एक वर्षदेखि थन्कियो एम्बुलेन्स
भक्तपुर : चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित नेपाल मेडिकल कलेजको सामुदायिक स्वास्थ्य केन्द्रमा एक वर्षदेखि एउटा एम्बुलेन्स थन्किएर बसेको छ।
बा.१ झ ८८२२ नम्बरको उक्त एम्बुलेन्समा चाँगुनारायण नगरपालिका वार्ड नम्बर ३ झौखेलद्वारा सञ्चालित एम्बुलेन्स सेवा लेखिएको छ। तर, एकदिन पनि सेवा भने दिएको छैन। झट्ट हेर्दा नयाँ देखिए पनि त्यत्तिकै थन्क्याएर राखिएकाले एम्बुलेन्सको पछाडिको टायर हावा नभएर बसेका छन्।
त्यस्तै, भुइँमा उम्रिएका झारपात एम्बुलेन्सभित्रसम्म पुगेको छ। इन्जिनलगायत पार्टपुर्जा सद्दे हुनेमा शंका लाग्ने स्थानीय बताउँछन्। ‘एम्बुलेन्स चलाउनुपर्यो भनेर पटक–पटक आग्रह गर्दासमेत वडाध्यक्षबाट सुनुवाइ भएन’, स्थानीय रवीन्द्र शर्माले भने।
उनका अनुसार उक्त एम्बुलेन्स मागेर ल्याइएको हो। एम्बुलेन्स चाँगुनारायण नगरपालिकाकै वडा नं ४ स्थित चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रको मातहत थियो। केन्द्रका लागि स्थानीयले सप्ताहव्यापी महायज्ञ गरेर संकलन भएको रकमले एम्बुलेन्स किनिदिएका थिए। तर, केन्द्रमा पहिल्यै एउटा चालु अवस्थाको एम्बुलेन्स थियो। नयाँ थपिए पनि चालकलगायत जनशक्ति नथपिएपछि केन्द्रले एम्बुलेन्स नियमित प्रयोगमा ल्याउन सकेन।
नगरपालिकाको स्वास्थ्य शाखामा उक्त एम्बुलेन्स प्रयोगमा ल्याउनेबारे कुरा भएपछि वडा नं ३ झौखेलमा वडाध्यक्ष श्यामसुन्दर धिमालले उक्त एम्बुलेन्स आफ्नो वडामा लैजान माग गरे। उनको मागअनुसार वडा नं ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले तत्काल स्वीकृतिसहित सम्पूर्ण कागजात पुर्याएर एम्बुलेन्स झौखेललाई हस्तान्तरण गरे।
चाँगु प्राथमिक स्वास्थ्य केन्द्रबाट नेपाल मेडिकल कलेज सामुदायिक स्वास्थ्य केन्द्रसम्म गुडेको एम्बुलेन्स त्यसउप्रान्त एक वर्षदेखि एक इन्च पनि गुडेको छैन।
वडाध्यक्ष धिमालले चालकलगायत जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको स्विकारे।
सञ्चालन आएको केही महिनामै बन्द गर्ने स्थिति आउन नदिन दीर्घकालीन योजनासहित एम्बुलेन्स सञ्चालन गर्ने प्रक्रियामा वडा कार्यालय रहेको उनले सुनाए। ‘ड्राइभर नभएर एम्बुलेन्स चलाउन सकिएन’, वडाध्यक्ष धिमालले भने, ‘दिगो स्रोतसहितको व्यवस्थापनको प्रक्रियामा छौं।’