मदिराले हिंसा बढाएपछि निषेध गर्न माग
गुल्मी : मालिका गाउँपालिका-२ दर्लिङकी एक महिला स्वास्थ्य स्वंयमसेविका हरेक दिन साँझ नपर्दिए हुन्थ्यो भन्ने सोच्छिन्। दिनभरी सबैसँग हासेर बोले पनि साँझ पर्नेबित्तिकै उनको मुहारको मुस्कान हराउँछ। रात परेपछि मदिराले लटठीएर आउने पतिको दैनिक पिटाइ खानुपर्छ। गाउँभरि नै हल्ला गर्दै घर पस्ने उनका पतिले मदिराको मातमा पत्नी र छोराछोरीलाई मरणाशन्न हुने गरी कुट्छन्।
‘उहाँ आउँदा सतेको रहेछु भने ढोका नै फोड्नुहुन्छ। डरडरले मध्यारातसम्म सुत्न सक्दिन, तर पनि विनासित्ती कुटाइ खानुपर्छ’, उनले भनिन्। उनीमात्र होइन, गाउँका अधिकांश महिलाको नियती यस्तै हो। दिनभर कामको थकान र घरमा खाने अन्न नभएको पीर त छँदैछ। त्यसैमाथि मध्यरात मदिराले मातेर आउने पतिको कुटाइले शरीर कमजोर हुँदै गएको यहाँका महिलाको गुनासो छ।
मालिका गाउँपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको छलफलमा महिलाहरूले मदिरा सेवनले हिंसा बढाएको बताए। मालिका गाउँपालिका–१ की रनमायाँ पुनले रक्सीकै कारण धेरै परिवारमा झै–झगडा हुने गरेको बताइन्। मदिराकै कारण महिलाले घरमै शरणार्थीजस्तो जीवन बिताउनुपरेकोले मदिरा निषेध गर्नुपर्ने माग गरिन्। प्रहरीले घरेलु मदिरा बनाउन र बेच्न निषेध गरे पनि व्यवहारमा लागू भएको छैन।
महिलाले घरेलु मदिरामात्रै नभइ विभिन्न कम्पनीबाट उत्पादित तयारी मदिरा पनि आफ्नो गाउँपालिकाभित्र निषेध गर्नुपर्ने माग राखेका छन्।
महिलाका समस्या सुन्न गाउँपालिका उपाध्यक्ष देवा अर्याल स्थानीयको घरमै पुगेकी थिइन्। भेट्नेजति सबैको एउटै माग थियो, ‘जसरी भए पनि गाउँपालिकाभित्र सबै प्रकारको मदिरा निषेध गरियोस्।’ महिलाहरूले मदिरा बिक्री वितरणमात्र नभइ, सेवन गरेर घरमा झगडा गर्ने र होहल्ला गर्नेमाथि पनि कारबाही गर्नुपर्ने माग राखे। मालिका गाउँपालिका–१ नेटाकी जुनमायाँ विकले भनिन्, ‘कि त हामीलाई कुटाइ खाएरै ज्यान फाल भन्नुप¥यो, होइन भने गाउँपालिकाले हाम्रो ज्यानको सुरक्षामा गम्भीर भएको भए मदिरा निषेध गर्नुपर्छ।’
छलफलमा सहभागी भएका पुरुषले भने पछिल्लो समय महिलाबाट पनि पुरुषमाथि हिंसा हुँदै आएको बताए। अर्जेका दिलबहादुर परियारले महिलाबाट पुरुष हिंसामा पर्दै आएको बताए। उनले भने, ‘विवाहपछि महिलाले बिनाकारण पतिमाथि आरोप लगाउँछन्। वैदेशिक रोजगारीमा गएकाले त श्रीसम्पत्ति नै गुमाएका छन्। परिवारमा मिलेर बस्न नसक्ने भएका कारण पनि पुरुषहरू तनाव झेल्न नसकेर कुलतमा फसिरहेका छन्।’
अर्का स्थानीय शेरबहादुर अर्यालले मदिराकै कारण घरबार बिग्रिँदै गएको बताए। उनले भने, ‘लाइसेन्स छ भन्दैमा जति पनि रक्सी बेच्न दिनु त भएन नी ? स्थानीय सरकार भएका नाताले आफ्ना नागरिकको सुरक्षाका लागि मदिरा निषेध गर्नु आवश्यक छ।’ गाउँपालिकाका सबै महिलाले महिला हिंसा न्यूनिकरणमा ¥याली निकाल्नुभन्दा मदिरा निषेधतर्फ ध्यान दिन सुझाव दिएका छन्। गाउँपालिका अध्यक्ष रितबहादुर थापाले मदिरा सेवन न्यूनिकरण गर्न पालिकाले मदिरा नियन्त्रण नीति बनाएर कार्यान्वयन गरिरहेको बताए।