विप्लवका दुई कार्यकर्ता पक्राउ
रुकुम : विप्लवका दुईजना कार्यकर्तालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी रुकुम पश्चिमको उपसंयोजक १९ वर्षीय बसन्त चन्द र विप्लव समूहका कार्यकर्ता चौरजहारी नगरपालिका ४ का १९ वर्षीय अतिराम रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
गाउँघर, स्थानीय व्यापारी तथा विद्यालयमा चन्दा रकम असुल्दै सुरक्षालाई चुनौती दिने काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सर्वसाधारणलाई धम्काएर चन्दा असुल्दै गरेको गोप्य सूचनाको आधारमा सोमबार राती उनीहरूलाई जिल्लाको सानीभेरी गाउँपालिका ३ चौखेबाट पक्राउ गरेको डीएसपी खड्काले बताए । पक्राउ परेकाको साथबाट भित्ता (वाल) पेन्टका सामग्री समेत फेला परेको उनले जनाए ।