पदमार्ग मासिएपछि पर्यटक चिन्तित
जोमसोम : २५ दिन अघि राउन्ड अन्नपूर्ण सर्किट हुँदै मुस्ताङ आइपुगेका विदेशी पर्यटक घरपझोङमा विस्तार भइरहेको रिङरोड सडकले पदमार्ग मासिएको देखेपछि चिन्तित बनेका छन्। निकै रमाइलो अनुभूति र प्राकृतिक रमणीय दृश्य अवलोकन गर्दै आईरहेका बेल्जियमका पर्यटक सिल तिमरमेन्सले पदमार्गमा डोजर चलेको देखेपछि असहज महशुस गरे।
गण्डकी प्रदेश सरकारले घरपझोङ गाउँपालिकाका ५ वटै वडा जोड्ने गरी रिङरोड विस्तार गरिरहेको छ। मुस्ताङको ढुम्बातालदेखि छैरो रिङरोड जोड्ने क्रममा केही रूख मासिएका छन् भने पदमार्ग बाटोमा सडक खनिएको हो। आफ्नै एकल पदयात्रा गरिरहेका उनले प्राकृतिक सुन्दरता नष्ट गर्ने प्रकारले पर्यटक पदमार्ग मासिएको देखेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय ,नेपाल पर्यटन बोर्ड ,टान र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमलाई ईमेल पठाएर ध्यानआर्कषण गराएका छन्। उनले उक्त ईमेल बेल्जियम पुगेर नेपाल पक्षलाई जानकारी गराएका हुन्। उनले ईमेलमा भनेका छन् वातावरण बिग्रिने गरी सडक केका लागि भनी प्रश्नसमेत गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए। उनले डिसेम्बर १ तारिखमा ईमेल पठाएका थिए। उनका अनुसार पदमार्ग गरिरहेका पर्यटक राउन्ड अन्नपूर्ण सर्किटको यात्रा यसअघि पनि पटक–पटक गरेको जनाइएको छ।
चालु वर्ष गण्डकी प्रदेश सरकारले रिङरोडका लागि बजेट विनियोजन गरेको थियो। करिब ५ किमि साविक सडकमा थप ६ किमि नयाँ ट्र्याक खोलेर सडक विस्तार गरिन लागिएको हो। रिङरोडको ३ देखि ५ किमि कालोपत्रे सडक हुने सवइन्जिनियर प्रकाश खड्काले जानकारी दिए। चालु आर्थिक वर्षको सुरुदेखि सुरु भएको रिङरोड ०७८ साल असारमा सक्ने योजना रहेको छ। बन्दना भगवती ,जलजला जेभीले लिएको रिङरोडको लागत २१ करोड ४३ लाख १३ हजार छ। रिङरोडको भीर कटिङ ,ब्याग कटिङ र माटो फिलिङको काम भईरहेको उनले जानकारी दिए। रिङरोडको १० प्रतिशत काम सम्पन्न भएको छ।
यस्तै ,घरपझोङमा रिङरोडको विस्तारका क्रममा मार्फामाथिको पूर्वतर्फ रक कटिङ गर्ने क्रममा ढुंगा ,माटो खसेपछि मार्फा गाउँका बासिन्दाले विरोध जनाएका छन्। सडक खन्दा खसेको माटो र ढुंगाले नदी डाइभर्सन भइ खेतीयोग्य जमिन डुबानमा पर्नसक्ने भन्दै स्थानीयले खसेको माटो व्यवस्थापन गर्न स्थानीय प्रशासनमा समेत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनले निर्माण व्यवसायीले खसेको माटो व्यवस्थापन गर्ने सहमति भएको र सडकको काम सुरु गर्ने सहमति भएको बताए।