सेयर विवादको पेशी सरेको सर्यै
काठमाडौं : ठमेलस्थित होटल ब्लू डायमन्ड प्रालिको सेयर सम्बन्धी मुद्दा ९ पटकसम्म सर्वोच्च अदालतका एकै न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेशी तय भयो। कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीको मिलेमतोमा होटलको सेयरमा जालसाजी भएको विवादको मुद्दा नौ पटकसम्म सर्वोच्चका न्यायाधीश वमकुमार श्रेष्ठको इजलासमा पेश भएको थियो।
मुद्दा २०७४ पुष १९ गर्ने सवोच्च अदालतमा दर्ता भएको थियो। यो मुद्दा १९ महिनादेखि सर्वोच्चको इजलासमै घुमिरहेको छ। ०७५ जेठ २१, ७५ असार १८, ७५ मंसिर २३, ७६ साउन २६, भदौ २२ मा न्यायाधीश श्रेष्ठको इजलासमा परेको पेशी सूचीबाट देखिन्छ। यसैसँग सम्बन्धीत अर्को मुद्दा पनि न्यायधाीश श्रेष्ठकै इजलासमा पुगेर धेरैपल्ट ‘नभ्याइने’ र ‘स्थगित’ को सूचीमा परेको छ।
२०७५ जेठ ३१ मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासबाट कारण देखाउ आदेश जारी भएको थियो। त्यसयता यो मुद्दा पटक–पटक श्रेष्ठकै इजलासमा पुगेको छ। त्यसपछि गत साउन १४, असोज ७ र मंसिर ३ गते पनि उही इजलासमा पेशी तय भयो। अब फेरी पुस ३ गते अर्को पेशी तय भएको छ। यो मुद्दा पटक–पटक एउटै न्यायाधीशको इजलासमा पुगेको मुद्दाका पक्ष भक्तराज सुवालले बताए।
यस विषयमा चित्त नबुझेर निवेदन दिन खोज्दासमेत रजिष्ट्रारले लिन नमानेको उनले बताए। ‘पटक–पटक एउटै श्रीमानकोमा पर्यो भनेर निवेदन दिन खोजेँ तर रजिष्टारले लिन मानेनन्,’ उनले गुनासो पोखे। यो मुद्दा तत्कालीन अध्यक्ष रामभक्त डंगोलले सम्पूर्ण सेयर आमा बालकुमारीलाई बिक्री गरी दाखिल खारेज भइसकेको अवस्थामा कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीको मिलोमतोमा पुनः डंगोलकै नाममा कायम गरेर जालसाजी गरिएको भन्ने विवादसँग सम्बन्धित छ।
रामभक्तले २०३७ सालमा सेयर आमा बालकुमारीलाई बेचेका हुन्। २०५४ सालमा बुवाको शेषपछि बाबुको नामको सेयरसमेत २०५६ सालमा आमा बालकुमारी, भक्तराज र भाई शिवरामको नाममा आएको थियो। २०५७ सालमा आमा बालकुमारीको मृत्युपछि भक्तराज र शिवरामको नाममा होटलको सम्पूर्ण सेयर आएको दाबी मुद्दाको फिरादपत्रमा उल्लेख छ।
२०७२ सालको भूकम्पका बेला रजिस्ट्रारका कर्मचारीको मिलोमतोमा जालसाजी गरी पुनः रामभक्त र शिवरामले सेयर हडपेको भनाइसमेत सुवालको छ। तीनसय कित्ता सेयरमध्ये २० कित्ता राखि २८० कित्ता सयेर शिवरामको नाममा ल्याएका थिए। २०७३ जेठमा काठमाडौं जिल्ला अदालतमा रामभक्त र शिवरामविरुद्ध भक्तरामले मुद्दा दर्ता गरे।
यो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगलेसमेत अनुसन्धान गरेको छ। अख्तियारको अनुसन्धानबाट होटलमा रामभक्तको सेयर आमा बालकुमारीले खरिद गरी सबै प्रमाणमा फेरबदल भएको कागजात दुलालले देखाए। अख्तियारले कागजात अनधिकृत रूपमा फेरबदल गरी सक्कल कागजात नोक्सान गरेको निक्र्योलसहित सच्याउन कम्पनी रिजस्ट्रार कार्यालयलाई निर्देशन दिएको छ।
त्यसपछि कम्पनी रजिस्ट्रारले आमा बालकुमारीको मृत्युपछि उनको नामको सेयरसमेत कम्पनीको नाममा हुने भन्दै सेयर मिलानको लगत पेस गर्न निर्देशन दिएको थियो। तर यो मुद्दा सर्वोच्चमा पुगेर अहिलेसम्म अनिर्णयको बन्दी बनेको छ।