उपनिर्वाचनमा महत्वपूर्ण उपलब्धि : कांग्रेस

उपनिर्वाचनमा महत्वपूर्ण उपलब्धि : कांग्रेस

काठमाडौं : विगतमा आफूले जितेका ठाउँ जोगाउन नसके पनि नेकपाको पकड क्षेत्रमा प्राप्त जितलाई कांग्रेसले ‘महत्वपूर्ण उपलब्धि’ भनेको छ। धरान उपहानगरपालिकामा मेयर, भक्तपुरमा प्रदेशसभा सदस्य र चितवनका तीनवटै वडाध्यक्ष पदमा भएको जितले आत्मबल बढाएको प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ। कांग्रेसले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र सात वडाध्यक्ष पद भने गुमाएको छ।

‘हामीले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएका छौं। त्यसमा कमजोरीको समीक्षा गर्नेछौं’, प्रवक्ता शर्माले भने, ‘तर, प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले हामीलाई उत्साही तुल्याएको छ।’ धरानमा भएको जितलाई कांग्रेसले ‘ऐतिहासिक’ भनेको छ। भक्तपुरको प्रदेशसभा सदस्यभन्दा पनि धरानको विजय ठूलो सफलता बनेको कांग्रेसले जनाएको छ।

एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित ५२ पदमा शनिबार मतदान भएको थियो। दुई वर्षअघिको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले छुट्टाछट्टै लडेका थिए। नेकपासँगको मतअन्तर घट्नुले कांग्रेसको सांगठनिक आत्मबल बढेको प्रवक्ता शर्माले बताए।

‘०७४ को तुलनामा कांग्रेस र नेकपाबीचको मतान्तर उपनिर्वाचनसम्म आइपुग्दा घटेको छ। यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ’, उनले सोमबार पत्रकार सम्मेलनमा भने, ‘अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानझैं (बाहिर गति र भित्र अन्तर्विश्वास) बढाउन खुला सन्देश प्राप्त भएको छ।’

कांग्रेसले गुमाएको स्थानको समीक्षा गर्ने जनाएको छ। विगतभन्दा समग्रमा बढी मत प्राप्त हुनुले जिम्मेवार र शालीन प्रतिपक्षी भूमिका मतदाताले अनुमोदन गरेको उसको दाबी छ। कास्की र दाङको निर्वाचन परिणाम सहानुभूतिको मत भएको तर्क उनले गरे। बागलुङमा दुई पार्टीबीच एकतापछि पनि संगठन कमजोर भएकै कारण जनमोर्चालाई समर्थन गर्नु र प्रभाव क्षेत्रसमेत गुमाउनु नेकपाका लागि राम्रो संकेत नभएको उनले बताए।

‘एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षको अंक हासिल भएको तथ्य अगाडि राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदै छ’, उनले भने, ‘तर त्यसभन्दा व्यापक प्रभाव राख्ने केही सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई आजै सच्चिने कि भोलि सक्किने सन्देश दिएको छ।’

प्रहरी-प्रशासनको दुरुपयोग : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सरकारले प्रहरी-प्रशासन दुरुपयोग गरेको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृतिसभामा सभापति देउवाले सरकारको आलोचना गरेका हुन्। ‘प्रहरी-प्रशासनको व्यापक दुरुपयोग गरेको पायौं’, उनले भने, ‘तापनि मतदाता कांग्रेसका पक्षमा देखिएका छन्। यो स्वागतयोग्य कुरा हो।’ उनले सरकारले धाँधली गर्न खोजेको आरोपसमेत लगाए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले आफूलाई आगामी दिनमा थप परिस्कृत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए। ‘कम्युनिस्ट नेतृत्वको सरकारप्रति जनतामा असन्तुष्टि रहेको उपनिर्वाचन मतपरिणामले देखाएको छ’, नेता पौडेलले भने, ‘तर, कांग्रेसप्रति पनि जनता विश्वस्त भएको देखिएन। हामीले अब कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउन काम गर्नुपर्छ।’ महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.