मुस्ताङमा हिउँ : पोखरा–जोमसोम हवाई सेवा अझै प्रभावित
जोमसोम : मौसम प्रतिकुल भएर गत बिहिबारदेखि पोखरा–जोमसोम हवाई सेवा प्रभावित भएको छ । हिमपातपछि मुस्ताङको मौसम खुले पनि उत्तरी हावाको प्रभावले उडान प्रभावित भएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
सोमबार पोखराको मौसममा सुधार नभएकाले जोमसोममा जहाज आउन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक बिकले बताए । उनले हिउदयामसंगै उडान घटेको उल्लेख गरे ।
शुक्रवार परेको हिउँले कागबेनीदेखि मुक्तिनाथसम्म प्रभाव पारेको छ । मुक्तिनाथ जाने कालोपत्रे सडकमाथि हिउँ परेकाले ठुला सवारी साधन मुक्तिनाथ जान नसकेको र हलुका चार पांग्रे सवारी साधन मात्र जान सक्ने अवस्था रहेको वारागुङ मुक्तिक्षेत्र पालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए । हिमपातले उपल्लो मुस्ताङ सडकसमेत अवरुद्ध भएको छ । सडकमाथि बाक्लो हिउँ जमेकाले उपल्लो मुस्ताङको यातायात सेवा अवरुद्ध बनेको घिलिङका स्थानीय निमा विवशले जानकारी दिए ।
मुस्ताङमा तापक्रम दिउँसो माइनस ५ र राती माइनस १५ सम्म पुग्ने गरेको छ । चिसोकै कारण खर्कको गोठमा राखिएका याकचौरी र भेडाच्याङग्रा बस्ती नजिक सार्नु परेको पशुपालक किसान भुपिन शेरचनले जानकारी दिए ।