मुग्लिन सडक चार घण्टा किन बन्द हुन्छ ? (फाेटाे/भिडियाे)
चितवन : नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत जोखिमयुक्त आठ स्थानमा पहिरो नियन्त्रणको काम सुरु भएको छ। पहिरो नियन्त्रणका लागि शुक्रबारबाट हरेक दिन चार घण्टा सवारी आवागमन रोकेर काम थालिएको हो।
यी क्षेत्रमा वर्षातको बेला बारम्बार पहिरो खस्दा यात्रुहरु सास्ती व्यहोर्न बाध्य थिए।
नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको क्रममा ३२ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र तोकिएको छ। यसअघि २४ स्थानमा पहिरो नियन्त्रणको काम सकिए पनि बाँकी आठ स्थानमा शुक्रबारदेखि काम थालिएको हो।
जलविरे, भालुढुङ्गा, चार किलो, तोपे खोला, घुमाउने, कालिखोलामा पहिरो नियन्त्रणका लागि 'रक नेटिङ'को काम गरिने छ। गाईघाट र भोर्लेमा बायो ईञ्जिनियरिङको उपायबाट नियन्त्रण गर्न लागिएको छ। १२ करोड लगानीमा सुरु गरिएको पहिरो नियन्त्रण छ महिनामा सम्पन्न गर्ने गरी बज्रमारा हिमसगरमाथा न्यू टेक्निकल जेभीले ठेक्का पाएको छ। टेण्डर ढिलो हुँदा काम ढिलो सुरु भएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए।