मोदीले गरे ओलीलाई स्वास्थ्यलाभको कामना
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। मोदीले प्रधानमन्त्री ओलीलाई शनिबार कूटनीतिक पत्राचार गर्दै स्वास्थ्य लाभको कामना गरेका हुन्। पत्रमा मोदीले प्रधानमन्त्री ओलीलाई आवश्यक पर्ने थप उपचारका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका छन्। उनले प्रधानमन्त्री ओलीलाई ‘फस्ट पर्सन नोट’ पठाएर स्वास्थ्य लाभको कामना गरेका हुन्।
‘प्रधानमन्त्री ओलीजीलाई थप उपचारका लागि के कस्तो सहयोग आवश्यक छ, त्यो सबै गर्न भारत सरकार तयार छ,’ मोदीको पत्रमा उल्लेख छ। मोदीले दिग्गज तथा अनुभवी राजनीतिज्ञ एवं मित्र प्रधानमन्त्री ओली भन्दै सम्बोधन गरेर लेखिएको पत्रमा ओलीसँगको सहकार्यले नेपाल भारत–सम्बन्ध थप उचाइमा पुगेको उल्लेख छ। पत्रमा दुई देशको सहकार्य र सम्बन्ध थप उचाइका लागि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरिएको छ।
भारतीय प्रधानमन्त्रीको सन्देशबारे परराष्ट्र मन्त्रालयले शनिबार नै प्रधानमन्त्रीलाई जानकारी गराइसकेको परराष्ट्र अधिकारीले बताए। पत्रमा आवश्यक परे ओलीको उपचारका लागि विज्ञ चिकित्सक पठाउन र भारतमै उपचार गर्न प्रस्ताव गरिएको ती अधिकारीले बताए। भारतीय प्रधानमन्त्रीको पत्रमा मुलुक र जनताले ओलीको सेवा र पुरानै सक्रियता खोजेको भाव व्यक्त गरिएको छ।
१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेर डायलासिस गरिरहेका प्रधानमन्त्री ओलीलाई अपर्झट एपेन्डिक्सको समस्यापछि मंगलबार शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ओलीको मिर्गाैला प्रत्यारोपण कहाँ गर्ने भन्ने निक्र्यौल भइसकेको छैन।
यही अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले सहयोगको प्रस्ताव राखेका हुन्। यसअघि ओलीले भारतमै मिर्गौला प्रत्यारोपण गरेका थिए। भारतीय प्रधानमन्त्रीको पत्रमा जतिसक्दो छिटो प्रधानमन्त्री ओलीसँग सीधा टेलिफोन कुराकानी गर्न चाहेको उल्लेख छ।
ओली नेतृत्वमा रहेको सरकारसँग भारतले गरिरहेको कार्य बलियो रहेको सन्देशमा उल्लेख छ। मोदीको पत्रमा उल्लेख छ, ‘अहिले केही विषयमा प्रश्न उठिरहे पनि छलफल गरेर टुंगोमा पुग्नेछ।’ परराष्ट्र अधिकारीहरूले यसलाई नेपाल–भारत सीमाको विषयलाई संकेत गरिएको हुन सक्ने आंकलन गरेका छन्।