सुन्तला किन्न व्यापारी बगानमै पुगेपछि किसान मख्ख
फिदिम : मिक्लाजुङ गाउँपालिका-५ कुरुम्बाकी इन्द्रकुमारी लावतीले सुन्तला बेचेर आर्थिक स्थिति बलियो बनाएकी छिन्। उनले २० रोपनी जमिनमा करिब पाँच सय बोट सुन्तला खेती गरेकी छिन्।
‘यो साल पाँच लाख रुपैयाँ समाए,’ १५ वर्षदेखि सुन्तला खेती गरेकी इन्द्रकुमारीले भनिन् ‘पोहोर साल झनै राम्रो फलेको थियो, राम्रो कमाई भएको थियो।’ यो वर्ष सुन्तलामा फल पातलो लागेकाले अघिल्लो वर्षभन्दा कम आम्दानी भएको उनले सुनाइन्। उनले अहिलेसम्म सुन्तलाबाटै करोडौं रुपैयाँ कमाएको बताउँछिन् । ‘सुन्तला राम्रो फलेको एकै सालमा १० लाख रुपैँयासम्म हात पारेको छु,’ उनले भनिन् ‘मौसमले साथ नदिएको साल सुन्तला कम फल्छ। तर, पाँच लाखभन्दा धेरैनै आम्दानी लिएको छु।’
१५ रोपनी जग्गामा सुन्तला खेती गरेका कुरुम्बाकै अर्का किसान तेजबहादुर लावतीले राम्रो आम्दानी हुने गरेको बताए। ‘यो वर्ष आम्दानीमा वृद्धि भएको छ,’ तेजबहादुरले भने ‘बगानमा उत्पादन भएको सुन्तलाले राम्रो मुल्य पाएकाले आम्दानीमा वृद्धि भएको हो।’ उनले छ सय बोटमा फलेको सुन्तला बेचेर छ लाख हात पारेका हुन्। ‘अघिल्लो वर्ष भन्दा यो वर्ष आम्दानी बढेको हो,’ तेजबहादुरले भने ‘नयाँ बगानमा यो वर्ष राम्रो फल लागेको छ।’
बगानमै पुग्छन् व्यापारी
यहाँ उत्पादन भएको सुन्तला खरिदका लागि व्यापारीहरु बगानमै पुग्छन्। बगानमै व्यापारी पुगेपछि सुन्तला बिक्रि नहोला भन्ने चिन्ता किसानलाई छैन्। सुन्तला पाकेपछि व्यापारीले गाउँभरीको सुन्तला बगानै नै खरिद गर्ने गरेका छन्। व्यापारीले नै सुन्तला टिप्ने र बजारसम्म लगेर बिक्रि गर्ने गर्छन्। पछिल्लो समयमा सुन्तलाको उत्पादनमा कमी पाएपनि मूल्य भने राम्रो पाएको किसानहरु बताउँछन्। ‘व्यापारीले राम्रो मूल्यमा सुन्तला खरिद गरेकाले किसानको आम्दानी बढेको छ,’ इन्द्रकुमारीले भनिन्।
मौसम परिवर्तनका कारण तल्लो क्षेत्रमा सुन्तला कम उत्पादन हुन थालेको छ। विगतमा सुन्तला उत्पादननै नहुने माथिल्लो क्षेत्रमा विस्तार गरिएको सुन्तला बगानमा भने यो साल राम्ररी सुुन्तला फलेको किसानहरु बताउँछन्। कुरुम्बाको माथिल्लो क्षेत्रमा राम्ररी सुन्तला उत्पादन हुन थालेको वडाध्यक्ष अविशन लावतीले बताए। ‘पुरानो बगानमा सुन्तला उत्पादन कम भए पनि नयाँ बगानमा राम्रो फल लागेको छ,’ अविशनले भने ‘मौसमले साथ दिए आगामी वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान छ।’
कुरुम्बाका दुई सय ५० घर कृषकहरु सुन्तला खेतीमा व्यवसायीक बनेका छन्। तथ्यांक अनुसार कुरुम्बामा मात्रै ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायीक खेती गरिएको छ। सुन्तला विक्रि गरे यो वर्ष मात्रै यहाँका किसानले दुई करोडको हाराहारीमा आम्दानी गरेका छन्।