रक्सी बनाउने जाँडमा फोहर कपडा
जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा रक्सी बनाउने जाँडमा फोहर कपडा प्रयोग गरेको भेटिएको छ। स्थानीय टोलसुधार समिति र प्रहरीले छापा मार्दा रक्सी बनाउन राखिएको जाँडमा फोहर कपडा राख्ने गरेको तथ्य खुलेको हो।
जाँडमा महिनावारीको बेला प्रयोग गरिएका प्याड, पेन्टी लगायतका फोहोर कपडा भेटिएको प्रहरीले बताएको छ। फोहर कपडा हालिएको डेढ सय लिटर मदिराजन्य पदार्थ जाँड बरामदपछि नष्ट गरिएको प्रहरीले जानकारी दियो।
भेरी नगरपालिका-३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन्। सिद्धिगणेश टोल विकास समिति गठन गरेर उनीहरूले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन्। जाँड-रक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए। स्थानीय प्रशासनबाट अनुमति लिएर अभियान थालेका उनीहरूले सामुदायिक प्रहरीको सहकार्यमा जाँड-रक्सी नियन्त्रण गर्न लागेका हुन्।
टोलविकास समितिले एक हप्ताअघि नै मदिरा उत्पादन र बिक्री नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। टोलविकास समिति र प्रहरीको सहकार्यमा छापा मार्दा ४ ठाँउमा रक्सी बनाउने जाँड फेला परेको हो। उक्त जाँड बरामद गरी नष्ट गर्ने क्रममा फोहर कपडा भेटिएको अध्यक्ष शाहले बताए। मानव स्वास्थ्यलाई असर गर्ने मदिराजन्य पदार्थ स्थानीयको रोहवरमा नष्ट गरिएको शाहले जानकारी दिए।
यसअघि पनि ५ ठाँउमा जाँड फेला पारेर सचेत गराइएको थियो। जाँड-रक्सी उत्पादन गर्नेलाई १० हजार र खानेलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको टोलविकास समितिकी सचिव गीता सिंहले बताइन्।