बैतडीमा उपनिर्वाचन : २ वडामा कांग्रेस र एक नेकपा विजयी
बैतडी : शनिबार सम्पन्न उपनिर्वाचनमा बैतडीका ३ वडा मध्ये २ मा नेपाली कांगे्रस र १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । गएराति सम्पन्न मतगणनामा अनुसार दोगडाकेदार नगरपालिका –४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्र बहादुर चन्द विजयी भएका छन् ।
दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० बढी मत बढी पाए । कुल खसेको १०९८ मतमध्ये भट्टले ५८४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्र प्रसाद भट्टले ४८४ मत प्राप्त गरे । यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत पाउँदा भने २४ मत बदर भएको मतदान अधिकृत भानदेव जोशीले जानकारी दिए ।
यस्तै सुर्नया गाँउपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । कुल खसेको ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै चन्द विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरे भने ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत ईश्वरी प्रसाद भण्डारीले बताए ।
पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक ६६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरे । सो वडामा स्वतन्त्र उम्मेदवार चन्द्र बोहराले ३५ मत प्राप्त गरे । ७५ मत बदर भएका निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका अनिल चन्दले जानकारी दिए ।
दोगडाकेदार ४ र पुर्चौडी ४ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालले जितेको थियो भने सुर्नया १ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।