उर्लिए दर्शक
धनगढी : मंगलबार धनगढीको मौसम हुस्सुसँग आकाशमा बादल थियो। हुस्सुका बाबजुद पनि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिममा महोत्सवमा दर्शक उर्लिए। दिनभर स्थानीय कलाकारसँग रमाएका दर्शक, साँझ ३ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुति सुरु भयो।
स्टेजमा गायक प्रमोद खरेल आएसँगै दर्शकको हुटिङ सुरु भयो। प्रमोदले ‘झुमा झल्का पिरती...’, ‘रातो टीका निधारमा..’, ‘यो कुरा गोप्पेमा राखौंला..’, लगायत दर्जनभन्दा बढी गीत गाए। दर्शक पनि उनको गीतमा जमेर कम्मर मर्काए चिसो मौसमलाई न्यानो बनाए। उनको गीतमा युवायुवतीदेखि बूढाबूढीसमेत रमाएको देखियो।
त्यसअघि लोकगायक विष्णु खत्रीले आफ्नो प्रस्तुति दिएका थिए। उनले ‘भरिया दाइले..’, ‘रोधी राम्रो बज्ने मादलले तिमी राम्रो आँखाको गाजले..’, लगायत गीत प्रस्तुत गरेका थिए।
प्रतिकूल मौसमका बाबजुद पनि महोत्सवमा हरेका दिन उत्तिकै दर्शकको चाप रहने गरेको आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले जानकारी दिए। दसौं दिनसम्म अढाइ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन्। पुस २ सम्म सञ्चालन हुने महोत्सव व्यवसायी र दर्शकको मागलाई मध्यनजर गर्दै एक साता लम्ब्याइएको छ। मंगलबार महोत्सवमा स्थानीय कलाकार ध्वज महरा, रूपा घर्ती, दीपक जोशीलगायतले प्रस्तुति दिए।