लागूऔषध ओसार्ने दुई भारतीय नागरिक पक्राउ
राजविराज : लागूऔषध ओसारपसार गरिरहेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको बोदे बर्साईन नगरपालिका-९ सिमराहाबाट भारत बिहारका २२ वर्षीय शंकर यादव र २० वर्षीय जितेन्द्रकुमार यादवलाई प्रहरी चौकी काचनको टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।
बोदे बर्साईन नगरपालिका-९ स्थित नेपाल-भारत सीमामा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूको साथबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शंकरले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता (१०० वटा) र डाइलेक्स-डिसी १० बोतल तथा जितेन्द्रको साथबाट १०-१० वटा डाइजेल्याब, नोफिन र फेनारगन इन्जेक्सन बरामद भएको डिएसपी तिलक भारतीले बताए।पक्राउ परेका भारतीय नागरिकहरूविरुद्ध लागूऔषध ओसारपसारमा उजुरी दर्ता गरी कारवाही अघि बढाएको जनाएको छ।