सिर्जनामा मान्छेको खोजी
इलाम : नियात्रा साहित्य र पत्रकारितामा नाम कमाएका लेखक पत्रकार मोहन मैनालीले जीवनको लामो समय मान्छे खोज्दैमा बिताए। उनले मान्छेका भोगाइ जोडेर समाचार मात्रै लेखेनन्; उपल्लो थलो, देखेको देश, मान्ठा हराएको जुगजस्ता मन छुने पुस्तक पनि लेखे।
कन्यामको सिरेटोमा उनलाई सुन्न आएका साहित्यानुरागीलाई भन्दै थिए, ‘राम्रो लेखिस् भन्छन् तर मैले मान्छेको भनाइ जोडेको मात्रै हो।’ उनको विचारमा सिर्जनामा मान्छेको आवाज भयो भने पाठकले रुचाउने रहेछन्। उनले आफूले सौभाग्यले पुग्न पाएको तर अरूलाई पुग्न कठिन हुने मृत्युको मुखका कथा सिर्जनामा समेट्ने प्रयास गरेको बताए।
सिर्जनशील अराजकताका पक्षधर हाङयुग अज्ञातले पनि साहित्य यात्राबाट जन्मने भन्दै साहित्यभित्र नागरिकका भोगाइ र समाज बोल्नुपर्ने बताए। समाज संस्कृति र विश्व साहित्यको फ्युजनबाट कालजयी सिर्जना जन्मने उनको तर्क छ।
लेखक पत्रकार केदार शर्मासँगको बहसमा लेखक मैनाली भन्दै थिए, ‘सिर्जनाका लागि यात्रा र अध्ययन जाहिले पहिलो सर्तजस्तै लाग्छ।’ मान्छेको भोगाइलाई टिपेर मालाजस्तै बान्की पार्न सके जीवन्त सिर्जनाको जन्म हुने उनले बताए।
कार्यक्रमममा कवि मुनाराज सेर्माले साहित्य र समाज विकासका विषयमा बोल्दै अहिलेको साहित्य समाजको आवरण मात्रै होइन, ‘स्क्यान गर्ने खालको’ हुनुपर्ने बताए। सूर्योदय नगर महोत्सवका अवसरमा आयोजित साहित्य विमर्श कार्यक्रममा इलाम र झापाका कविले आँसु कविता लेखेर वाचन गरेका थिए।