नमुना तरकारी खेती
धनगढी : कैलालीको गोदावरी नगरपालिका-१० खमौराकी सोनिया चौधरी तरकारीका लागि बारी तयार पार्न व्यस्त छन्। हिँउदे तरकारी बाली लगाउँदा उनी सधैंजसो बारीमा समय बिताउँछिन्। खमौरा मुक्तकमैया वस्तीमा बस्ने उनी मिहिनेतमा विश्वास गर्छिन्।
‘आफूलाई कृषक भनेर भनिरहेका हुन्छन्। तर, घरमा एक बोट खुर्सानी पनि लगाएका हुँदैनन्। कसरी दैनिक चल्छ ? ’, उनी प्रश्न गर्छिन्। मिहिनेत गरेमा पक्कै सफलता पाइने उनको विश्वास छ। अघिल्लो वर्ष नगरपालिकाले सञ्चालन गरेको कृषि पाठशालाको उनी उत्कृष्ट कृषक हुन्। वडाले अनुदान दिएपछि उनीलगायत अन्य २ जना हिँउदे तरकारी बाली काउली, प्याज, धनियाँ, काँक्रा, लौका, खुर्सानी, आलु, टमाटर, रायोलगायत तरकारीको तयारीमा छन्। उनलाई साथ दिने तेजबहादुर मल्ल र धनबहादुर मल्ल हुन्।
३ जना मिलेर ७ कठ्ठा जमिन भाडामा लिएर वडाकै नमुनाका रूपमा उनीहरू तरकारी खेती सुरु गरेका छन्। उनीहरूले लगाएको तरकारीको सबैले अवलोकन गर्ने गर्छन्। वडाको ५ लाख रुपैयाँ अनुदानमा उनीहरूले तरकारी खेती गर्न सुरु गरेका हुन्।
‘बेरोजगारीलाई तरकारी खेतीमा आकर्षण गर्ने उद्देश्यका साथ अनुदानमा वडाकै नमुनाका रूपमा तरकारी खेती सुरु गर्न भनिएको छ’, वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाहीले भने, ‘यसले धेरैलाई तरकारी खेतीतर्फ लाग्न टेवा पुग्ने छ।’ वडामा बेरोजगारी समस्या बढ्दै गएपछि पहिलो चरणमा नमुनाका रूपमा तरिकारी खेती सुरु गरेको वडाध्यक्ष शाहीको भनाइ छ। वडाको सानो बजेटमा कृषिलाई मध्यनजर गरी अनुदानका कार्यक्रम अगाडि बढाएको हो। ‘वडाले लगानी लगाइदिएको हो’, कृषिक तेजबहादुर मल्लले भने, ‘यसबाट उत्पादन भएको तरकारी कृषकले नै उपभोग गर्न पाउनेछौँ।’ यसबाट वडाबासीले थुप्रै फाइदा लिन सक्नेछन्। तरकारी लगाउनेदेखि फलाउने सम्पूर्ण तरिका सिकाइने भएको छ।
तरकारीका लागि उर्भर भूमि मानिए पनि गोदावरीमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने प्रचलन अझै सुरु हुन सकेको छैन। आदिवासी, दलित, जनजातिको बाहुल्यता भएको उक्त वडामा रोजगारीका लागि अधिकांश छिमेकी मुलुक भारतमा निर्भर छन्।