म्याग्दीमा हिमपात
बेनी : हिमाली जिल्ला म्याग्दीको उच्च पहाडी क्षेत्रमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ। केही दिनयता मौसममा भएको बदली र हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।
अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पर्यटकीय स्थल घोडेपानी, धवलागिरी गाउँपालिकाको गुर्जामा बिहानदेखि हिउ पर्न थालेको स्थानीयले जनाएका छन्। घोडेपानीका आकाश गर्बुजाले दुई फिट हिउँ जमिसकेको बताए। ‘हिउ पर्ने क्रम जारी छ,’ उनले भने ‘चिसोले पर्यटक आगमन घटेको छ। घर बाहिरको काम गर्न सकेका छैन्। आगो तापेर घरभित्रै न्यानोमा बसेका छौँ।’
गुर्जाको जनकल्याण माविका प्रअ रुपेश सुवेदीले ठूलो पानी र चिसो बतास चलेको बताए। ‘डाँडामा सेताम्मे हिउ परेको छ,’ उनले भने ‘दुई महिनापछिको वर्षाले चिसो बढाए पनि कृषक भने खुसी छन्।’ मोहरेडाडा, खोप्रा लेक लगायत पर्यटकीय स्थलमा पनि हिउ परेको छ ।
असोज महिनादेखि वर्षा नभएको म्यादीमा दुई महिनापछि भएको वर्षाका कारण कृषकहरुलाई भने राहत मिलेको छ। गहुँ, केराउ, जौ, उवालगायत हिउँदेबालीमा सिँचाई भएर खेतीबाली सप्रने कृषकको आशा छ।