‘कन्सर्ट’को रकमले एम्बुलेन्स
पथलैया : बाराको पथलैयामा सांगितिक कार्यक्रम (कन्सर्ट) कार्यक्रमबाट आम्दानी भएको पैसाले एम्बुलेन्स खरिद गरिएको छ। गतवर्ष पथलैयामा आयोजना भएको सांगितिक कार्यक्रमबाट उठेको पैसाबाट गाउँमा एम्बुलेन्स खरिद गरेका हुन्।
करिब १७ लाख मूल्यमा खरिद गरिएको छ। एम्बुलेन्सको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सांगितिक कार्यक्रम गरेर एम्बुलेन्स खरिद गर्न युवाले देखाएको सक्रियताको प्रशंसा गरे। ‘सांगितिक कार्यक्रमबाट मानविय कार्यमा टेवा पुर्याउने काम युवाबाट भएको छ, यो अत्यन्तै प्रशंसनीय छ’ नगर प्रमुख डा. पौडेलले भने ‘सामाजिक विकास र रुपान्तरणमा युवाको भूमिका अहम हुन्छ भन्ने उदाहरण पनि यसले दिएको छ।’
पौडेलले एम्बुलेन्स खरिद र सञ्चालनका लागि उपमहानगरपालिकाको कार्यालयले पाँच लाख रकम उपलब्ध गराउने घोषणासमेत गरे। शहरी चाप र व्यस्त राजमार्गका कारण हुने दुर्घटनाका घाइतेलाई तत्काल अस्पताल पुर्याउन एम्बुलेन्सको अभाव खड्किएपछि पथलैया युवा समाजका युवाले सांगितिक कार्यक्रमबाट एम्बुलेन्स खरिद गरेको थियो।
२०७५ भदौ १७ गतेको कन्सर्टलाई युवाले मानविय कार्यमा समर्पित गरे। मानविय उदेश्यसहित आयोजित कन्सर्टमा स्थानीयस्तरबाट पनि राम्रै सहयोग जुटेको थियो। एम्बुलेन्स सञ्चालनका लागि प्रदेशसभा सदस्य शोभा लामाले तीन लाख, सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ताले स्वर्गिय आमाको स्मृतिमा एक लाख ५० हजार सहयोग उपलब्ध गराए। सबैको सहयोगबाट उत्साहित युवाले १८ लाख रकम जुटाए।
‘मानविय उदेश्य लिएपनि यसलाई सहजै सफल गर्न सकिन्छ भन्ने लागेको थिएन्। तर हामीलाई सबैले साथ दिनुभयो’ पथलैया युवा समाजका अध्यक्ष सुरेश लामाले भने ‘असम्भव केही छैन् भन्ने लागेको छ। पथलैयासँगै राजमार्गमा र वरपरका वस्तीमा सेवा दिन सकिने एम्बुलेन्सलाई नियमित सञ्चालन गर्न कोष स्थापना गरेर अघि बढ्ने योजना रहेको लामाले बताए।
जीतपुरसिमरा उपमहानगरपालिका-१ का वडाअध्यक्ष हिराबहादुर गुरुङले पथलैयाका युवाले देखाएको सक्रियतालाई सबैले अनुशरण गर्नुपर्ने बताए। उक्त सांगितिक कार्यक्रमका संयोजक कृष्ण ढुंगेलले ठुलो चुनौतीकाबीच सफलता प्राप्त भएको बताए। ‘बिरामी वा घाइतेलाई अस्पताल लैजान पनि बाहिरबाट एम्बुलेन्स बोलाउनुपर्थ्यो , समयमै एम्बुलेन्स नआउँदा ज्यान नै जाने गरेको थियो’ स्थानीय राजकुमार लामाले भने ‘अब भने त्यस्ता बिरामी वा घाइतेको तुरुन्तै उद्धार गर्न सकिने अवस्था बनेको छ।’