शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द
राजविराज : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ। नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेपछि सोमबारसम्मका लागि बिद्यालय बन्द गरिएको सप्तकोशी नगरपालिकाले जनाएको छ ।
सप्तकोशी नगरपालिकामा सातवटा आधारभूत र चारवटा माध्यमिक विद्यालय बन्द हुँदा ३ हजार १७१ विद्यार्थीको पठनपाठन ठप्प भएको छ। बन्दको निर्णयसँगै सूचना जारी भएपछि विद्यालय बन्द गरिएको सप्तकोशी नगरपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका महेश मास्केले बताए । मास्केका अनुसार चिसोका कारण विद्यालय आउने विद्यार्थीको संख्या पनि घटेको
छ।
सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा बिरामी पर्न सक्ने सम्भावना रहेकाले बिदा गरिएको शिक्षा शाखाका प्रमुख रामदेब चौधरीले बताए ।
सरोकारवालासँग छलफल गरेपछि विद्यालय बन्द गरिएको भन्दै चौधरीले बन्द अवधिको पढाइ विदाको समयमा पुरा गरिने बताए। समितिले सोमबारको मौसम मूल्यांकन गरेर मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने वा थप केही दिन बन्द गर्ने विषयमा पछि निर्णय गर्ने जनाएको छ ।
दिनभरी बाक्लो हुस्सु लागेको र कठ्यांग्रिने जाडो बढेपछि जिल्लाका विभिन्न सार्वजनिक स्थल र चोकमा काठ, दाउरा बालिएको छ।त चिसोबाट जोगित सप्तरीको रूपनगर चोकमा आगो ताप्दै स्थानीय । तस्बिर : अन्नपूर्ण