४ वर्षदेखि अलपत्र सुस्ता पुलको काम सुरु
सुस्ता (पश्चिम नवलपरासी) : चार वर्ष अघिदेखि अलपत्र बनेको सुस्ता पुल निर्माण कार्य सुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँ पुग्नका लागि नारायणी नदीमा झोलुङ्गे पुलको निर्माण कार्य चार वर्षअघि सुरु गरिएको थियो । २०७६ भदौभित्र निर्माण सम्पन्न गर्ने गरी त्रिशुली आश्रय जेभी कम्पनीले २०७२ असोज २६ मा सम्झौता गरेको थियो ।
सम्झौतापछि केही दिन काम सुरु गरेको निर्माण कम्पनी त्यसपछि सम्पर्कविहीन बनेको थियो । सरकारले पटक पटक ताकेता गरेपनि निर्माण कम्पनीले पुल बनाउन वास्ता गरेको थिएन । पुल नबनाए नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि निर्माण कम्पनीले चार वर्षपछि काम सुरु गरेको हो ।
निर्माण कम्पनीले १५ दिनअघिबाट विभिन्न नयाँ प्रविधिका मेसिनरी उपकरण ल्याएर काम सुरु गरेको जनाएको छ । काम सुरु भएपनि निर्माण कम्पनीले समयमै पुल बनाउला भन्नेमा स्थानीय विश्वस्त हुन सकेका छैनन् ।
पुल बनाउन वास्ता नगरे नयाँ टेण्डरबाट प्रक्रिया निर्माण कार्य सुरु गरिने झोलुङ्गे पुल महाशाखा ललितपुरले जनाएको छ । 'निर्माण कम्पनी आफैले पुल निर्माण गर्ने भन्दै काम सुरु गरेको छ । 'हामी एक महिना हेर्छौ नभए नियमानुसार असुल उपर गरेर नयाँ टेण्डर आव्हान गछौं,'महाशाखाका डिभिजन प्रमुख कुमार थापाले भने । सुस्ताको पुल निर्माण अब कुनै बहानामा नरोकिने थापाले बताए ।
पुलको लागत २० करोड ९० लाख छ । २ सय २० वटा पाईलिङ(तल्लो फाउण्डेशन) निर्माण गर्नुपर्नेमा सम्झौता लगत्तै ४२ वटा पाइलिङ निर्माण गरिएको थियो । एक वर्षभित्र बाँकी पाइलिङको काम सकिने र त्यसपछि अन्य काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ ।' साउनसम्म पाइलिङको काम सक्छौं अर्को आर्थिक वर्षबाट फिटिङ्गसहितका अरु काम सुरु हुन्छन्। निर्माण कम्पनीका व्यवसायी श्याम पाख्रिनले भने, 'बलौटे जमिन भएकाले नयाँ प्रविधिका उपकरण र विदेशी कामदार आवश्यक पर्ने भएकाले समयमा काम गर्न नसकिएको हो।
भू-बनोटका कारण ल्याइएको नयाँ प्रविधि चलाउन नेपाली कामदारले नजान्ने भएकाले बंगलादेशबाट कामदार ल्याएर निर्माणको काम सुरु गरेको पाख्रिनले बताए । काम गर्ने सबै बंगलादेशी छन् । अबको २ वर्षभित्र काम सम्पन्न गरेर हस्तान्तरण गरिने पाख्रिनको भनाई छ ।
पुलमा ६२ वटा पिलर छन् । नदीको बीचमा पिलर बनाउनका लागि नारायणीको पानीलाई अर्को स्थानबाट लगेर काम सुरु गरिने इन्जिनियर अशोक कुमार मण्डल बताए । पुल बनाउनका लागि आवश्यक पर्ने सबै उपकरणहरु आइसकेकाले तोकिएको समयमा काम सकिने मण्डलले दावी गरे।
भारतद्धारा पटकपटक अतिक्रमणको चपेटमा पर्दै आएको सुस्ता क्षेत्रका स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि पुल निर्माण गर्न लागिएको हो । अरु समय डुंगाबाट आवतजावत गरेपनि वर्षायाममा सुस्ताबासीहरु दैनिक उपभोग्य सामाग्री खरिददेखि स्वास्थ्य उपचारका लागि भारतको बाटोहुँदै नेपाल आउनुपर्ने बाध्यता छ । सुस्ता गाउँमा २ सय ६५ घरधुरी छन् । जसमा ३ हजार १ सय ३३ जनसंख्या छ ।
यो नेपालकै लामो पुल भएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले दाबी गरे । 'अहिलेसम्म पुल निर्माण भइसक्नु पर्ने हो । ठेकेदारको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म बन्न सकेन । निर्माणको काम सुरु भएपछि स्थानीय खुसी भएका छन्,' अध्यक्ष पाण्डेले भने । फेरि काम नरोकिने गरी ठेकेदारले जिम्मेवारी भएर काम गर्नुपर्ने र सरकारले पनि निगरानी बढाउनु पर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
सुस्ता गाउँपालिका ५ को सकरदिनबाट सुस्ता गाउँको बाँधसम्म निर्माण हुने पुलको लम्बाई १५७१ मिटर लामो र १.६ मिटर फराकिलो छ । यो पुलको निर्माण कार्य सम्पन्न भएमा संभवत नेपालकै लामो पुल हुने छ । नेपालकै लामो पुल मानिएको कञ्चनपुरको महाकाली नदीको दोधारा चाँदनी पुलको लम्बाई १४५२.९६ मिटर छ ।