बूढीगण्डकीको मुआब्जा दरमा असतुष्टि

बूढीगण्डकीको मुआब्जा दरमा असतुष्टि

आरुघाट (धादिङ) : बूढीगण्डकी जलविद्युत् आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट र खहरे बजारको मुआब्जा दरको स्थानीय बासिन्दालेअसतुष्टि जनाएका छन्। सरकारले सोमबार मुआब्जा वितरण गरिने दररेट घोषणा गरेसँगै स्थानीय जनप्रतिनिधि र स्थानीयबासी आन्दोलित भएका छन्।

मुआब्जा ज्यादै थोरै भएको स्थानीयको भनाइ छ। विरोध स्वरूप सोमबार नै प्रमुख जिल्ला अधिरकारी अस्मान तामाङ र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण एकाइ संयोजक कृष्ण कार्कीको पुत्ला जलाएको थियो। मंगलबार प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुनसहितको पुत्ला जलाएका छन्।

आरुघाटका स्थानीय तथा बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालले भने, ‘सरकारले यतिसम्म अपमान गरेर मुआब्जा घोषणा गर्छ भन्ने हामीले सोचेका पनि थिएनौं, यो सरासर आरुघाट खहरेवासीलाई सुकम्वासी बनाउने खेल हो।’

मुआब्जा थोरै भएको भन्दै मुआब्जा घोषणाको समाचार आउनेबित्तिकै आन्दोलित भएका खहरे र आरुघाटका स्थानीयले मंगलबार बिहानैदेखि खहरे आरुघाट बजार बन्द गराएका छन्। ठाउँ–ठाउँमा टायर बालेर बिरोध जनाएका स्थानीयले खहरे र आरुघाट बजार समावेस हुने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन्। बिरोधमा यातायात सेवा ठप्प गराइएको छ। स्थानीय विदुर अधिकारीले भने, ‘हामीलाई यो मुआब्जा स्वीकार्य छैन, कम्तीमा आनाको २५ लाख हुनुपर्छ भनेर हामीले भन्दै आएकोमा हामीलाई जिस्काउने काम मात्रै भएको छ। सबै डुवानपीडितको भेला आयोजना गरेर सशक्त विरोधका कार्यक्रम गर्छौंैै।’

जनप्रतिनिधिले पनि मुआब्जामा तत्काल पुनःबिचार नगरेमा राजीनामा गरेर स्थानीयबासीसँगै आन्दोलनमा होमिने चेतावनी दिएका छन्। जिल्ला समन्वय समितिका सदस्य एवं आरुघाटको विसालनगरबासी कमल नारायण श्रेष्ठ र त्रिपुरासुन्दरी गाउँपालिका ६ का अध्यक्ष एवं खहरेवासी देवराज धरेलले राजीनामा घोषणा गर्दै स्थानीयबासीको आन्दोलनमा सहभागी भएका छन्।

गत आइतबार मध्यरातसम्म मुआब्जा निर्धारण समितिको अन्तिम बैठक बसेर मुआब्जा घोषणा गर्न बाँकी धादिङ र गोरखाको आरुघाट बजार तथा गोरखाको आर्खेत र धादिङको खहरे बजारको मुआब्जा तोकिएको थियो। यसअन्तर्गत आरुघाट बजारतर्फ मुख्य सडकले छोएका ठाउँमा आनाको साढे २ लाखदेखि ७ लाख रुपैयाँसम्म, सहायक मार्ग भएका ठाउँमा आनाको २ लाख २५ हजारदेखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गामा आनाको एक लाख ५० हजार र कुनै पनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैयाँ तोकिएको मुआब्जा निर्धारण छ।

यस्तै धादिङको खहरे बजारतर्फ मुख्य सडकसँग जोडिएको १०० फिटसम्मको जग्गालाई आनाको ९० हजारदेखि १ लाख २० हजारसम्म मुआब्जा तोकिएको छ। १०० फिटको रेन्जभन्दा बाहिरको जग्गालाई आनाको ५० हजार तोकिएको छ। समग्रमा आरुघाटतर्फ ९ किसिम र खहरे बजारतर्फ ७ किसिममा मुआब्जा दर तोकिएको छ।

बूढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ। डुवानमा पर्ने सबै ठाउँको मुआब्जा निर्धारण भएपछि अब बजारक्षेत्रको करिब १७ सय ७० रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु हुनेछ। चालु आर्थिक वर्ष सरकारले बूढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.