कृष्णदासजीलाई बलात्कार आरोप

कृष्णदासजीलाई बलात्कार आरोप

इटहरी : सिद्धबाबा नामले परिचित कृष्णदासजी महाराज बलात्कार आरोपमा मुछिएका छन्। कृष्णदासजीले चतरास्थित आ श्रममै आफूलाई बलात्कार गरेको उजुरी एक महिलाले दिएकी हुन्।

काठमाडौंकी ती महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुधबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ। बिहीबार घटनास्थल पुगेर स्थलगत मुचुल्का तयार पारेको सुनसरीका डीएसपी विनोद शर्माले बताए। एसपी यज्ञविनोद पोख्रेलले पक्राउपुर्जी अदालती प्रक्रियामा रहेको बताए।

बलात्कार उजुरी परेको सार्वजनिक भएसँगै कृष्णदासजी विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका छन्। उपचारका लागि भर्ना भएको भनिए पनि त्यहाँ उनले अनुयायी, सरकारी अधिकारी, नेता तथा कानुनविद्सँग कानुनी एवम् सामाजिक विषयमा परामर्श गरेको बताइएको छ। प्रहरीले भने कृष्णदासजीलाई निगरानीमा राखेको जनाएको छ।

फसाउने षड्यन्त्र

बलात्कार उजुरी बाहिरिएपछि कृष्णदासजीका अनुयायीले उनलाई फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन्। उनीहरूले बलात्कारको आरोप लगाउने महिलाले कृष्णदासजीलाई पठाएको भनिएको म्यासेज सार्वजनिक गरेका छन्। म्यासेजमा ती महिलाले एकतर्फी रूपमा कृष्णदासजीसँग प्रेमभाव व्यक्त गरेकी छन्। एउटा म्यासेजमा लेखिएको छ, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झूटो हो ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ? ’

ती महिलाले कृष्णदासजीलाई पटकपटक भेट्न खोजेको र भेट्नका लागि आफूहरूलाई पनि गुहारेको जगतगुरु रामानन्दचार्य सेवा पीठका अध्यक्ष तथा स्थानीय अगुवा गणेश सुब्बा ‘विरही’ ले बताए। रामानन्दाचार्य सेवा पीठ कृष्णदासजीको आ श्रम हो।

पटकपटकको कोसिस असफल भएपछि बलात्कार आरोप लगाएको हुन सक्ने उनको भनाइ छ। म्यासेजले आजित भएका कृष्णदासले गत कात्तिक १९ गते ती महिलाविरुद्ध ‘सार्वजनिक गाली बेइज्जती’ को जाहेरी टेकु प्रहरीमा दिएका थिए। आश्रममा बस्ने सुभद्रा ढकाल तथा सृष्टि अधिकारीलगायतले पनि आरोप निराधार भएको बताएका छन्।

आयुर्वेद विश्वविद्यालयको योजना

एकताका आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दल र प्रशासन गुहारेका कृष्णदासजी महाराज पछिल्लो समय विषयान्तर देखिएका थिए।

उनी र जगतगुरु बालसन्त मोहनशरण देवाचार्य मिलेर चतरामा महाकुम्भ सुरु गरेका थिए। चतरामा आयुर्वेद विश्वविद्यालय बनाउने, बराहक्षेत्र वरपरका जमिनमा जडिबुटी खेती गर्न लगाई सोको उपयोग गर्ने गरी योजना बनाएर उनले विभिन्न समयमा सरकार तथा राष्ट्रपति गुहारेका थिए। यहाँसम्म कि भारतको अर्बौं अनुदान भिœयाउनेसमेत बताएका थिए। तर पछि उनले आ श्रमछेउमा सुविधासम्पन्न अतिथिगृह बनाए।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्गामा बसेपछि विवादमा तानिएका उनले नेता तथा कर्मचारीलाई प्रभावमा लिएर उक्त जग्गा चतराधामको बनाएका थिए। उनको आ श्रममा सरकारले करोडौं खर्च गरिसकेको छ।

बालसन्तसँग जुँगाको लडाइँ

२०५५ सालताका चतरामा आ श्रम बनाएर गुरुकुल पद्धतिबाट शिक्षण आरम्भ गरेर बसेका बालसन्त मोहनशरण देवाचार्यले कृष्णदासजीलाई चतरा ल्याएका थिए। दुवै मिलेर २०५९ सालमा महाकुम्भ आयोजना गरे। तर पछि दुवैबीच फाटो देखियो। पछिल्लो कुम्भसम्म आइपुग्दा बालसन्त एक्लै भए।

महाकुम्भपछि बालसन्तले २०६७ सालमा जगत्गुरुको उपाधि पाए। तर कृष्णदासजी टाढिँदै गए। कृष्णदासजीको स्वभावलाई लिएर बालसन्तले दुःखेसो गर्दै आएका थिए।

यसबीचमा कृष्णदासजीले पटकपटक भूसमाधि गरे। पोखरा तथा चतरामा नौ दिनसम्म जमिनमुनि बिनाअक्सिजन र खानेकुरा गरेको भूसमाधिले उनलाई चर्चित बनायो।

पछिल्लो समय कृष्णदासजीले चतरामा तारकब्रह्म महायज्ञ लगाए। नेपालका सहरबजारमा उनको फोटोसहितको महायज्ञको प्रचार थियो। धेरैले त महायज्ञलाई महाकुम्भका रूपमा बुझे। महायज्ञपछि भारतबाट आएका केही साधुसन्तले कृष्णदासजीलाई जगत्गुरु घोषणा गरे। यसप्रति बालसन्त असन्तुष्ट थिए।

तारकब्रह्ममा बालसन्त सहभागी हुन सकेनन्। महाकुम्भ उद्घाटनमा दुवैबीच अप्रत्यक्ष रूपमा भनाभन भयो। सजिलै जगत्गुरु नबनिने बताउँदै बालसन्तले भनिदिए, ‘काशीको विद्वत्सभाले चार वर्षको मन्थनबाट मात्रै मलाई जगत्गुरु बनाएको हो।’ अनि कृष्णदासजीले पनि भने, ‘देशभरका सन्त नजुटेको कुम्भ कुम्भ नै होइन।’

दोहोरो नागरिकता

सोलुखुम्बुमा जन्मिएर चतरामा बस्दै आएका कृष्णदास महाराजको वास्तविक नाम कृष्णबहादुर गिरी हो। उनले गैरकानुनी रूपमा दोहोरो नागरिकता लिएको उजुरी परेको छ। सोलुबाट इटहरी–२० मा बस्न थालेका उनी पछि चतरामा आ श्रम बनाएर बसे। उनले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरकफरक लेखाई सोलु र सुनसरीबाट दुईवटा नागरिकता लिएका छन्।

सोलुबाट कृष्णबहादुर गिरीका नाममा लिएको नागरिकतामा जन्ममिति २०३० साल मंसिर १० गते लेखिएको छ। नागरिकताको नम्बर २२२७।५९५ हो। नागरिकतामा भीमसेन रुम्दालीले हस्ताक्षर गरेका छन्।

चतरामा बस्न थालेपछि उनले २०६५ साल पुस १७ गते सुनसरीबाट श्री वैष्णव कृष्णदासका नाममा नागरिकता लिए। उक्त नागरिकतामा स्थायी बसोबास बराहक्षेत्र–१ सुनसरी लेखिएको छ। जन्ममिति २०३१ साल फागुन १९ गते लेखिएको छ। दोस्रो नागरिकताको नम्बर ०६९००४।१३२८०८ हो। नागरिकतामा प्रशासकीय अधिकृत वेदनिधि खनालले हस्ताक्षर गरेका छन्।

दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम छविलाल गिरी लेखिएको छ। अन्य विवरण फरक छ।

आश्रममा आशीर्वाद लिन पुग्छन् भीआईपी

कृष्णदासजी महाराज उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीलाई समेत प्रभावमा पार्न सक्षम छन्। राष्ट्रपति, प्रधानमन्त्रीदेखि कर्मचारीका हाकिमसम्म उनलाई ढोग्छन्। नेपालका शीर्ष उद्योगी, नेतासँगको संगतकै कारण सिँचाइको जग्गाबाट उनलाई कसैले हटाउन नसकेको बताइन्छ।

सबै क्षेत्रका विशिष्ट व्यक्ति उनको आ श्रममा आशीर्वाद लिन पुग्छन्। आ श्रममा नेपालकै अग्लो र ठूलो हनुमानको मूर्ति स्थापित छ।

केही समयअघिसम्म आ श्रममा योग र ध्यान शिविर सञ्चालन हुन्थ्यो। नाडी विद्याबाट रोग पत्ता लगाई जडीबुटीको बिक्री गर्ने गरिएको थियो। उनको आ श्रममा उपचारका लागि दैनिक दर्जनौं बिरामी पुग्थे। अहिले रोग जाँच र जडीबुटी बिक्री बन्द गरिएको छ।


सिद्धबाबाले रुँदै भने : स्त्री बम प्रहार भयो

सिद्धबाबाले आफूमाथि लागेको बलात्कार आरोप निराधार भएको बताएका छन्। उनले यो मातृत्वको गलत प्रयोग भएको प्रतिक्रिया दिए। विराटनगरस्थित विराट नर्सिङहोममा बिहीबारदेखि उपचाररत उनले शनिबार अन्नपूर्णसँग भने, ‘मैले धर्म र धार्मिक क्षेत्रका लागि चलाएको अभियानप्रतिको प्रहार हो।’ उनले घटनालाई स्त्री बम प्रहारसमेत भने।

आफूमाथि आरोप लगाउनेलाई कहिल्यै नदेखेको र नचिन्ने बताउँदै उनले आफ्नो मूल्यांकन समाजले गर्ने बताए। ‘प्रहरीमा जाहेरी परेका कारण निगरानीमा छु भन्ने सुनें,’ उनले भने, ‘नखाएको विष नलाग्ने भएकाले म चिन्तित छैन।’ कृष्णदासले प्रश्न गरे, ‘मैले राष्ट्रप्रति गरेको उपकार र व्यवहारले देशमा कतै नोक्सान पुगेको छ ? ’

आरोप निराधार रहेको बताउने क्रममा उनी आँखाभरि आँसु बनाएर भक्कानिए। उनले आफूले दिने आत्धात्मिक ज्ञान लिनेमा ६० प्रतिशत युवा तथा पुरुष र ४० प्रतिशत महिला रहेको बताए। उजुरीका विषयमा उनले आफूमाथि हुने जुनसुकै अनुसन्धानमा सहयोग गर्ने बताए।

आफ्नो आ श्रममा दुई सय भक्त रहेको जानकारी उलने दिए। उनले भने, ‘कुनै एउटा शिष्य म मात्रै बसेको ठाउँमा एक्लै जान सक्ने अवस्था पनि हुँदैन। म सधैं प्रहरी सुरक्षा र युवा सहयोगीको साथमा हुन्छु। मलाई महिलाले छुनसमेत मिल्दैन र मैले पनि छोएको छैन।’

एक महिलाले फेसबुक म्यासेन्जरमा लेखेको विषयमा विद्युतीय अपराधमा अनुसन्धान अघि बढाउन हनुमानढोका प्रहरीमा एक महिनाअघि नै जाहेरी दिइसकेको कृष्णदासले बताए। ती महिलाले गम्भीर षड्यन्त्र गर्दै समितिसँग समेत ६० लाख रुपैयाँ बार्गेनिङ गरेको उनको भनाइ छ। उनले आफूलाई छाती, मुटु तथा प्रोस्टेटका कारण पिसाबमा समस्या रहेको बताए। बाहिरी गतिविधि र धपेडीका कारण साधना गर्न नपाउँदा आफू रोगको सिकार बन्नुपरेको कृष्णदासको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.