ट्राईब्रेकरमा आदर्श जनप्रेमी र न्यू मिलेनियम विजयी
भक्तपुर : भक्तपुरको मध्यपुर थिमिमा जारी ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताअन्र्तगत बुधबार आदर्श जनप्रेमी मावि र न्यू मिलेनियम कलेजले कठिन जीत निकालेका छन् ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा जारी प्रतियोगितामा आदर्श जनप्रेमी र न्यू मिलेनियमले ट्राईब्रेकरमा जीत हात पार्दै प्रि–क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।
निर्धारित ८० मिनेटको खेलमा आदर्श जनप्रेमी र श्रमिक शान्ति मावि एकएक गोलको बराबरीमा रोकिएपछि पेनाल्टीमार्फत निर्णय गरिएको थियो । जसमा सुरुवाती पाँचपाँच पेनाल्टी प्रहार दुवै टीमले सफल पारेका थिए ।
आठआठ गोलसम्मको पेनाल्टी बराबर भएपछि नवौं प्रहारमा भने श्रमिक शान्ति असफल भयो । जसले जनप्रेमीले नतिजा आफ्नो पोल्टामा पारेको थियो ।
उक्त स्पर्धामा आदर्श जनप्रेमीलाई जिताउन एक पेनाल्टी प्रहार बचाएका गोलकिपर पारस खत्री म्यान अफ दी म्याच बन्न सफल भए ।
त्यस्तै अर्को खेलमा न्यूू मिलेनियमले कस्टुभ एकेडेमीलाई ट्राईब्रेकरमै ३–० गोलमा पन्छाए । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी हान्न लगाइएको थियो । जसमा कस्टुभका कुनै पनि खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । जबकि न्यू मिलेनियमका तीनजा खेलाडीको पेनाल्टी सफल भएको थियो ।
विजेता न्यू मिलेनियमका विशाल सुनार उक्त खेलको उत्कृष्ट खेलाडी बन्न सफल भए । बुधबार नै भएको अर्को खेलमा साइपाल एकेडेमीले भीमेश्वर एकेडेमीलाई ३–० गोलले हराउँदै प्रि–क्वार्टरफाइनलमा पुगेको छ ।
नकआउटमा आधारमा हुँदै आएको खेलमा साइपालको लागि अस्मित घिमिरे, श्रीजन गौतम र बचन क्षेत्रीले एकएक गोल गरेका थिए । साइपालका सन्दीप लामा उक्त स्पर्धाको म्यान अफ दी म्याच बने ।
प्रतियोगिताअन्तर्गत बिहीबार पनि पहिलो चरणका तीन खेल हुने आयोजक ब्रिजवाटर कलेजका प्रिन्सिपल तेज श्रेष्ठले जानकारी दिए ।