लैंगिक हिंसाको समाधान
भर्खरै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकिएको छ। नेपाली समाजमा लैंगिक हिंसा महिला हिंसाको पर्यायवाची बनेको छ। हाम्रो बाध्यता हिंसा भन्नेबित्तिकै आफ्ना आमा, दिदी, बहिनी, छोरी र बुहारी सम्झिन बाध्य भइन्छ। घरबाट स्कुल पढ्न गएका छोरी घरमा फिर्ता नआउन्जेल हरेक आमाको मन पिरोलिरहन्छ। आखिर किन यस्तो भयो हाम्रो समाज ? आफ्नै छोरी हिंसामा पर्दा छोरा नै हिंस्रक हुने चलनको अन्त्य कहिले गर्ने ? छोराछोरी बराबरी नारामा मात्र सीमित कहिलेसम्म बनाउने ? हिंसाविरुद्धको अभियान लगातार सबैले सधैं चलाइरहनु जरुरी छ। यो केवल १६ दिनमात्र सुविधा सम्पन्न सहरमा चलाएर सफल हुने अभियान होइन। सबैको सामूहिक प्रतिबद्धता, मानसिक रूपमा सक्रिय भएर लागेको खण्डमा मात्र लैंगिक हिंसा न्यूनीकरण गर्न सकिन्छ।
छाउगोठमा छाउ बार्न बाध्यताले बस्दा मृत्युको मुखमा पुग्छन् महिला। निर्दोष महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुबाउने, कपाल मुण्डन गरिदिने र कुटपिट गरेर गाउँ निकाला गर्दै मृत्युको मुखमा पुर्याउन सक्रिय छ हाम्रो समाज। आपूmले भनेअनुसार मानिन भनेर युवतीमाथि एसिड प्रहार गर्छन् आज एक्काइसौं शताब्दीका युवा। दाइजो नपाएको निहुँमा वा कम दहेज भयो भनेर ज्यूँदै जलाएर मारेका छन् महिलालाई। अन्य असमानता र विभेदका हिंसा त कति छन् कति। आर्थिक हिंसा, सामाजिक हिंसा, सांस्कृतिक हिंसा, पारिवारिक हिंसा, हाम्रा कुरीतिले ल्याएका प्रथा र परम्पराका नाममा पनि महिला हिंसाको सिकार भइरहेका छन्।
गण्डकी प्रदेशसभाका महिला सदस्यले लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा आयोजित कार्यशाला गोष्ठीमा ‘संसद्भित्रै यौनहिंसा भयो’ भन्ने विषय उठाए। पुरुष सांसदले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेका बताए। महिलालाई आजको अवस्थामा पनि कहीं पनि सुरक्षित हुन किन दिँदैन हाम्रो समाज ?
पितृसत्ताको दृष्टिकोण मात्रै होइन, हाम्रा परम्परागत उखान टुक्का र थेगा पनि महिलालाई हेप्ने खालका छन्। हिंसा गर्न उक्साउने खालका छन्। हरेक निर्णायक काममा महिलालाई केही सोधखोज नै गरिँदैन आज पनि।
अझै पनि कति अन्धो हुन सकेको छ हाम्रो समाज। पितृसत्तात्मक संरचना र सोचमा आधारित हाम्रो समाजमा पुरुषको महिलालाई हेर्ने दृष्टिकोणमा कहिले सुधार आउने हो ? हरेक सानादेखि ठूला सबै कामकुराको पहुँचमा महिलालाई कहिलेसम्म नियन्त्रण गर्ने हो ? सृष्टिको एउटा पाङ्ग्रालाई अन्याय, अत्याचार, थिचोमिचो, विभेद अनि हिंसा गरेर अर्को पाङ्ग्रा कति परसम्म गुड्न सक्ला ?
बढिरहेको सूचना र प्रविधिले समाजलाई सभ्य बनाउनुपर्ने हो। असल समाज र राष्ट्रको निर्माण गर्नुपर्ने हो। उल्टै वार्षिक रूपमा सोह्र प्रतिशतले बलात्कारका घटना बढ्नुले सबैमा चुनौती थपिदिएको छ। हाम्रो समाजमा रहेका जघन्य कुप्रथा, चर्को अन्धविश्वास, कुरीति, अचेतना, बहिष्करण र विभेदले हिंसा बढाइरहेको छ। महिलामाथि वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक पनि खोसिएको छ। जान्ने, बुझ्ने, टाठाबाठाले हिंसामाथि सार्थक हस्तक्षेप गर्नुको सट्टा उल्टै आफैं हिंस्रक बन्न उद्यत देखिएका छन्। हिंसा घटाउन भएका प्रयास पनि गोष्ठी, सेमिनार र सभामा नै सीमित छन्।
महिला हिंसाका घटना पुरुषबाट मात्र नभई महिलाबाट समेत भएका छन्। यसो हुनु महिलामा उच्च सचेतना नहुनु हो। हाम्रा पुरुषप्रधान समाजले सिकाएका अन्यायपूर्ण व्यवहार र दृष्टिकोणले गर्दा नै हो। आफ्नै ११÷१२ वर्षे छोरीलाई छाउगोठमा जान वाध्य पार्ने आमाहरूको रहर नभएर सामाजिक संस्कारले सिकेको बाध्यता हो। रजस्वला हुँदा नबार्ने हो भने भगवान् रिसाउँछन्, कुल देवता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा हो। त्यसैगरी आफूले बुहारी हुँदा निकै दुःख पाएका सासूआमाहरूले पनि अहिलेका आफ्ना बुहारीलाई विभेदपूर्ण व्यवहार गर्ने चलन यदाकदा भेटिन्छ। यसो हुनुमा पनि चेनताको स्तर कमजोर भएर हो। मानिसले आफ्नो छरछिमेकमा, समाजमा के भइरहेको छ, के देखिरहेको छ उसभित्र पनि त्यही छाप परिरहेको हुन्छ। एउटा कुप्रथा र अन्धविश्वासमा गुज्रेको समाजमा एकजना मानिसको दृष्टिकोण बदल्न सक्नु पनि कठिन कार्य हो।
हिंसा भइसकेपछि त्यसको उपचार खोज्नुभन्दा कुनै पनि हिंसा हुन नदिनु नै उत्तम विकल्प हो। सापेक्ष रूपमा हिंसारहित समाज नहोला तर सबै लागिपर्ने हो भने अहिले भएका धेरै हिंसा न्यूनीकरण गर्न सकिन्छ र सक्नुपर्छ। यसको लागि सर्वप्रथम त महिलालाई हेर्ने पुरुषको दृष्टिकोण र महिलालाई हेर्ने महिलाकै दृष्टिकोणमा परिवर्तन जरुरी छ। पुरुषप्रधान समाजको आडम्बर र अन्धविश्वास अनि कुरीतिले भरिपूर्ण हाम्रा प्रथा र परम्परा पूर्णरूपमा हटाउनुपर्छ।
समग्र महिला आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सक्षम र सशक्त बन्न सकेमा महिलामाथि हुने सबैखाले लैंगिक हिंसामा कमी आउँछ। लैंगिक हिंसाका कुरा उठाउनु, यसको विरुद्धमा लगातार विभिन्न कामकुरा गर्ने दायित्व महिलामात्रको नभई सो भन्दा बढी त अझ सम्पूर्ण पुरुषको हो। समाजको हो, राज्यको साझा विषय हो। आधाभन्दा बढी संख्या भएका महिलाको समग्र अवस्था माथि नआएसम्म सिंगोे समाजको विकासक्रम अगाडि बढ्दैन।
महिला सबै पक्षबाट सशक्त हुनु जरुरी छ। आजको आवश्यकता पनि यही हो। यसको लागि महिलामा अधिकार र सशक्तीकरण दुवै विषयसँगै अगाडि लैजानुपर्छ। महिलाले आत्मबल बलियो बनाउन सक्नुपर्छ। हरेक पुरुषमा महिलालाई सम्मान गर्ने मानसिकताको मात्र विकास गर्ने हो भने आधाभन्दा बढी महिला हिंसा कम हुन्छ।
लैंगिक हिंसा आधुनिक सभ्यताको चुनौती हो। यो बहुआयामिक स्वरूपको हुन्छ। समग्र महिलालाई हेर्ने आम पुरुषको दृष्टिकोणमा परिवर्तन नभएसम्म यसमा न्यूनीकरण गर्न सहज हुँदैन। यसलाई लैंंगिक हिंसाविरुद्धको १६ दिने अभियानले मात्र पनि केही गर्दैन।