सीमा नै देख्न पाउँदैनन् सुरक्षाकर्मीले
विराटनगर : भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न पनि पाउँदैनन्। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको भारतसँग सिमाना जोडिएका ठाउँमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्यसरह छ।
पाँचथर र इलाममा सीमा सुरक्षाका लागि स्थापित सुरक्षा चौकी पनि सिमानाभन्दा टाढा हुँदा सीमास्तम्भले मात्र देशको सिमाना जोगाएका छन्। ताप्लेजुङको ६१ किलोमिटर भारततर्फको सिमानामा त सीमास्तम्भ समेत छैनन्। पाँचथर र इलाममा सीमा क्षेत्रको रेखदेख र अनुगमन गर्ने ‘बोर्डर अब्जर्भेसन पोइन्ट’ बाट नेपाल–भारत सिमानामा पुग्नै घण्टौं लाग्छ।
इलामको रोङ गाउँपालिकाको लोहागडदेखि सन्दकपुरसम्मको ५२ किलोमिटर नेपाल–भारत सीमाको रेखदेखका लागि ३० जना सशस्त्र प्रहरी खटाइएको एक वर्ष भयो। पशुपतिनगरमा बसेको सीमा पोस्टले १ सय ४६ पिलरको पहरेदारी गर्नुपर्ने जिम्मेवारी छ। एक वर्षअघि पशुपतिनगरको द्वारमा सशस्त्रको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) ले सीमा अतिक्रमण हेर्नेलगायत काम गर्ने भए पनि भूगोलका कारण पूरै क्षेत्र ‘कभर’ गर्न समस्या भएको पोस्ट प्रमुख इन्स्पेक्टर पवन खड्काले जानकारी दिए। आफ्नै सिमाना हेर्न पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने सशस्त्रलाई सन्दकपुर पुग्न भारत हुँदै जानुपर्छ।
३५ जना दरबन्दीको पोस्टमा अहिले जम्मा ३० जना मात्र छन्। चौकीले सीमा अतिक्रमण, चोरी निकासी, मानव बेचबिखन, तस्करीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्छ। गस्ती र अनुगमनका लागि २४ सै घण्टा सीमा सुरक्षामा जुट्नुपर्ने पोस्टले दैनिक पाउने जम्मा ३ लिटर इन्धनलगायत अपर्याप्त सुविधाले समेत काम प्रभावित पारेको उनले गुनासो गरे।
पशुपतिनगरसँगै मानेभञ्याङ, छब्बिसे र सन्दकपुरमा बीओपीको माग भए पनि सरकारले सुनेको छैन। मानेभज्याङमा भने तत्काल पोस्ट राख्ने तयारी गरेको सशस्त्रले जनाएको छ। जिल्ला सुरक्षा समिति इलामले एक वर्षअघि नै पशुपतिनगरसँगै मानेभञ्ज्याङ, छब्बिसे र सन्दकपुरमा बीओपी राख्न स्वीकृति मागेको थियो। सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई भन्छन्, ‘सरकारले समयमा काम नगर्दा सीमा अतिक्रमण र नागरिकलाई दुःख दिनदिनै बढिरहेको छ।’ सशस्त्रको पछिल्लो विवरणअनुसार इलामको नेपाल–भारत सीमा क्षेत्रमा एउटा जंगे पिलर, १३ वटा मध्यम पिलर र २५ वटा साना पिलर हराएका छन्।
इतिहासविद् युद्धप्रसाद वैद्य सन्दकपुरको १० नम्बर सीमास्तम्भसँगै सीमा विवाद सुरु भएको बताउँछन्। उनका अनुसार मानेभञ्ज्याङ, पशुपतिनगर, हिले, गुफापाताल, छब्बिसेमा विवाद छ। ‘कतिपय स्थानमा सीमा छुट्याउन पनि गाह्रो छ,’ सीमा क्षेत्रका सबै पिलर छुँदै हिँडेको बताउने उनले सुनाए, ‘इलाममा पनि निरन्तर सीमा अतिक्रमण भइरहेको छ। नेपालले भारतसामु प्रमाण राम्ररी पेस गर्न नसकेकाले हामीले दुःख पाएका हौं।’
पाँचथरको याङवरक र फालेलुङ गाउँपालिकाको २४ दशमलव ८ किलोमिटर जमिन भारतीय राज्य पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। याङवरक स्थित तिम्बुपोखरीदेखि फालेलुङको फालोट हुँदै इलामको सन्दकपुरसम्म भारतसँग सीमा जोडिएको छ। नेपालले यो क्षेत्रमा एउटा पनि सुरक्षा निकाय राखेको छैन। सीमास्तम्भ हराएका छन्। बहुमूल्य जंगली जडिबुटी र वन्यजन्तुको चोरीनिकासी बढेको समरजुङका रमेश राईले बताए।
ताप्लेजुङसँग सीमा गाँसिएको तिम्बुपोखखरी क्षेत्रको ३५ नम्बर पिलरदेखि इलामको सन्दकपुरसम्म ९ वटा जंगेपिलरसहित १ सय १७ सीमास्तम्भ हुनुपर्नेमा केही स्तम्भ हराएका छन्। गत वर्ष सशस्त्र र नेपाल प्रहरीको टोलीले सीमास्तम्भ निरीक्षण गर्दा १९ स्तम्भ नभेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
नेपालले पाँचथरमा पर्ने सीमा क्षेत्र अनुगमन गर्न सीमा प्रहरी चौकी च्याङथापुमा राखेको छ। यहाँबाट सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ पुग्न २४ किलोमिटर उकालो हिँड्नुपर्छ। सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्रको हिमशिखर गुल्मको क्याम्प सदरमुकाम फिदिममा छ। अर्को क्याम्प राँकेमा छ। यहाँबाट सीमामा पुग्न कम्तीमा २ दिन लाग्छ। सीमावर्ती क्षेत्रमा बीओपी राख्ने पहल भइरहेको पाँचथरका सीडीओ मुरारी वस्ती बताउँछन्। बीओपीका लागि याङवरक–२ तीनजुरेमा ५ रोपनी जमिन गाँउपालिकाले तयार गरेको छ।
भारतले निगरानी बढायो
पाँचथरको याङवरक र फालेलुङ गाँउपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निगरानी बढाएका छन्। सीमावर्ती क्षेत्रमा चौंरी पालेका नेपाली गोठालालाई भारतीय सुरक्षाकर्मीले अस्वाभाविक तवरबाट केरकार गर्न थालेका छन्।
‘कालापानी र लिपुलेकको सीमा विवाद चर्किएपछि यो ठाँउमा पनि भारतीय सुरक्षाकर्मीले निगरानी बढाएका छन्,’ चाररातेका चौंरीपालक जंग राईले भने, ‘नेपालतर्फबाट भने सीमाक्षेत्रमा राज्यको उपस्थित शून्य छ।’ सीमा क्षेत्रमा राज्यको उपस्थिति नभएकाले सुरक्षामा चुनौती बढेको उनको अनुभव छ। ‘सीमाको सुरक्षामा चौंरीपालक किसान नै तल्लिन छन्,’ चन्द्रलाल नेपालले भने, ‘राज्यको यस्तै चाला हो भने हामीले दिनदिनै आफ्नो भूमि गुमाउनुपर्ने हुन्छ।’ सीमामा सुरक्षा निकायको उपस्थिति कमजोर मात्र हैन अनुगमनसमेत न्यून हुने गरेको छ। ‘हाम्रो कुनै सुरक्षा छैन,’ चौंरी पालेर बसेका लाखबहादुर केरुङले भने, ‘एसएसबीले हामीलाई दुःख दिने गरेको छ।’
चीनतर्फ एउटा स्तम्भ, सीमा नै देखिँदैन
चीन र भारत दुवै देशलाई छोएको प्रदेश १ को एक मात्र जिल्ला ताप्लेजुङको चीनतर्फको सिमानामा ६९ नम्बरको एउटा मात्र स्तम्भ छ। सीमाको रेखदेख र अनुगमन गर्ने बीओपी नै छैनन्। ३ सीमा प्रहरी चौकी र एउटा सीमा प्रशासन कार्यालय छन्, त्यो पनि कोसौं टाढा।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा रहेको सीमा प्रशासन द्वन्द्वकालदेखि नै बन्द छ। सीमा प्रहरी चौकी सिमानाभन्दा २ देखि ३ दिनको दूरीमा छन्। चौकीमा दरबन्दीअनुसार प्रहरी छैनन्। चीनतर्फ ओलाङचुङगोला, घुन्सा र पापुङमा जम्मा ३ वटा सीमा प्रहरी चौकी छन्। घुन्साबाट सीमामा पुग्न ३ दिन लाग्छ। पापुङबाट २ दिन र ओलाङचुङगोलाबाट २४ किलोमिटर हिमाली क्षेत्र पार गरेपछि मात्र चीनसँगको सीमामा पुगिन्छ।
पापुङ र घुन्साका प्रहरीले त दुई देशबीचको सिमाना नै नदेख्ने स्थानीय बताउँछन्। ‘चौकीबाट सीमा क्षेत्र पुग्न कठिन भौगोलिक दूरी पार गर्नुपर्छ,’ पापुङका वडाध्यक्ष डण्डु लामाले भने, ‘कम जनशक्ति भएको प्रहरीलाई यो सम्भव नै छैन।’
२२ जनाको दरबन्दी रहेको घुन्सामा जम्मा ७ प्रहरी छन्। ओलाङचुङगोला चौकीमा २५ जनाको दरबन्दी भए पनि १० जनाभन्दा कम र पापुङमा पनि चौकी रुङ्ने मात्र छन्। यसले सीमा रक्षाका लागि सरकार गम्भीर नभएको प्रश्न उठेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेञ्जिङ वालुङको भनाइ छ।
(इलामबाट तोयानाथ भट्टराई, पाँचथरबाट भीमकुमार बाँस्कोटा र ताप्लेजुङबाट सीताराम गुरागाईँ)