पिकनिक जाँदै गरेको बस पल्टियो
भक्तपुर : पिकनिकको लागि विद्यार्थी बोकेर आएको बस शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका ८ घ्याम्पे डाँडामा पल्टिएको छ। काठमाडौंस्थित मदन भण्डारी मेमोरियल कजेलका विद्यार्थीहरु बोकेको बा ५ ख ४२८६ नम्बरको बसमा आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ब्रेक फेल भएर बस सडकको बायाँतर्फको ढिस्को चढ्न पुगी सडकमै पल्टिएको हो। बस सडकमा पल्टिएपछि त्यसमा सवारमध्ये २८ विद्यार्थी घाइते भएको परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
घाइतेहरुलाई तत्काल भक्तपुर अस्पताल र डा. इवामुरा मेमोरियल अस्पताल लगिएको उनले सुनाए। घटना हुँदा प्रहरी उपरीक्षक प्रधानसमेत घ्याम्पे डाँडास्थित एक कार्यक्रममा सहभागी हुँदै थिए। जसले गर्दा घटना भएलगत्तै सुरक्षाकर्मीहरुले उद्धार गरी अस्पताल पुर्याएका थिए।
प्रहरी उपरीक्षक प्रधानले घाइतेमध्ये दुई जनालाई थप उपचारको लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको जानकारी दिए। गुल्मी घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्ने २१ वर्षीया अस्मिता भण्डारी र झापाको चन्द्रगढी घर भई काठमाडौंको गोठाटार बस्ने १८ वर्षीया निकिता चौलागाईंलाई न्यूरो अस्पताल रिफर गरिएको हो। बाँकी सम्पूर्ण घाइते विद्यार्थीहरुलाई उपचारपछि रिफर गरिएको प्रहरी उपरीक्षक प्रधानले बताए।
‘अस्मिता र निकिताको स्वास्थ्य अवस्था पनि खतराजनक छैन’, उनले भने, ‘टाउकोमा केही चोटपटक भएको हुनाले त्यसको यकिन गर्न न्यूरो अस्पताल रिफर गरेका हौं।’
उनले बसको ब्रेक फेल भएर दुर्घटना भएको भनिए पनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले बसका चालक रामेछापको सालुदेउराली गाउँपालिका ६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३८ वर्षीय केशव खड्कालाई नियन्त्रणमा लिएको छ। उनलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ।
भक्तपुर प्रहरीका अनुसार पिकनिक मनाउन सूर्यविनायकको घ्याम्पे डाँडा पुगेका कलेजका ११ वटा बसमध्ये एउटा पल्टिएको हो।