पर्यटक बढाउन 'भक्तपुर बाई नाइट'

पर्यटक बढाउन 'भक्तपुर बाई नाइट'

भक्तपुर : २०७२ सालको भूकम्पपछि ओरालो लागेको भक्तपुरको पर्यटन अझै उक्सिन सकेको छैन। भूकम्पअघि यहाँका पर्यटकीय पसल, रेस्टुराँ तथा होटल साँझ अबेरसम्म खुल्थे। भक्तपुर नगरका पर्यटकीय एवं सम्पदा क्षेत्रमा बाह्य पर्यटकको मात्रै होइन सर्वसाधारणको चहलपहल बाक्लै हुन्थ्यो।

सर्वसाधारण र पर्यटकको आगमनले गर्दा पर्यटन व्यवसायीलाई पनि आफ्नो पसल व्यवसाय अबेरसम्म खुला गर्न कर लाग्थ्यो। व्यस्तता बढ्थ्यो। केही बढी व्यापार हुन्थ्यो। त्यसमाथि प्रत्येक महिनाको पूर्णिमा तथा एकादशीजस्ता तिथिमा हुने जात्रापर्व र भजनकीर्तनले सम्पदा क्षेत्रको वातावरण उल्लासमय हुन्थ्यो। सर्वसाधारणमात्रै होइन पर्यटकसमेत त्यसमा झुम्मिन्थे।

तर, २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले यी सबै चहलपहल, व्यस्तता, रमझममा ‘ब्रेक’ लाग्यो। भूकम्पले सयौं घर भत्किए। दर्जनौं सम्पदा माटोमा मिले। पर्यटक आवागमन निरन्तर ओरालो लाग्यो। सर्वसाधारणको चहलपहल ठप्पै भयो।

सर्वसाधारणको चहलपहल र पर्यटकको आवागमन कम हुँदै गएपछि पर्यटन व्यवसायीले आफ्नो पसल, रेस्टुराँ र होटल बन्द गर्न थाले। जसले पर्यटन उद्योग निरन्तर ओरालो लागेको लागेयै भयो।

भूकम्पले ध्वस्त बनाएका धेरैजसो सम्पदा पुनः ठडिएका छन्। केही अझै ठडिने क्रममा छन्। सर्वसाधारणको चहलपहल निरन्तर बढिरहेको छ। बाह्य पर्यटकको आवागमन पनि बर्सेनि वृद्धि भएको छ।

तर पर्यटनसम्बन्धी पसल भने साँझ अबेरसम्म खुल्न सकेका छैनन्। जसले गर्दा भक्तपुरमा बसेका पर्यटक सन्ध्याकालीन पर्यटनको मज्जा लिन पाएका छैनन्। भूकम्पले भत्काएका सम्पदा क्षेत्रका अधिकांश घरमा अहिले रेस्टुराँ तथा होटल खोल्ने क्रम बढेको छ। तर, उनीहरूको गुनासो हुने गर्छ, भक्तपुरमा सन्ध्याकालीन पर्यटकीय गतिविधि छैन। क्युरियो पसल तथा रेस्टुराँ साँझ अबेरसम्म खुल्दैनन्। प्रकाश तथा उज्यालोको व्यवस्था नहुँदा सम्पदा क्षेत्रमा साँझ दृश्यावलोकन गर्न सम्भव छैन।

शान्ति सुरक्षाको दृष्टिले भक्तपुरमा सन्ध्याकालीन पर्यटनका लागि कुनै समस्या नभएको उनीहरूको भनाइ छ। भक्तपुरमा सन्ध्याकालीन पर्यटन प्रवद्र्धन भक्तपुर बाई नाइट्स भन्ने सोच आएको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले बताउँछन्।

पर्यटकलाई भक्तपुरमै बसाउन पहिले स्थानीय तह, पर्यटन उद्योगी व्यवसायी एवं सर्वसाधारण सक्षम हुनुपर्ने उनको भनाइ थियो।

‘राम्रा होटलमात्रै भएर भक्तपुरमा पर्यटक बस्दैनन्’, उनी भन्छन्, ‘उनीहरूलाई भक्तपुरमा बस्ने वातावरण बनाउनुपर्छ।’

यसका लागि यहाँका पर्यटन उद्योगी तथा व्यवसायी उत्तरदायी हुनुपर्ने उनको भनाइ छ। त्यस्तै पर्यटन व्यवसायीको क्षमता बढ्नुपर्नेमा उनी जोड दिन्छन्।

‘पर्यटन व्यवसायीले यहाँका मौलिक वस्तु उत्पादन गर्ने घरेलु तथा साना उद्योग संरक्षण र सम्बद्र्धनमा टेवा दिनुपर्छ’, समितिका महासचिव दीपेशराज शर्माले भने, ‘मौलिक एवं पराम्परागत नाचगान, साँस्कृतिक समूह, भजनभण्डली प्रवद्र्धन गर्नुपर्छ।’

सन्ध्याको समयमा भक्तपुरका हरेकजसो मठमन्दिरमा भजनकीर्तनको व्यवस्था गरेर पर्यटकलाई सम्पदा क्षेत्रमा पदयात्रा गराउन सकिने महासचिव शर्मा स्पष्ट पार्छन्।

‘यसले यहाँका युवा पुस्ताले समेत भक्तपुरको जीवनशैली, रहनसहन, कला–संस्कृति, मौलिक उत्पादन र सम्पदाबारे प्रत्यक्ष अन्तक्र्रिया गर्न पाउँछन्’, उनले थपे, ‘त्यस्तै सर्वसाधारणले पनि पर्यटनको महत्त्व र आवश्यकता बुझ्नेछन्।’

पर्यटनमा सर्वसाधारणलाई प्रत्यक्ष सहभागी गराएर उनीहरूलाई पर्यटनबाट हुने फाइदा अनुभूति गराउन भक्तपुर बाई नाइट्स अघि बढाइएको समितिका अध्यक्ष भेले बताउँछन्।

सम्पदा पदयात्रा सुरु

उनले भक्तपुर बाई नाइट्सअन्तर्गत पहिलो चरणमा भक्तपुरका सम्पदामा पदयात्रा (हेरिटेज वाल्क) गराइएको जानकारी दिए।

जुन सम्पदा पदयात्राको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी र भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले गरे।

भक्तपुर नपा २ व्यासीस्थित पर्यटक बसपार्कबाट सुरु भएको सम्पदा पदयात्रा इन्द्रायणी पीठ, खौमा गेट हुँदै भक्तपुर दरबार क्षेत्रमा पुगेको थियो। त्यहाँ सम्पदा पदयात्राका सहभागीलाई स्वागत गर्दै भक्तपुरको परम्परागत देवीनाच देखाइएको थियो।

त्यस्तै दरबार क्षेत्रका सम्पदाको अवलोकनपछि टौमढी पुगेको टोलीलाई भक्तपुरको मौलिक उत्पादन जुजु धौबाट स्वागत गरिएको थियो। त्यहाँ पनि भक्तपुरकै परम्परागत माक प्याखँ (बाँदर नाच) प्रदर्शन गरिएको थियो।

सम्पदा पदयात्रा पुनः टौमढीबाट सुकुलढोका, गोल्मढी, इनाचो हुँदै दत्तात्रय क्षेत्र पुगेको थियो। त्यहाँ टोलीलाई नेपालभाषीको मौलिक उत्पादन योमरी खुवाइएको थियो। त्यस्तै लाखे नाचसमेत प्रदर्शन गरिएको थियो।

भक्तपुर बस्ने पर्यटकलाई सन्ध्याको समयमा सम्पदा पदयात्रामार्फत नेपाल भ्रमण वर्ष २०२० मनाउन सकिन्छ भन्ने देखाउन उक्त भक्तपुर बाई नाइट्स कार्यक्रम गरिएको भक्तपुर पर्यटन विकास समितिले जनाएको छ।

कार्यक्रमले भक्तपुर पुग्ने पर्यटक संख्या बढ्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक जोशीले दाबी गरे।

भक्तपुर नपाका प्रमुख प्रजापतिले पर्यटकलाई भक्तपुर बसाउन भक्तपुर दरबार क्षेत्रमा प्रशस्त उज्यालोको लागि बत्तीको व्यवस्था गरिसकेको जानकारी दिए।

उनले भक्तपुर पुग्ने पर्यटक संख्या बढाउन आउँदो चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव गर्न लागिएकोसमेत बताए।

प्रमुख प्रजापतिले पर्यटन प्रवद्र्धन गर्न सम्पदा संरक्षणमा समेत जोड दिँदै आएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.