एक वर्षदेखि थन्कियो एम्बुलेन्स

एक वर्षदेखि थन्कियो एम्बुलेन्स

भक्तपुर : चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित नेपाल मेडिकल कलेजको सामुदायिक स्वास्थ्य केन्द्रमा एक वर्षदेखि एउटा एम्बुलेन्स थन्किएर बसेको छ।

बा १ झ ८८२२ नम्बरको उक्त एम्बुलेन्स पुरानो भने होइन। एम्बुलेन्समा चाँगुनारायण नगरपालिका-३ झौखेलद्वारा सञ्चालित एम्बुलेन्स सेवा लेखिएको छ। तर एम्बुलेन्सले ल्याएदेखि हालसम्म एकदिन पनि सेवा भने दिएको छैन।
  

बाहिरबाट नयाँ देखिए पनि त्यत्तिकै थन्काएर राखिएकाले एम्बुलेन्सको पछाडिका टायरमा हावा छैन्। त्यस्तै भुईमा उम्रिएका झारपात एम्बुलेन्सभित्र झाँगिन पुगेका छन्। वर्षौंदेखि नचलाइकन थन्काइएकाले एम्बुलेन्सको इञ्जिनलगायतका पार्टपुर्जा सद्दे हुनेमा शंकै लाग्ने स्थानीय बताउँछन्।

स्थानीयले उक्त एम्बुलेन्स सञ्चालनमा ल्याउन पटकपटक ध्यानाकर्षण गर्दा पनि वडा अध्यक्ष श्यामसुन्दर धिमालले नसुनेको गुनासो गरेका छन्।

भएको एम्बुलेन्स सञ्चालनमा नआएकाले स्थानीय बिरामी भए भक्तपुर नगरदेखि एम्बुलेन्स बोलाउनुपर्ने बाध्यता छ। जसले गर्दा बिरामी समयमै स्वास्थ्य संस्थामा पुग्न समस्या भइरहेको छ।

‘नचलाउने एम्बुलेन्स किन ल्याइएको हो। ल्याइसकेपछि चलाउनुपर्‍यो भन्दा वडा अध्यक्षबाट सुनुवाइ भएन’, स्थानीय रवीन्द्र शर्माले भने।

उनका अनुसार उक्त एम्बुलेन्स पनि मागेर ल्याइएको हो। उक्त एम्बुलेन्स चाँगुनारायण नगरपालिकाकै वडा नम्बर ४ स्थित चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रको मातहत थियो। केन्द्रको लागि स्थानीयले सप्ताहव्यापी महायज्ञ गरेर संकलन भएको रकमले एम्बुलेन्स किनिदिएका थिए। तर केन्द्रमा पहिल्यै एउटा चालू अवस्थाको एम्बुलेन्स थियो। नयाँ एम्बुलेन्स थपिए पनि चालकलगायतको जनशक्ति भने नथपिएपछि केन्द्रले एम्बुलेन्स नियमित प्रयोगमा ल्याउन सकेन।

नगरपालिकाको स्वास्थ्य शाखामा उक्त एम्बुलेन्स प्रयोगमा ल्याउनेबारे कुरा भएपछि वडा नं ३ झौखेलमा वडा अध्यक्ष श्यामसुन्दर धिमालले उक्त एम्बुलेन्स आफ्नो वडामा लान माग गरे। उनको मागअनुसार वडा नं ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले तत्काल स्वीकृतिसहित सम्पूर्ण कागजात पुर्‍याएर एम्बुलेन्स झौखेललाई हस्तान्तरण गरे।

चाँगु प्राथमिक स्वास्थ्य केन्द्रबाट नेपाल मेडिकल कलेज सामुदायिक स्वास्थ्य केन्द्रसम्म गुडेको एम्बुलेन्स त्यस उप्रान्त एक वर्षदेखि एक इन्च पनि गुडेको छैन।

वडा अध्यक्ष धिमालले चालकलगायतको जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गरे। सञ्चालन आएको केही महिनामै पुनः बन्द गर्ने स्थिति आउन नदिन दीर्घकालीन योजनासहित एम्बुलेन्स सञ्चालन गर्ने प्रक्रियामा वडा कार्यालय रहेको उनले सुनाए।

‘ड्राइभर नभएर एम्बुलेन्स चलाउन सकिएन’, वडा अध्यक्ष धिमालले भने, ‘दिगो स्रोतसहितको व्यवस्थापनको प्रक्रियामा छौं।’ उनले स्थानीय तहमा क्रियाशील सहकारी संस्थालाई सहभागी गराएरु एम्बुलेन्स सञ्चालन गर्नेबारे समेत छलफल भइरहेको सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.