६ वर्ष गुज्रियो तर हस्तान्तरण भएन स्वास्थ्य चौकी भवन
भक्तपुर : भवन बनेको ६ भयो तर चाँगुनारायण नगरपालिका-१स्थित दुवाकोट स्वास्थ्य चौकीले यो भवन प्रयोग गर्न पाएको छैन। ६ वर्षअघि नै हस्तान्तरण हुनुपर्ने भवन प्रयोगमा नआउँदै पुरानो देखिन थालेको छ।
शहरी विकास तथा भवन निर्माण विभागले साह इञ्जिनियरिङ कन्स्ट्रक्सन प्रालिलाई २०७० असारभित्र सम्पन्न गर्ने गरी उक्त भवनको ठेक्का दिएको थियो। विभागले कन्स्ट्रक्सनसँग एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १ करोड २० लाख रुपैयाँमा सम्झौता गरेको थियो। नयाँ भवन हस्तान्तरण नभएपछि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने स्वास्थ्य चौकीको लक्ष्य पूरा हुन सकेको छैन।
घाँसपात उम्रिएका कारण अहिले भवन परिसर खण्डहरजस्तै देखिन्छ। ठाउँठाउँमा रंग उडेर भवन फुङ बनेको छ। सरकारले उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरेपछि ०६९ साल साउनमा दुवाकोट स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सुरु गरिएको थियो।
सम्झौता अवधिमा भवन निर्माण पूरा नभएपछि विभागले २०७३ को मंसिरसम्म म्याद थप गरेको थियो। तर, मंसिरभित्र पनि उक्त भवन पूरा भएन। त्यसपछि विभागले निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्ने भनेपछि ठेकेदारले पुनः काम सुरु गरेकै तीन वर्ष बितिसक्यो तर भवन हस्तान्तरण हुन सकेको छैन।
विभागमा वरिष्ठ डिभिजन इञ्जिनियर मचाकाजी महर्जनले भवन निर्माण भने पूरा भइसकेको जानकारी दिए। तर, निर्माण व्यवसायीले सम्झौताभन्दा बढी रकमको विल पेश गरेकाले विभागबाट स्वीकृत हुन नसकेको उनले सुनाए।
इञ्जिनियर महर्जनले यसअघि जे जस्तो भए पनि निर्माण पूरा भएको उक्त भवन छिटोभन्दा छिटो स्थानीय तहलाई हस्तान्तरण गरिने बताए। ‘ठेकेदारले विभागमा बढी रकमको बिल पेस गरेकाले स्वीकृत हुन नसकेको देखिन्छ’, उनले भने,‘अब समय धेरै नभएकाले हिसाब मिलाएर चाँडै भवन हस्तान्तरण गर्छौं।’
उनले काठमाडौं उपत्यकामा आधा दर्जनभन्दा बढी स्वास्थ्य चौकी विविध समस्या हस्तान्तरण हुन नसकेकोसमेत जानकारी दिए। विभागले तीन वर्षअघि नै ५ प्रतिशतमात्रै काम बाँकी भएकाले पूरा गरेर हस्तान्तरण हुने बताएको थियो। तर, अहिलेसम्म हुन नसकेकोले चाँडै भवन हस्तान्तरण हुनेमा दुवाकोट स्वास्थ्य चौकीका प्रमुख ज्ञानेन्द्रप्रसाद जोशी विश्वस्त छैनन्।
नयाँ भवन हस्तान्तरण नहुँदा पुरानो साँघुरो भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य भएको उनले सुनाए। साविक दुवाकोट गाविस ६स्थित स्वास्थ्य चौकी भवन साँघुरो भएपछि ३ वडास्थित पर्ति जग्गामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको थियो।
१६ रोपनी पर्ति जग्गामध्ये स्वास्थ्य चौकीलाई दुई रोपनी क्षेत्रफल उपलब्ध गराइएको थियो। स्वास्थ्य चौकीका इन्चार्ज जोशीले पुरानो भवनबाट सेवा प्रवाह गर्न समस्या भइरहेको गुनासो गरे। उनले भवन हस्तान्तरण भएको भोलिपल्टै सर्ने गरी तयारी अवस्थामा रहेको बताए।