पेलेरै विभाग गठन गर्ने देउवाको तयारी

पेलेरै विभाग गठन गर्ने देउवाको तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्। कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन्। ‘चाँडै पार्टीको सबै सांगठनिक संरचनाले पूर्णता पाउँछन्’, कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ, अब चाँडै गठन हुन्छन्।’

नेताहरूबीच पटक–पटक छलफल भए पनि भागवण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामो समयदेखि सहमतिको प्रयास गरे पनि कुरा मिलेको छैन। देउवा निकट एक नेताले अन्नपूर्णसँग भने, ‘जति छलफल गरे पनि सहमति नहुने देखिएपछि सभापति देउवा पार्टीको सबै सांगठनिक संरचनालाई पूर्णता दिने निष्कर्षमा पुग्नुभएको हो।’ ति नेताका अनुसार देउवाले एक साताभित्रै केही महत्त्वपूर्ण विभाग गठनको तयारी गरेका छन्। सभापति देउवाले विभाग गठन गर्नेबारे आफूनिकट नेतासँग परामर्शमा छन्।

२६ मंसिरमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन्। पदाधिकारी बैठकमा विभाग गठनदेखि भ्रातृसंस्थाका बारेमा सहमतिको प्रयास गर्ने देउवाको योजना छ। नौ महिनादेखि नेविसंघ विघटित अवस्थामा छ।

वरिष्ठ नेता पौडेल पक्ष भने विभागदेखि भ्रातृसंस्था गठनमा भागबण्डा नमिलेसम्म सहमति नजनाउने अडानमा छ। ‘महत्त्वपूर्ण विभाग आफैंसँग राखेर कसरी सहमति गर्न सकिन्छ, गुट नहेरी व्यक्तिको भूमिका र क्षमता हेरेर विभागको जिम्मा दिऔं भन्ने हाम्रो भनाइ हो,’ पौडेल निकट नेता नवीन्द्रराज जोशीले भने, ‘नेताहरूको सम्मान हुने र सबैलाई न्याय हुने गरी विभाग गठन गरिनुपर्छ।’ कार्यकालको अन्तिममा आएर विभाग गठन गर्ने कुरा उचित नहुने भन्दै पौडेल समूहले विभाग गठनभन्दा अधिवेशनमा जुट्नुपर्नेमा जोड दिइरहेको छ।

‘अब अधिवेशनलाई नै पार्टीले मूल विषय बनाउनुपर्छ’, नेता जोशीले अन्नपूर्णसँग भने, ‘विभाग गठन उहिल्यै गरिसक्नुपथ्र्याे। अब निकै ढिलाइ भइसकेको छ, विभाग गठनभन्दा पार्टीको अधिवेशन महत्त्वपूर्ण हो। यसतर्फ ध्यान दिऔं।’ कांग्रेसमा २८ विभाग छन्। सभापति देउवाले विभाग संख्या बढाएर ४५ पुर्‍याउने तयारी गरेका छन्। विगतमा ४२ विभाग रहेकोमा अहिले संख्या घटाएर २८ बनाइएको हो।

केन्द्रीय ससमितिको संख्या बढेकाले विभागको संख्या बढाउनुपर्ने प्रस्ताव सभापति देउवाको छ। ‘पार्टीमा पदाधिकारी संख्या बढेको छ, केन्द्रीय कार्यसमिति नै ठूलो छ, यस्तो अवस्थामा विगतको भन्दा झन् सानो संख्यामा विभाग बनाउने कुरा आफैंमा अनुपयुक्त थियो,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘विधानमा विभाग बढाउने सुविधा भएकाले सभापतिज्यूले यो प्रस्ताव ल्याउनुभएको हो।’

केन्द्रीय समिति बैठकबाट विभागको संख्या बढाउने प्रस्ताव पारित भएसँगै विभाग गठन गरिने नेता साउदले बताए। विभाग संख्या बढाउनुपर्ने देउवाको प्रस्तावमा पौडेल पक्षले असमति जनाइसकेको छ।

भएका विभाग गठन गर्न नसकेका बेला थप विभागको औचित्य नरहेको उनीहरूको तर्क छ। दुई महिनामा गठन गरिसक्नुपर्ने विभागले चार वर्ष पुग्नै लाग्दासमेत पूर्णता पाएका छैनन्। कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल फागुनमा सकिँदैछ।

विभाग गठनका लागि छलफल गर्न सभापति देउवाले उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता पौडेलले डा.रामशरण महत, बलबहादुर केसी र नवीन्द्रराज जोशीलाई जिम्मा दिएका थिए। उनीहरूबीच विभिन्न चरणमा छलफल भए पनि भागबण्डामा कुरा नमिल्दा विभाग गठन धकेलिँदै गएको हो।

संस्थापन पक्षले महत्त्वपूर्ण विभाग आफंैसँग राख्न खोजेकाले सहमति हुन नसकेको पौडेल समूहको आरोप छ। नयाँ संवैधानिक व्यवस्था अनुसार पार्टीको संगठन समायोजनको कार्य पनि अन्तिम चरणमा पुगेको छ। केन्द्रीय निर्वाचन समितिले वडा तहसम्म पार्टीको समायोजनको काम गरिरहेको छ।

भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान : प्रवक्ता

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सवै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानीविरुद्ध शुक्रबार नगर संघर्ष समितिले आयोजना गरेको विरोधसभामा कांग्रेस प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए।

‘नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जा गर्नेसम्मका काम भएका छन्,’ उनले भने, ‘अब कांग्रेस चुप लागेर बस्दैन, भ्रष्टाचारविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्छाैं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.