भक्तपुरमा प्रहरी परिवार आवास बन्ने
भक्तपुर : समुदाय प्रहरी साझेदारीअन्तर्गत मध्यपुर थिमी नगरपालिका-६ स्थित कुन्डोलमा प्रहरी परिवार आवास भवन भन्ने भएको छ। महानगरीय प्रहरी वृत्त ठिमीअन्तर्गत सञ्चालन हुने उक्त भवनमा पहिलो चरणमा १० घरपरिवारले आवास पाउनेछन्।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले उक्त आवासगृह समुदाय प्रहरी साझेदारीअन्तर्गत बन्ने देशकै पहिलो भएको दाबी गरे। उक्त आवास प्रहरी संगठनका हवल्दार तथा सिपाहीका परिवारका लागि बनाउन लागिएको उनले बताए।
उनका अनुसार उक्त आवासमा एक परिवारलाई एउटा कोठा र अर्को भान्छा गरी दुइटा कोठा उपलब्ध गराइनेछ। त्यस्तै, उक्त आवासमा करिब ८० जना क्षमताको मनोरञ्जन एवं बैठक कक्ष र एउटा बालमैत्री कोठा हुनेछ।
प्रहरी संगठनमा उच्चपदस्थ अधिकृतहरूका लागि प्रहरी संगठनकै आवासको व्यवस्था छ तर तल्लो तहका कर्मचारीलाई आवास सुविधा नहँुदा भाडामा बस्न बाध्य छन्। ‘तल्लो तहका प्रहरी कर्मचारीको समस्या निराकरण गर्न समुदाय प्रहरी साझेदारीअन्तर्गत प्रहरी परिवार आवास भवन बनाउन लागेका हौं’, प्रहरी नायब उपरीक्षक कोइरालाले भने, ‘प्रहरीकै आवासमा बस्न घर भाडाको रकम छोराछोरीको शिक्षा तथा स्वास्थ्य एवं जीविकोपार्जनमा खर्च गर्न पाइन्छ। यसले गर्दा उनीहरूले उच्च मनोबलका साथ काम गर्ने विश्वास लिएका छौं।’
उनले उक्त आवासलाई २५ प्रहरी परिवार क्षमतासम्मको पुर्याउने जानकारी दिए।
‘प्रहरी संगठनकै लागि यो नयाँ सोच हो’, प्रहरी नायब उपरीक्षक कोइरालाले थपे, ‘त्यसैले नमुना योजनाका रूपमा पहिलो चरणमा १० प्रहरी परिवारका लागि आवास निर्माण गर्छौं।’ उक्त प्रहरी परिवार आवास निर्माणका लागि मध्यपुर थिमी नगरले करिब आठ आना जग्गासँगै १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ।
मध्यपुर थिमी नगरपालिका-६ कुन्डोलस्थित करिब ७ रोपनी पर्ती जग्गामध्ये प्रहरी परिवार आवासका लागि करिब ८ आना जग्गा उपलब्ध गराइने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। उनले बिहीबार एक कार्यक्रमबीच उक्त प्रहरी परिवार आवासको जग शिलान्याससमेत गरेका छन्।
नगर प्रमुख श्रेष्ठले आवास गृहका लागि विनियोजित रकम नपुग भए थप उपलब्ध गराइने आश्वासन दिए। नगरपालिकाले स्थानीय दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा प्रहरी परिवार आवास निर्माण उपभोक्ता समिति बनाएको छ। उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले ५ महिनाभित्र उक्त आवास निर्माण सम्पन्न गर्ने जानकारी दिए। नमुना योजना भएकाले समयमै उक्त भवन निर्माण पूरा गर्न समुदाय क्रियाशील हुने उनले बताए।