बाँके निकुञ्जमा पर्यटक न्यून
काठमाडौं : नजिकैको बर्दियाँ राष्ट्रिय निकुञ्जमा दैनिक खचाखच पर्यटक भरिँदा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन शून्यजस्तै छ। पर्यटकीय पूवार्धार अभाव र जंगल सफारी व्यवस्थित नभएका कारण बाँकेमा लक्ष्य अनुरुरू पर्यटक आकिर्षत हुन सकेका छैनन्। सबैभन्दा पछि स्थापना भएको र प्रचारप्रसार धेरै नभएका कारण पनि पर्यटकको उपस्थिति न्यून देखिएको निकुञ्जले जनाएको छ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै निकुञ्जले पर्यटक आकर्षित गर्न जंगल सफारी खुला पनि गरेको छ। सरकारले सार्वजनिक गरेको एक सय भ्रमण गन्तव्य मध्ये बाँके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रलाई ५७ औं गन्तव्यमा राखेको छ।
निकुञ्जमा पर्यटकको आगमनको तथ्यांक हेर्दा शून्य उपस्थिति देखिन्छ। आर्थिक वर्ष ०७४÷७५ मा २ जना मात्र विदेशी पर्यटक बाँके राष्ट्रिय निकुञ्जल अवलोकनका लागि पुगेका थिए। यस्तै, गत आर्थिक वर्षमा भने १४८ नेपाली, ११ जना सार्क राष्ट्र र एक जना मात्र एसिया बाहिरका पर्यटक घुम्न आएको निकुञ्जले जनाएको छ। यो समयमा अपेक्षाकृत रूपमा पर्यटक भिœयाउन नसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताए।
‘वन्यजन्तु पर्यटनको लागि बर्दिया उत्कृष्ट गन्तव्य भएका कारण बाँके ओझेलमा परेको हो’, शर्माले भने, ‘बाँकेमा पनि जंगल सफारी गर्न सकिन्छ। प्रचार–प्रसार कम भएका कारण पर्यटकको संख्या न्यून भएको हो।’ निकुञ्जले पर्यटन पूर्वाधार समेततयार गरिसकेको छ। पर्यटक मचान निर्माण, प्रतिक्षालय, हात्तीसारलगायतका पूर्वाधारसमेत निर्माण गरिसकेको छ।
निकुञ्जका अनुसार गस्ती गर्न तथा पर्यटकलाई जंगल सफारी गर्न सहज होस् भन्ने उद्देश्यले १० किलोमिटर वनपथ पनि निर्माण गरिएको छ। त्यस्तै मुख्य वनपथदेखि चुनभठी जाने, खैरीदेखि गन्धेली जाने र कुसुमदेखि मलई जाने बाटो गरी जम्मा २५ किमि गोरेटो बाटो निर्माण गरिएको छ। सुतैयादेखि गन्धेलीसम्मको मुख्य वनपथ तथा राजमार्गदेखि मुगुवा मचान जाने बाटो गरी जम्मा २५ किमि वनपथ मर्मत सुधार गरेको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिक घरवास छन्। घरवासमा स्थानीय परिकार खान पाइन्छ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा निकुञ्जले जनप्रतिनिधिलाई जंगल सफारी गराएर प्रचार–प्रसार गरेको छ। प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’, उषा पुन, संविधानसभाका पूर्वसदस्य देवराज भार, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारू, कोहलपुर नगरपालिकाका कार्यवाहक प्रमुख सञ्जुकुमारी थारू, बैजनाथ, कोहलपुर र राप्तीसोनारी गाउँपालिकाका वडाध्यक्षले निकुञ्ज अवलोकन गर्दै भ्रमण वर्षमा बाँके निकुञ्जमा जंल सफारीका लागि सामूहिक अनुरोधसमेत गरे।
जैविक विविधताको संरक्षण र विश्वमै दूर्लभ मानिएको पाटेबाघको संरक्षण गर्ने उद्देश्यले निकुञ्ज स्थापना गरेको हो। विसं २०६७ वैशाख ३० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदी कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठकबाट निकुञ्जको घोषणा भएको थियो। यो निकुञ्जमा ८ प्रकारका पारिस्थितिकीय प्रणाली, ६ प्रकारका वनको किसिम र २६३ प्रजातीका वनस्पति छन्।
यस निकुञ्जमा पाइने जैविक विविधता निम्नानुसार रहेको छ। बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटिएको छ। बाँके निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण बासस्थानका रूपमा लिइने गरिन्छ। २०१८ को बाघ गणना अनुसार निकुञ्जमा २१ वटा पाटेबाघ छन्। यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन्।