मुस्ताङमा भारी हिमपात
जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ। शुक्रबार बिहानैदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिउँ परेको छ। उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ परेको एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए। उपल्लो मुस्ताङको लोमान्थाङ,चराङ, घमी, मराङ, छोसेर, छोनुप, सुर्खाङ, चुमजुङर, किम्लिङ, घिलिङ र समुजुङलगायतका ग्रामिण भेकहरुमा भारी हिमपात भइरहेको निमिक्त कार्यालय प्रमुख न्यौपानेले अन्नपूर्णलाई बताए। उनका अनुसार हिमपातसँगै नदी नाला घरका धारा र सेफ्टी ट्याङ्कीसमेत हिउँ र चिसोले जमेको छ। हिउँ परेपछि उपल्लो मुस्ताङको जनजिवन कष्टकर बनेको न्यौपानेले बताए।
जिल्लाको तल्लो क्षेत्र थासाङ गाउँपालिकाको घासादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा पनि १ फिट हिउँ परेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए।
गत वर्ष मंसिरको पहिलो साता हिउँ परेको थियो। यसवर्ष उपल्लो मुस्ताङमा कार्तिककै हिउँ परेको लोघेक दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। शुक्रबार भइरहेको हिमपातका कारण मुस्ताङका पुरै ग्रामिण क्षेत्र प्रभावित भइरहेका छन्। तल्लो मुस्ताङक्षेत्रका डाँडाकाडासमेत हिउँले सेताम्मे बनेको स्थानीय अजित थकालीले बताए।
उपल्लो मुस्ताङमा हिउँ परेसँगै मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् भने तल्लो मुस्ताङमा पर्यटक ,कर्मचारी र स्थानीयहरु हिउँ खेल्न जुटेका छन्। स्थानीय किसानहरु पनि हिउँ परेपछि उत्साहित भएका छन्। हिउँले खेतीयोग्य जमिनको सतहमा चिस्यान भर्ने, हिउँले बालीलाई नाईट्रोजन प्रदान गर्ने र विभिन्न प्रकोपहरुलाई निरुत्साहित गर्न सहयोग पुर्याउने भएकाले हिउँ पर्दा किसानलाई फाईदा पुग्ने थकालीले उल्लेख गरे।
उपल्लो मुस्ताङमा शुक्रबार बिहान परेको हिमपातले जोमसोम–कोरला सडक हिउँले ढाकिएको छ। सडकमा बाक्लो हिउँ परेपछि उपल्लो मुस्ताङको यातायात सेवासमेत अवरुद्ध भएको उपल्लो मुस्ताङ यातायात व्यवसायी समितिका अध्यक्ष देव लोहाले जानकारी दिए। हिउँ परेसँगै २ महिनाका लागि समितिले सार्वजनिक यातायात सेवा स्थगित गर्नुपरेको अध्यक्ष लोहाले उल्लेख गरे। तल्लो मुस्ताङमा समेत हिमपात दिनभर जारी रहे यातायात सेवा प्रभावित बन्ने देखिएको छ।
गत वर्ष परेको असन्तुलित हिमपातले उपल्लो मुस्ताङमा सयौंको संख्यामा याक चौरी ,भेडा च्याङ्ग्रा र घोडा खच्चड मरेको एक्याप लोमान्थाङले जनायो। केही दिन हिउँ परे स्की खेल्ने पर्यटक र हिउँमा रमाउने पर्यटक वृद्धि हुने मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए। उनले गत वर्षको माघमा स्की खेल पर्यटक विस्तारका लागि स्की खेल आयोजना गरेको जानकारी दिए।