आकाशे पुल नहुँदा पैदल यात्रुलाई सकस
ललितपुर : सातदोबाटो चोकमा सवारी चाप समस्याग्रस्त बन्दै गएको छ। जाम खुलाउन सडकमा खटिएका ट्राफिक प्रहरीलाई हम्मे पर्छ। कार्यालयबाट घर फर्किनेहरू हतारमा हुन्छन्। सवारीचालक तँछाडमछाड गर्दै एकअर्कालाई उछिन्न खोज्छन्। जाम झन् बढ्दै जान्छ। प्रहरी आक्रोशित हुँदै सिठी फुक्छन्। सवारी चालकलाई गाली गर्छन्। लामो दूरीका बस र मालवाहक गाडीले सडक ढाकिदिन्छ। घण्टांै जाम हुन्छ। यस्तो सकस व्यहोर्नुपरेको वर्षौं भइसक्यो।
चक्रपथ विस्तार आयोजनाले सुरु गरेको ६ वटा आकाशे पुल गत असारसम्म बनिसक्नुपर्ने थियो। तर, निर्माणले धीमा गति लिएपछि पुनः एक वर्ष म्याद थपियो। हीराचन कन्स्ट्रक्सन, महादेव खिम्ती निर्माण सेवा, अवाले बिल्डर्सजस्ता निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण जिम्मा लिएका थिए। यतिबेला सातदोबाटो, बालकुमारी र सानेपामा केही मात्रामा काम अगाडि बढेको देखिन्छ। तर, चित्तबुझ्दो भने छैन। डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अमृतमणि रिमाल यी तीनै ठाउँमा ७० प्रतिशतभन्दा धेरै काम भएको दाबी गर्छन्।
आकाशेपुल बन्दै गरेको ठाउँमा सडकका दुबै छेउमा ठुल्ठूला सिमेन्टका स्ल्याबले ढाकिएका छन्। मुस्किलले एउटा सवारी पास हुने ठाउँ छाडिएको छ। सडकछेउमा खनिएका ठूला खाल्डा छरपस्ट निर्माण सामग्रीले सवारीचालकलाई मार पारेको छ। दुर्घटनाको जोखिम उत्तिकै बढेको ट्राफिक प्रहरी गुनासो गर्छन्। महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख राजेश सिलवाल भन्छन्, ‘सडकले बनाएको खाल्डो र सामानले जाम बनाएको छ, दुर्घटनाको जोखिम उत्तिकै छ।’ तर, सडक कार्यालयलाई यस विषयमा अवगत गराउँदासमेत बेवास्ता गरेको उनको गुनासो छ।
सडकमा राखिएका स्ल्याब जोड्नलाई समय नलाग्ने प्रमुख रिमालले बताए। ‘७० प्रतिशत काम सकिसकेको छ, क्रेनले स्ल्याब जोड्न समय लाग्दैन’, उनले भने, ‘स्ल्याब जोड्नेबित्तिकै रंगरोगन गर्छौं।’ उनले सुरुमा चिनियाँ कम्पनीका कारण काममा केही विलम्ब भएको आरोपसमेत लगाए।
चक्रपथ विस्तारको काम सकाएपछि चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सन गु्रपले गत वर्ष माघ १४ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तर, आठ लेनको सडकमा आकाशे पुल नहुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि चक्रपथखण्डमा आकाशे पुल थप्ने निर्णय भएको थियो। चक्रपथ सुधार आयोजनाका तत्कालीन इन्जिनियर निरन्जन शर्मा अर्यालका अनुसार त्यतिबेला आकाशेपुल योजनामा थिएन। पुरानो योजनाअनुसार बागडोल, कोटेश्वर र बी एन्डबी अस्पताल अगाडिको तीन वटा आकाशे पुलबाहेक अन्य ६ वटा पछि थपिएका हुन्।
अर्यालले भने, ‘२५ करोड रुपैयाँ लागतमा ६ ठाउँका आकाशे पुल निर्माण अगाडि बढेको हो। बालकुमारी, सातदोबाटो, एकान्तकुना खण्डमा १० करोड र महालक्ष्मीस्थान, बल्खु, सानेपा खण्डमा १५ करोड रुपैयाँ लागतमा पुल बन्दै गरेको हो। एक किलोमिटरको अन्तरालमा आकाशे पुल बनिरहेका छन्।
एकान्तकुना, महालक्ष्मीस्थान र बल्खुको तीन वटा पुलको डिजाइनमा समस्या भएका कारण सुधारिएर आउन बाँकी रहेको प्रमुख रिमालको भनाइ छ। १०.३९ किलोमिटर दूरी रहेको चक्रपथ आयोजना सन् २०१२ डिसेम्बर १८ मा चीन र नेपाल सरकारबीच सडक निर्माणका लागि द्विपक्षीय सम्झौता भएको हो।