कांग्रेसको गुटगत बैठक, देउवा बुढानिलकण्ठमा, पौडेल चाक्सीबारीमा

कांग्रेसको गुटगत बैठक, देउवा बुढानिलकण्ठमा, पौडेल चाक्सीबारीमा

काठमाडौं : बिहीबार असन्तुष्ट समूहको बहिस्कारका बाबजुत सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवाद थप चर्किएको छ। संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबार गुटगत बैठकमा व्यस्त भए।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो उनीनिकट नेताको अनौपचारिक बैठक बसेको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साँझ बसेको थियो। 

१४ औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मागका बारेमा संस्थापन पक्षीय नेताबीच छलफल भएको थियो। बिहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशको विषय प्रस्तावमा रुपमा पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको थियो। देउवा समूहले भने संघीयता अनुसार पार्टीको अन्तरिम संरचना निर्माण सम्पन्न भइनसकेकाले महाधिवेशनको मिति घोषणा सम्भव नभएको स्पष्ट पारेको छ।

शुक्रबारको गुट भेलामा सभापति देउवाले आइतबार बस्ने केन्द्रीय समिति बैठक अघि सहमतिको प्रयास गर्ने तर सहमतिका नाममा अब पर्खेर नबस्ने गुटका नेतालाई बताएका थिए। ‘सहमतिमै पार्टीका निर्णय गर्ने पक्षमा सभापति हुनुहुन्छ, अझै समय छ, सहमतिका लागि प्रयास हुन्छ,’ बैठकमा सहभागी सभापति देउवा निकट एक नेताले अन्नपूर्णसँग भने, ‘तर सहमतिका नाममा समय घर्किन नदिने मनसायमा उहाँ हुनुहुन्छ। केन्द्रीय समितिमा पेश भएको प्रस्ताव अनुसार संख्या बढाएर विभाग गठन चाँडै हुन्छन्।’

२८ वटा विभाग रहेको कांग्रेसमा संख्या बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ। त्यस्तै तरुण दलको समयावधि ६ महिना थप गर्ने र नेविसंघ तत्काल गठन गर्ने देउवाले बताएका छन्। ‘तत्काल विभाग र नेविसंघ गठन हुन्छन्, यसमा पौडेलजीसँग छलफल गरेर सहमतिको प्रयास हुन्छ,’ ति नेताले अन्नपूर्णसँग भने, ‘फागुनअघि औपचारिक कार्यकाल सकिँदैछ, त्यसअघि यी सबै काम टुंगो लगाइन्छ। सहमति नभए प्रक्रियाबाटै टुंगो लाग्छ।’ 

कांग्रेस केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। कांग्रेसको महाधिवेशन अर्काे वर्ष फागुनसम्म सर्ने निश्चित छ। देउवा फागुनअघि नै पार्टीका सबै सांगठानिक संरचनालाई पूर्णता दिएपछि मात्र आगामी महाधिवेशनको मिति घोषणा गर्ने तयारीमा छन्।

पौडेल समूह भने विभाग संख्या बढाउने प्रस्तावप्रति पनि असन्तुष्ट छ। कार्यकाल सकिन तीन महिनामात्र बाँकी समय रहेका बेला विभाग संख्या बढाउने र गठन गर्ने कुरा सान्दर्भिक नभएको पौडेल समूहको भनाइ छ। त्यस्तै तरुण दलको कार्यकाल सकिएकाले समयावधि थप गर्ने प्रस्तावको विपक्षमा पौडेल छन्। उनले नेविसंघ र तरुण दल मध्ये एकको नेतृत्व आफ्नो समूहले पाउनुपर्ने अडानमा छन्। तर संस्थापन पक्ष भने नेविसंघको नेतृत्व आफूसँग राखेर तरुण दलको समयावधि ६ महिना थप्ने पक्षमा छ।

पौडेल समूह भने पूर्ववत अडानमा कायम देखिएको छ। साँझ चाक्सीबारीमा बसेको पौडेल समूहका बैठकले महाधिवेशनको एजेण्डा केन्द्रीय समिति बैठकमा पेश नभए आगामी बैठक पनि बहिस्कार गर्ने निर्णय गरेको छ। 

‘हाम्रो अडान यथावत् छ, केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको एजेण्डा पेश नभए हामी फेरि बैठक बहिस्कार गर्छौँ’, पौडेल पक्षीय केन्द्रीय सदस्य चन्द्र भण्डारीले अन्नपूर्णसँग भने, ‘महाधिवेशन नै प्रमुख एजेण्डा बन्नुपर्छ। पार्टीको हीतका लागि महाधिवेशनको विकल्प छैन।’ 

विभाग संख्या बढाउने र कार्यकालको अन्तिममा आफू निकट नेताको व्यवस्थापनका लागि विभाग गठन गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनले बताए। पौडेल निकट अर्का नेता बद्री प्रसाद पाण्डेले महाधिवेशनको एजेण्डा सम्बोधन नभए आइतबारको बैठक पनि बहिस्कार गर्ने बताए। 

सांगठानिक संरचना समायोजनको विषय धेरै विवादित नभएकाले पार्टीले महाधिवेनको मिति तत्काल तोक्नुपर्ने उनीहरुको माग छ। तर संगठन समायोजनको जिम्मा पाएको पार्टीको केन्द्रीय निर्वाचन समितिले भने अहिलेसम्म १४ जिल्लाको मात्र प्रतिवेदन केन्द्रमा आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.