तस्बिरमा माैसम खुलेपछिको मुस्ताङ
जोमसोम : शुक्रबार दिनभरको हिमपातले हिमाली जिल्ला मुस्ताङका पहाडहरु हिउँले सेताम्मे बनेको छ। शनिबार बिहान उत्तरी हावा चलेपनि सुर्योदयसँगै मुस्ताङका तल्लोक्षेत्र थासाङ गाउँपालिकादेखि अप्पर मुस्ताङका डाँडाकाँडा सेताम्मे टल्किएका हुन्।
सुर्योदयको घमाईलो मौसमले वातावरण रमाईलो बनाएको छ। मुस्ताङ आएका पर्यटकहरु हिउँ खेल्न र फोटो खिच्नका लागि आसपासका डााडाकाँडातर्फ लागेका छन्। मुक्तिनाथ दर्शनका लागि भनेर आएपनि हिउँले खेल्ने अवसरले उत्साहित बनाएको चितवनका रमेश कार्कीले सुनाए। पर्यटक हिउँ खेल्ने उद्देश्यले जोमसोमदेखि माथिको ठिनी पाखो र कागबेनी माथि पुगेका छन्।
उपल्लो मुस्ताङमा बाक्लो हिउँ परेको थियो भने तल्लोक्षेत्रमा पनि २ इञ्च बढी हिउँ परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। हिउँले जनजिवन कष्टकर बनेको छ।
मुस्ताङका अधिकांश माटोले छाइएका पुराना घरहरुमा हिउँ थुप्रिएको छ भने उपल्लो मुस्ताङमा हिउँनै जमेर बरफ बनेको छ। हिउँ परेसँगै अत्यधिक मात्रामा जाडो बढेको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बताए। हिमपातले चराङ, लोमान्थाङ, घमी र समरका शाखा खोलाहरु बरफ जस्तै जमेको सांसद विष्टको भनाई छ। यसअघि उपल्लो मुस्ताङमा कार्तिकमा आशिंक हिउँ परेको थियो। प्रतिकुल मौसमका कारण मुस्ताङमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।