छाडेपछि स्थानीय बासिन्दाले असुरक्षित महशुस गरेका छन्। जिल्ला प्रहरी कार्यालयले नै सीमा सुरक्षामा खटिएका प्रहरीलाई सदरमुकाम बोलाइको हो। जाडो छल्न उनीहरूलाई सदरमुकाम तानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तिब्बतसँगको सीमानामा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी चौकीमा जेठ महिनादेखि कात्तिकसम्म मुस्किलले ६ महिना मात्र प्रहरीहरू बस्ने गर्छन्। गाउँमा प्रहरी नबस्ने भएपछि स्थानीयले पनि मंसिर अन्तिमतिर गाउँ छाड्ने योजना बनाएका छन्। विगतमा गाउँलेहरू जाडो छल्न बेँसीमा झरेपछि मात्र प्रहरीहरू पनि सदरमुकाम जान्थे।
तर यसपाली स्थानीय गाउँमै छन्। प्रहरी भने चौकीमा ताला लगाएर गत कात्तिकमै सदरमुकाम झरिसकेका हुन्। यो गाउँमा गत जेठमा यार्सागुम्बा संकलनको समयमा प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा ३० जना प्रहरी पठाइएको थियो। यार्सागुम्बा टिप्ने समय सकिएपछि सईसहित १५ जना सदरमुकाम फर्किए। सीमा प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना प्रहरी कार्यरत थिए।
गाउँलेहरू बँेसी झरेपछि मात्र प्रहरीलाई झार्न अनुरोध गरे पनि प्रहरीहरू गाउँले नर्झदै सदरमुकाम पुगेको मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ्गक्याप्ने लामाले बताए। ‘चौकी खाली भएपछि अब गाउँमा तत्काल केही घटना भए एकदिन पैदल दूरीमा रहेको पुलु प्रहरी चौकीलाई जानकारी गराउनुपर्छ’, अध्यक्ष लामाले भने।
जिल्लाबाटै आदेश भएपछि चौकी छाड्नु परेको प्रहरीले बताएका छन्। गाउँमा हजारौं वर्ष पुराना गुम्बा र मूर्तिहरू छन्। गाउँलेहरू सबै बेँसी झरेपछि सुरक्षाको चिन्ता रहेको मुगुमकार्मारोङ गाउँपालिका—२का वडाध्यक्ष कार्मा तामाङले बताए।