'भीमसेन' मन्दिर बनाउन ललितपुर महानगरको एक करोड सहयोग
!['भीमसेन' मन्दिर बनाउन ललितपुर महानगरको एक करोड सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/patan-mahanagar-cover_20191213085838_XK4nWzMUcf.jpg)
ललितपुर : पाटन दरवार स्क्वायरको भीमसेन मन्दिर बनाउन ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । 'भीमसेन मनिदर पुनर्निर्माण सरोकार समिति'का अध्यक्ष तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कृष्णलाल महर्जनले चेक ग्रहण गरेका हुन् ।
सरोकारवाला निकायका प्रतिनिधिहरु उपस्थित भएको एक समारोहबीच चेक हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भीमसेन मन्दिर बनाउन सरकारबाट सहयोग नलिएको बताए ।
‘नेपाल सरकारबाट दुई रुपैयाँ पनि लिएनौँ’, उनले भने, ‘सरकारको पैसा लिँदा सार्वजनिक खरिद ऐन अन्तर्गत मन्दिर ठेकेदारको हातमा पर्छ ।’
ठेक्कामा लागिसकेपछि मोबिलाइजेसन खर्चबापत पूर्ण लागतको करिब २० प्रतिशत लिएर ठेकेदार हराउने गरेको आरोप उनले लगाए । ललितपुरमा भूकम्पले तहसनहस भएका जगतनारायण, राधाकृष्ण, कृष्ण मन्दिर तथा रातो मच्छिन्द्रनाथको मन्दिर ठेकेदारले लथालिङ बनाएको पनि उनले बताए।
'भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति'का अध्यक्ष कृष्णलाल महर्जनका अनुसार काम थालेको दुईवर्षभित्रमा काम सम्पन्न भइसक्नेछ । मन्दिरको सुनको छाना बाहेक चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको छ ।
ललितपुर उद्योग वाणिज्य संघले केही महिना पहिला 'वाकाथन' कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आठ लाख ७६ हजा उठेको थियो । हालसम्म एक करोड ६३ लाख रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए ।
महानगरका प्रमुख महर्जनका अनुसार भीमसेन मन्दिर पाटनका व्यापारी समुदायका लागि सबैभन्दा महत्वपूर्ण मन्दिर हो । प्रत्येक चाडबाडमा भीमसेनको महत्त्व धेरै हुन्छ । भीमसेन मन्दिर निर्माणका लागि पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण लगायतबाट अनुमती लिइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)