महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पौडेलको अडान यथावत्

महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पौडेलको अडान यथावत्

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडान यथावत् राखेका छन्। सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलमा नेता पौडेलले महाधिवेशन आफ्नो प्रमुख एजेन्डा भएकाले अन्य विषय प्राथमिकतामा नभएको जबाफ दिएका हुन्। महाधिवेशन कार्यतालिका नल्याए आफू केन्द्रीय समिति बैठकमै सहभागी नहुने उनको भनाइ छ।

सभापति देउवाले महाधिवेशन कार्यतालिका ल्याउन आफू तयार रहे पनि त्यसअघि केन्द्रीय समितिमा पेस भएका प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए। सभापति देउवा शनिबार बिहान उपसभापति विमलेन्द्र निधिका साथ वरिष्ठ नेता पौडेल निवास बोहोराटार पुगेका थिए।

‘सभापतिले तत्काल कार्यतालिका ल्याउन मलाई अलि गाह्रो छ। अहिले विभागको संख्या बढाएर यसलाई पूर्णता दिन, नेविसंघको नेतृत्व चयन र तरुण दल गठनमा मलाई सहयोग गर्नुस् भन्नभयो,’ देउवालाई उद्धृत गर्दै पौडेल पक्षका केन्द्रीय सदस्य हृदयराम थानीले अन्नपूर्णसँग भने, ‘तर रामचन्द्र दाइले कार्यतालिका नल्याएसम्म म बैठकमा सहभागी हुन्नँ भन्नुभयो।’ शीर्ष नेताको बैठकमा पौडेलतर्फबाट केन्द्रीय सदस्य थानी पनि सहभागी थिए। बिहीबारको केन्द्रीय समिति बैठकमा विभाग संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने, तरुण दलको समयावधि थपलगायत नौवटा प्रस्ताव पेस भएका थिए। पौडेलले महाधिवेशन आफ्नो प्रमुख एजेन्डा भएकाले विभाग गठन र भ्रातृ संस्थाबारे छलफल गर्न सकिने बताएका थिए।

यसअघि पौडेलले केन्द्रीय कार्यसमितिको कार्यकाल सकिन तीन महिना बाँकी रहेका बेला विभाग गठनको औचित्य नरहेको भन्दै विरोध जनाउँदै आएका थिए। शुक्रबार पनि दुवै समूहका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको थियो।

कार्यतालिकामा सकारात्मक

दुई शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन भएपछि सहमतिका लागि उनीहरुले वार्ता समिति गठन गरेका थिए। देउवाले आफ्ना तर्फबाट निधिलाई जिम्मेवारी दिएका थिए भने पौडेलले नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु र अर्का सदस्य थानीलाई सहमति जुटाउने जिम्मेवारी दिएका थिए। वार्ता समितिबीच सिंह निवास चाक्सीबारीमा झन्डै तीन घण्टा भएको छलफल निष्कषमा पुग्न नसकेको नेताहरुले बताएका छन्। पौडेल पक्षधर वार्ता समिति सदस्यहरुले महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा बनाएपछि शीर्ष तहमा फेरि छलफल गर्ने गरी बैठक टुंगिएको नेता बडुले बताए।

‘छलफल सकारात्मक भइरहेको छ। सहमतिमै जानुपर्छ भन्नेमा हामी एकमत छौं। महाधिवेशनको कार्यतालिका जरुरी छ भनेर हामीले भन्यौं। पहिलो र प्रमुख एजेन्डा महाधिवेशन हो,’ बैठकपछि नेता बडुले भने, ‘सहमतिमै कार्यतालिका बनाएर ल्याऔं। बाकी विभाग, भ्रातृसंस्थालाई पनि टुंगोमा पुयाउन कुनै गाह्रो छैन भन्ने हाम्रो धारणा राख्यौं।’

संविधानअनुसार पार्टीको अन्तरिम संरचना समायोजनपछि मात्र महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापन पक्षले बताउँदै आएको छ। तर पौडेल पक्षले बैठक बहिष्कार गर्ने चेतावनीपछि संस्थापन पक्ष केही लचक देखिएको बैठकमा सहभागी अर्का एक नेताले बताए। उनले भने, ‘कार्यतालिका कसरी ल्याउने भन्नेमा पनि छलफल भएको छ। हामीले सहमतिमा एउटा खाका बनाएर केन्द्रीय समितिबाट पारित गरौं। त्यसलाई निर्वाचन समितिसँगको परामर्शपछि टुंगो लगाउन सकिन्छ।’

नेता निधिले कार्यतालिकाबारे पार्टी सभापतिसँगको परामर्शपछि जबाफ दिने बताएका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वार्ता समितिबीचको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। उनले भने, ‘बैठक सकारात्क रूपमा टुंगिएको छ। आइतबार केन्द्रीय समिति बैठक पूर्वनिर्धारित समयमै बस्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.