हिलोधुलो भयो भन्दै भक्तपुरवासीले गरे सडक नै बन्द
भक्तपुर : सडक नबनेको भन्दै मध्यपुर थिमि नगरपालिका-९ निकोसेराका स्थानीयले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। दुई वर्षभित्र बन्नुपर्ने भक्तपुर सल्लाघारीबाट मध्यपुर थिमि जोड्ने पुरानो सडक नबनेको भन्दै स्थानीयले मंगलबार विरोध गरेका हुन्।
यो सडक अरनिको लोकमार्गको वैकल्पिक राष्ट्रिय सडक हो तर स्थानीयले यो सडकमा पानी पर्दा हिलो र घाम लाग्दा धूलोको सास्ती खानुपर्छ। राजधानी छिर्ने भक्तपुर–काठमाडौं ६ लेन सडकको समेत वैकल्पिक सडक रहँदै आएको उक्त सडकको करिब १०० मिटर खण्डमा स्थानीयले दिनहुँ सास्ती भोग्दै आएका हुन्।
स्थानीयले पटकपटक सडक अवरुद्ध गर्दै आए पनि हालसम्म उक्त सडक बन्न सकेको छैन। पानी पर्दा हिलाम्मे मात्रै हुँदैन बाटोमा हिँड्ने सर्वसाधारणको घुँडासम्म पानी आउँछ। त्यस्तै घाम लाग्दा धुलो उडेर सासै फेर्न मुस्किल हुने स्थानीय बताउँछन्।
सडकको दुरवस्थाको कारण आफूहरु बिरामी पर्न थालेको स्थानीय कृष्णप्रसाद कोजू बताउँछन्। सडकको धूवाधुलोले स्थानीयहरु बिरामी पर्न थालेकाले सडक छिटो बनाउन मध्यपुर थिमि नगरपालिका र ठेकेदारहरुलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि मंगलबार सडक अवरुद्ध पारिएको उनले जानकारी दिए।
‘सडक बनाउन भनी मध्यपुर थिमि नगरपालिका र ठेकेरदारलाई पटकपटक ध्यानाकर्षण गर्दै आएका छौं’, उनले भने,‘तर आजसम्म सुनुवाइ भएको छैन, अहिले त हामी नै बिरामी पर्न थाल्यौँ।’
उक्त सडकको काम काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले हेर्दै आएको भन्दै मध्यपुर थिमि नपा पन्छिँदै आएको स्थानीयको आरोप छ। आयोजनाले भने भक्तपुरको प्रहरी प्रशासन र मध्यपुर थिमी नपाको असहयोगले सडकको काम गर्न नसकिएको भन्दै आलटाल गर्दै आएको छ।
काठमाडौंको पेप्सीकोला मनोहरा खोलादेखि भक्तपुरको सल्लाघारीसम्म सडक विस्तारको लागि दुई वर्षअघि नै ठेक्का स्वीकृत भएको थियो। तर, मध्यपुर थिमि नपाभित्रको पुरानो बस्तीमा सडक मापदण्डमा परेका घर तथा भौतिक संरचना भत्काउने काम हुन नसक्दा सडक विस्तार कार्यअघि बढ्न नसकेको आयोजनाले जनाएको छ।
भक्तपुरलाई ‘नाकाबन्दी’
स्थानीयले निकोसेरामा सडक अवरुद्ध गरेपछि मंगलबार केही समय भक्तपुरलाई नाकावन्दी गरिए जस्तै भएको थियो। भक्तपुर नगरबाट काठमाडौं पुग्ने मुख्य सडक एक महिनादेखि बन्द छ। त्यसमाथि स्थानीयले पुरानो बाटोसमेत अवरुद्ध गरिएपछि भक्तपुर नाकाबन्दीको अवस्था पुगेको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् भक्तपुर नगरको फोहर पानी संकलन गर्न मुख्य ढलको काम गर्न हनुमन्ते खोलासँगै बाटो खनेको छ। उसले भक्तपुरबाट ६ लेन सडक जोड्ने मुख्य बाटोको दुई ठाउँमा ठूलो खाल्डो खनेर ढलको काम गरिरहेको छ।
निर्देशनालयले मंसिर १५ गतेसम्म उक्त सडक अवरुद्ध हुने बताए पनि अहिलेसम्म खुल्न सकेको छैन। दुई मुख्य सडक अवरुद्ध भएपछि सबै सवारीसाधनले सल्लाघारीबाट हनुमन्ते पुलबाट नेपली हुँदै सृजनानगर जोडिने साँघुरो सडक प्रयोग गरेका थिए। सबै सवारीसाधन यहीँ बाटो भएर गुड्न थालेपछि घन्टौँ सवारी जाम भएको थियो।