भारतले दिएन ‘आईसीपी’

भारतले दिएन ‘आईसीपी’

विराटनगर : विराटनगर–जोगबनी सीमा क्षेत्रमा संयुक्त भन्सार जाँच बिन्दु ‘ज्वाइन्ट इन्टिग्रेटेड चेकपोस्ट’ (आईसीपी) निर्माण भइसके पनि भारतले हस्तान्तरण नगर्दा सञ्चालनमा आएको छैन। भारतले चासो नदिँदा दुवै देशको संयुक्त लगानीमा निर्मित आईसीपी महिनौं बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो।

निर्माण कम्पनीबाट जिम्मा लिएर भारतले आईसीपी नेपाललाई हस्तान्तरण गरेपछि मात्र कार्यालय स्थानान्तरण गरेर पूर्णरूपमा काम थाल्न सकिने भन्सार अधिकारी बताउँछन्। नेपाल–भारतको भन्सार जाँचपास सहज बनाउन नेपालतर्फ विराटनगर र भारततर्फ जोगवनी नाकामा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको संयुक्त जाँच चौकी (आईसीपी) निर्माण गरिएको हो।

भारततर्फ भने निर्माण सकेर कात्तिक ०७४ देखि जोगवनीमा जाँच चौकी सञ्चालनमा आइसकेको छ। मुख्य परामर्शदाता भारतीय एमएस राइट्स कम्पनी रहेको आईसीपीको निर्माण भारतले आफ्नोतर्फ तोकिएकै समय अर्थात् सन् २०१४ मा गरेको थियो। नेपालतर्फ जग्गा अधिग्रहण र हस्तान्तरणमा ढिलाइ हुँदा बनाउन करिब ६ वर्ष ढिलो भएको थियो।

३ वर्ष पहिले निर्माण कम्पनीलाई नेपालले जग्गा हस्तान्तरण गरेपछि आईसीपीको निर्माण तीव्र भएको थियो। करिब दुई महिनाअघि नै निर्माण सकिएको नेपालतर्फको भन्सार कार्यालय सञ्चालनमा आउन नसकेको हो।। नेपालतर्फको संरचना १ अर्ब भारतीय रुपैयाँमा निर्माण गरिएको हो। ‘काम सकिएको छ, मात्र हस्तान्तरण गरेर उद्घाटन गर्न बाँकी हो,’ विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले भने। उनका अनुसार आईसीपी सञ्चालन गर्न दुवै सरकारले पहल गरे एकै सातामा सञ्चालन गर्न सकिन्छ।

०७३ मंसिरमा नेपालले जग्गा हस्तान्तरण गरेपछि भारतीय ठेकेदार दिनेश चन्द आर इन्फाकमले नेपालतर्फको आईसीपी बनाउन थालेको थियो। सुरु गरेको ३ वर्षमा निर्माण सकिएको छ। कम्पनीले २ फरवरी २०१८ भित्रै काम सकेर हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरेर निर्माणमा तीब्रता दिएको थियो। पहिलो सम्झौता अनुसार आईसिपी सन् २०१४ भित्र निर्माण सम्पन्न भएर दुवैतर्फ सञ्चालनमा आइसक्नुपर्ने थियो।

नेपालतर्फ ८ वटा प्रशासनिक भवन, ५ वटा प्रोसिसेड भवन, ९ किलोमिटर सडक, अढाइ किलोमिटर नालासहित बत्ती, बगैंचा, पार्किङस्थल निर्माण गरिएको ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर अवधेशकुमार साहले बताए। भारतले आफ्नो भूमि जोगवनी नगरपालिकाको भेडियारीमा १४ सय मिटर लम्बाइ र ५ सय मिटर चौडाइको क्षेत्रफलमा आईसीपी निर्माण गरेर सञ्चालनमा ल्याएको छ। नेपालतर्फ साढे ८ सय मिटर लम्बाइ र ५ सय मिटर चौडाइ क्षेत्रफल छ। मोरङको विराटनगर महानगरपालिका–१८ बुधनगरमा १ सय २८ बिघा जग्गामा निर्माण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.