गल्फमा ऐतिहासिक दुई स्वर्ण

गल्फमा ऐतिहासिक दुई स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) गल्फमा नेपालले ऐतिहासिक दुई वटा स्वर्ण पदक जितेको छ। पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार सम्पन्न खेलमा नेपालले पु्रुष एकल र पुरुष टिम स्पर्धामा दुई स्वर्ण जितेको हो। साग गल्फमा नेपालले पहिलो पटक दुईवटा स्वर्ण पदक जितेको हो। गल्फको पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाए। टिम स्पर्धामा सुवास सम्मिलित नेपाली टोलीले स्वर्ण चुम्यो। चार दिनको ७२ होलमा सु्वासले कुल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए। गल्फको अन्तिम दिन शुक्रबार सुवासले तीन अन्डर ६९ खेले।

गल्फमा नेपाललाई ऐतिहासिक स्वर्ण जिताएका सुवास भर्खर बलब्वाईबाट आएका हुन्। रोयल नेपाल गल्फ क्लबमा बलब्वाईको काम गर्दै गल्फ सिकेका सुवासले छोटो समयमै गल्फमा छलाङ मारेका छन्। सूर्य नेपाल टुरमा गत वर्ष प्रोफेसनल खेलाडीलाई हराएर उपाधि जितेपछि सुवास एकाएक गल्फमा छाए। त्यसपछि विभागीय टोली त्रिभुवन आर्मीमा करारमा अनुबन्ध भएका सुवासले गल्फमा थप निखारता ल्याए। दिनभर अभ्यासमै रमिरहने सुवासले एक वर्षको तयारीमै व्यक्तिगत र टिम स्पर्धा नेपालका लागि महŒवपूर्ण स्वर्ण जिताए। नेपालले आयोजक राष्ट्रको हिसाबले गल्फ खेल राखेको थियो।

टिम स्पर्धामा नेपालका सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ सहभागी थिए। टिम स्पर्धामा नेपालले कुल आठ सय ३८ स्कोर खेलेको थियो। पुरुष एकलमा स्वर्ण जितेपछि सुवासले साग गल्फमा देशको लागि पहिलो स्वर्ण जिताउन पाउँदा खुसी लागेको बताए। ‘सागको लागि एक वर्षदेखि तयारी गर्दै आएको थिएँ। प्रशिक्षक धनबहादुर थापाले राम्रो खेलेर स्वर्ण जिते भविष्य राम्रो हुन्छ भन्नुहुन्थ्यो। सोहीअनुसार तयारी गरेको थिएँ। मेरो तयारीमा संघका अध्यक्ष तासी घलेले धेरै सहयोग गर्नुभयो। मैले चिप र पटमा राम्रो गर्दा उपाधि जित्न सकेँ। भविष्यमा गल्फमा अझै राम्रो गर्नेछु,’ ललितपुर लेलेका १७ वर्षीय सुवासले भने।

सुवासले राम्रो खेल्दै भारतीय टुरमा सहभागी हुने इच्छा रहेको पनि बताए। पुरुष एकलमा बंगलादेशका मोहमद फराजले रजत जिते। उनले कुल ६ अन्डर दुई सय ८२ खेले। नेपालकै शुक्रबहादुर राईले कांस्य जिते। शुक्रले कुल चार अन्डर दुई सय ८४ खेलेका थिए। टिम स्पर्धामा रजत जितेको बंगलादेशले आठ सय ५६ स्कोर खेल्यो। कांस्य जितेको श्रीलंकाले आठ सय ७८ स्कोर खेलेको थियो।

यसैगरी महिला एकल र महिला टिम स्पर्धाको स्वर्ण  श्रीलंकाले जितेको छ। महिला एकलमा   श्रीलंकाकी ग्रेस यातावाराले स्वर्ण जितिन्। ७२ होलमा ग्रेसले कुल आठ ओभर दुई सय ९८ खेलेकी थिइन्। बंगलादेशकी जाकिया सुल्तानाले रजत जितिन्। जाकियाले तीन सय १७ स्कोर खेलिन्।  श्रीलंकाकै थुहासिनी सेल्भारातनमले कांस्य जितिन्। थुहासिनीले कुल तीन सय १८ स्कोर खेलिन्। महिला टिम स्पर्धामा स्वर्ण जितेको    श्रीलंकाले कुल ६ सय सात स्कोर खेल्यो। रजत जितेको बंगलादेशले ६ सय ३९ र कांस्य जितेको नेपालले ६ सय ८१ स्कोर खेल्यो। नेपाली टिममा कश्मिरा शाह, रविना    श्रेष्ठ र सुष्मा कोइराला थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.