मस्तीवाला मित्रहरू

मस्तीवाला मित्रहरू

उनीहरू त गइदिए तर म ? अनुभूतिहरूको भँगालोमा जाकिएर तिनै मित्रहरूलाई सम्झिनेबाहेक केही गर्न सक्दिनँ।


मित्रहरूसँगका सम्बन्ध र संवाद नितान्त निजी हुन् भन्नेमा म सचेत छु। तर अनुभूतिहरू ? कहिलेकाहीँ तिनले घोच्छन्। र, बोल्न मन लाग्छ।

रातको १२ बज्दै थियो। दिनभरको थकानबीच पनि मेरा औंला मोबाइलमै दगुरिरहेका थिए।

म्यासेन्जरको घन्टी बज्यो। हालखबर साटासाट र एकैछिनको कुराकानीपछि ‘गुडनाइट’ भन्दै बिदा मागेँ।

‘मलाई निद्रा छैन’, उनको आग्रह थियो, ‘मिल्छ भने एकछिन कुरा गरौं।’

‘ओके’ म तयार भएँ।

बेलामौकामा उनी मलाई यसरी नै सम्झिने गर्छन्। मसँग पैसा नहुँदा एकपटक किताब किनिदिएर र एकपटक अभावका बेला सापटी दिएर गुन पनि लगाएका हुन् उनले।

सुरुमा चिनजानपछि म उनलाई ‘दाइ’ सम्बोधन गर्थें। ‘साथी नै भन न’ उनले सहज बनाइदिएका थिएँ।

केही मिनेट कुराकानीपछि उनले घुम्न जाने प्रस्ताव राखे।

‘वान नाइटका लागि नजिकैको डेस्टिनेसनतिर जाऔं। रमाइलो गरेर फर्कौंला।’

दुई दिनअघि मात्र तीन दिनको ट्रेकिङबाट फर्किएको थिएँ। म कहीँ जाने ‘मुड’मा थिइनँ।

त्यसमाथि मित्रको ‘घुम्ने’, ‘वान नाइट’ ‘रमाइलो’ले मलाई अचम्मित बनायो।

सोधेँ, ‘कता ? कहिले ? को को जाने ? ’

‘म एक्लै बोर भइसकेँ। मेरा खासै साथीहरू छैनन्। नजिकको तिमी मात्र हो। तिमी र म चित्लाङ या मार्खु जाम्। जहिल्यै एक्लै डुल्छ्यौ। यसपालि मसँग हिँड। नाइट उतै बसौंला। मस्ती गरेर फर्किम्ला। एउटै म्यासेजमा उनले आफ्ना कुरा सके।

के भन्दैछन् उनी ? रिप्लाई दिन जाँगर चलेन।

मित्रको कुराले निद्रा भाग्यो। झन् सोच्न बाध्य पार्‍यो। अघिल्लापटक पनि ती मित्रसँग यस्तै सामान्य कुरा हुन्थे।

उनको बाइकमा बसेर एक दुईपटक रत्न पुस्तक, मण्डला बुकतिर फन्को मार्नु, त्यही बेला सँगै बसेर चियाकफी पिउनु र रुचि मिल्ने विषयहरूमा छलफल गर्नुबाहेक हाम्रो सम्बन्ध फेसबुकमा सीमित थियो।

भेट्दा एकपटक उनले भनेका थिए, तिम्रो मुस्कान क्या मीठो। औपचारिकता निभाउन म फुर्किदिन्थेँ।

०००

अर्का मित्र छन्, थिएटर आर्टिस्ट। उनका केही नाटक हेरेकी छु। उनको अभिनय मन पनि पर्छ। मित्रताको दोस्रो वर्ष चलिरहेको थियो। उनीसँगको सम्बन्ध व्यक्तिगत कम र पेसागत बढी थियो। नाटक, फिल्म र किताबका कुरा धेरै हुन्थे। कहिलेकाहीँ उनी मलाई लेख्ने विषय पनि दिन्थे।

केही विषयमा छलफल गर्न मन लाग्यो भने म उनलाई सम्झन्थेँ। तर उनलाई भेट्न सजिलो थिएन। आफू अनुकूल मात्र अरूलाई भेट्ने उनको स्वभाव थियो। फोनमा, फेसबुकमा भने संवाद भइरहन्थ्यो।

केही महिनाअघि मित्रले म्यासेज गरे, रातको २ बजे।

‘यु आर एन इन्नोसेन्ट, सेन्सेटिभ। आई लाइक योर द्याट काइन्ट अफ नेचर।’

तिमी निर्दोष छौ, संवेदनशील छौ। मलाई तिम्रो यस खालको स्वभाव मन पर्छ।

बाहिर पानी पर्दै थियो। निद्रा पनि थिएन। पहिल्यैदेखि खै के कुरामा आफ्नै खालको तनावमा थिएँ। यता मित्रको सन्देश।

रिप्लाई नगरेपछि उनले फोन गरे। उठाएँ। मित्र रोमान्टिक सुनिए।

उनकोतिर पनि सायद पानी परिरहेको थियो। भन्न थाले, ‘पानीमा भिज्न क्या मज्जा आउँछ। लेट्स गो फर अ वाक !’

तनावका बीच म ‘वाक’को ‘मुड’मा थिइनँ। मैले ‘अभोइड’ गरेँ।

तर अर्को एक दिन हामी मस्त पशुपति, ठमेल, वसन्तपुर र पाटनमा चक्कर लगाएका छौं। र, त्यही दिनदेखि छुट्यौं हामी।

त्यो दिन घुमघाम, चियाकफी र गफगाफपछि छुट्ने योजना थियो हाम्रो। तर उसले होटल ‘बुक’ गर्ने योजना सुनायो। मेरा लागि यो अनपेक्षित थियो।

केही बेरको गलफत्तीपछि म झर्किएँ।

‘आई एम इन मुड’, ऊ मलाई कन्भिन्स गर्न खोज्दै थियो।

म अक्क न बक्क भएँ। ‘एन्ड आई एम नट, थ्यांक्स फर द कम्पनी !’ म आफ्नो बाटो लागेँ। त्यसपछि हाम्रो सम्पर्क टुट्यो।

०००

कहिलेकाहीँ विचित्रका मित्र भेटिन्छन्। पछि सम्झिँदा ‘फन्नी’ लाग्छ।

एक दिन साथीहरूसँग ‘ह्याङआउट’ गर्न क्लब गएको थिएँ। क्लबको आफ्नो दुनियाँ छ ः नाइटलाइफ, ड्रिंक, डान्स, रमाइलो।

साथीहरू डान्समा झुम्मिएका थिए। म कुनामा एक्लै सबथोक नियाल्दै थिएँ। पेसाकै क्रममा जानपहिचान भएका तर विरलै भेट हुने मित्र त्यहीँ भेटिए।

सामान्य औपचारिकतापछि हामी केही बेर गफियौं।

‘ककटेल’, ‘मोकटेल’देखि हुक्का, जुस, स्न्याक्स अफर गरे।

‘नो थ्यांक्स’, मैले नकारेपछि उनले अर्को चासो देखाए।

‘निद्रा लाग्यो होला कहाँ बस्ने ? ’

हामी ढिलै भए पनि घर फर्किने गरी त्यहाँ पुगेका थियौं।

‘घरै जान्छु’, सायद मेरो जवाफले उनलाई चित्त बुझेन।

‘नत्र सँगै बसौं’, उनले प्रस्ताव राखे।

म रिसले रन्थनिएकी थिएँ। झोकमै सम्हालिएर मैले भनेँ ः ‘नो थ्यांक यु।’

अन्तिममा मेरो फोन नम्बर मागे।

‘तपाईंको तरिका ठीक भएन है, म तपाईंलाई नम्बर किन दिऊँ ? ’, म झर्किएपछि उनी अन्कनाउँदै साइड लागे।

०००

म यी र यस्तै खाले मित्रहरूको नियतमा शंका गर्दिनँ। उनीहरूले राम्रै मनले भनेका पनि हुन सक्छन्। मेरो आफ्नै स्वभाव पनि डुलन्ते र घुमन्ते छ। म आफूलाई ‘एक्सपेरियन्स हन्टर’ भन्न रुचाउँछु। यसलाई मस्ती या मोज पनि भन्न सकिन्छ। तर मित्रहरूको मस्ती गर्ने चाहनासँग मैले बुझेको मस्तीको संगति मिल्दैन।

मलाई त त्यही मित्र चाहिएको छ जो मसँग हेनरिक इब्सनका नाटकबारे बोलोस्, दुई चार कप कफी रित्याउँदै युवल नोभा हरारेका विचारहरूबारे विमर्श गरोस्, क्लबमा भेटिँदा हात समातेर नाचोस् र हाँस्दै छुटोस्।

तर मित्रहरूले मेरा रहर बुझेनन्, पूरा गर्नु त परैको कुरा। बरु यी ‘असल’ मित्रहरू कालान्तरमा ‘कुरूप’ अपेक्षा देखाउँदै मेरो जीवनबाट बाहिरिए।

उनीहरू त गइदिए तर म ? अनुभूतिहरूको भँगालोमा जाकिएर तिनै मित्रहरूलाई सम्झिनेबाहेक केही गर्न सक्दिनँ। जाने बेला कसैले मसँग माफी माग्न पनि आवश्यक ठानेन।

बरु मै माफी माग्छु। सरी मित्रहरू, मैले तपाईंको अपेक्षाअनुरूप ‘मस्ती’ गर्न सकिनँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.