कांग्रेसमा विवाद : पेलेरै जाने तयारीमा देउवा

कांग्रेसमा विवाद : पेलेरै जाने तयारीमा देउवा

काठमाडौं : कांग्रेसको आन्तरिक विवाद चुलिँदै गएको छ। तीन दिनदेखि लगातार वार्ता भए पनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा ‘बहुमत’बाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा बनाएको छ। उक्त समूह आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएन। वरिष्ठ नेता पौडेल भने काठमाडौंबाहिर छन्। महाधिवेशन कार्यतालिका समावेश नगरेको भन्दै पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेको थियो। कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडानमा यो समूह छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिका लागि अधिकतम प्रयास भइरहे पनि लामो समय पर्खिन नसकिने संकेत गरे। ‘सहमतिका लागि छलफल भइरहेको छ’, प्रवक्ता शर्माले भने, ‘तर, सहमति नै नहुने अवस्थामा प्रक्रिया अगाडि बढ्छ।’ अर्को बैठक सोमबार बस्दै छ। यो बैठकमा पौडेल समूह सहभागी नभए सभापति देउवा पेलेरै निर्णय लिने तयारीमा छन्।

महाधिवेशन गराउन आफू तयार भए पनि पौडेल समूहले महाधिवेशनविरोधीका रूपमा प्रचार गर्न खोजेको देउवाको बुझाइ छ। ‘सभापतिले महाधिवेशन गराउन चाहेन भनेर भ्रम फैलाउने काम भइरहेको छ। विभाग गठनदेखि भ्रातृसंस्था भद्रगोल बनायो भनेर चुनावी एजेन्डा बनाउने रणनीतिअनुसार अहिले काम भइरहेको छ’, सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘महाधिवेशन गराउन सभापति तयार हुनुहुन्छ। महाधिवेशनको कार्यतालिका आउनुअघि पार्टीका सबै सांगठनिक संरचनाले पूर्णता पाउनुपर्छ।’

आइतबार दिउँसो १ बजे बोलाइएको बैठक ३ बजेपछि मात्र सुरु भएको थियो। प्रस्तावमा प्रवेशै नगरी बैठक एक घण्टामा टुंगिएको थियो। बैठकमा नरहरि आचार्य सहभागी थिए। विभाग संख्या बढाउने, भ्रातृसंस्थाको विधान, तरुण दलको समयावधि ६ महिना थप गर्नेलगायत नौवटा प्रस्ताव पेस भएका छन्।

क्रियाशील सदस्यता विवाददेखि पार्टीको अन्तरिम संरचना समायोजनको काम नसकिएकाले पौडेल समूहको मागअनुसार कार्यतालिका तत्काल नआउने देउवा पक्षले जनाएको छ। ‘महाधिवेशन कार्यतालिका ल्याउने कुरामा आपत्ति छैन। यसमा सैद्धान्तिक सहमति छ। संगठन समायोजनको काम भइरहेको छ। समायोजन सकिएपछि कार्यतालिका आउँछ’, केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘सभापतिज्यू महाधिवेशन गर्न तयार नभएको भन्ने अनावश्यक प्रचार गर्न खोजिएको छ। यो जायज होइन।’

विभाग संख्या बढाउने, तरुण दलको समयावधि थप गर्ने एजेन्डामा विवाद नभई प्रक्रिया अगाडि बढ्न नदिने नियतले पौडेल समूहले बैठक बहिष्कार गरेको देउवा समूहको बुझाइ छ। आइतबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग भएका बैठकबारे जानकारी गराएका थिए।

पौडेल समूह मनाउन संस्थापन पक्ष क्रियाशील छ। शुक्रबार आआफ्नो गुटमा रणनीति बनाउन व्यस्त दुवै समूहबीच शनिबार र आइतबार छलफल भएको थियो। सभापति देउवा शनिबार बिहान वरिष्ठ नेता पौडेल निवास पुगेका थिए। उपसभापति निधिसहित पौडेल निवास पुगेका देउवाले केन्द्रीय कार्यसमितिमा पेस भएका प्रस्तावमा साथ दिन आग्रह गरेका थिए। पौडेलले अडान नछाड्दा शीर्ष तहमा सहमति हुन सकेन।

दुवै समूहले सहमतिका लागि गठन गरेको वार्ता समितिबीच शनिबार साँझ तीन घण्टा छलफल भएको थियो। दुवै पक्ष आआफ्नै अडानमा रहेका थिए। निधिले आइतबार बिहान महामन्त्री डा.शशांक कोइरालालाई भेटेर सहमतिको प्रयास गरेका थिए। निधिसँगको भेटलगत्तै महामन्त्री कोइराला र नेता प्रकाशमान सिंहबीच महाधिवेशनको एजेन्डा नआएसम्म बैठकमा सहभागी नहुने सहमति भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.