‘मन्त्र विज्ञान’को सूत्र

‘मन्त्र विज्ञान’को सूत्र

यसअघि ‘तन्त्र विज्ञान’ लेखिसकेका थापा ‘मन्त्र विज्ञान’पछि ‘यन्त्र विज्ञान’को तयारीमा छन्।


‘वैज्ञानिकहरू चन्द्रमामा पुगिसके, तिम्रो ईश्वरले के गर्‍यो ? ’, अत्याधुनिक यो समयमा केवल भौतिकवाद मात्र बुझेकाले सोधिरहने प्रश्न हो यो। परापूर्वकालदेखि उठाइँदै आएको विषय भने फरक छ, ‘मूर्खलाई मूर्खतापूर्ण र साधुलाई शास्त्रसम्मत उत्तर दिनुपर्छ।’ शास्त्र र मन्त्र नजान्नेले ईश्वर जान्ने र बुझ्ने कुरो असम्भवप्रायः छ।

पाश्चात्य र पूर्वीयको सन्दर्भ जोड्नुअघि यी दुई भनाई मनन गर्नु अत्यावश्यक छ— पूर्वीय हामी भन्छौं, ‘अंग्रेजी नपढी हुँदैन।’ तर पाश्चात्यहरूले भनिरहेका छन्, ‘वेद र संस्कृत नपढी हुँदैन।’ त्यसो सही भए हामी पश्चिमाभन्दा सयौं वर्षअघि छौं। ईश्वरसँग सम्बन्धित शास्त्र र मन्त्रहरूमा उनीहरू बल्ल जोडिँदै छन्। योग र ध्यानमा जोडिन र गहिरिन थालेका छन्। पश्चिमका वैज्ञानिकभन्दा सयौं/हजारौं वर्षअघि हाम्रा ऋषिमुनिले यस्ता अनेक विषय पत्ता लगाएर प्रयोग गरिसकेका उदाहरण सबैसामु छन्।

यी सबैमा ऋषिमुनिले मन्त्रशास्त्र प्रयोग गरेका छन्। मन्त्रशास्त्र सतत् अध्ययनशील महापुरुषको विषय मानिएको छ। यस्तो गहन विषय भएकै कारण ठूला विद्वान्ले पनि पूरै जीवन यिनै शास्त्रमा समर्पित गरेका छन्। द्वापर युगमा भगवान् श्रीकृष्णले अवतार लिँदा पनि मन्त्रलाई ग्रहण गरेका थिए। खासमा ब्रह्माण्ड नै रहस्यमय छ भने पृथ्वी पनि आश्चर्यले भरिपूर्ण छ। भनिन्छ, परमात्माले सूत्रात्मक रूपमा सबैलाई अन्तरसम्बन्धित बनाएका छन् अर्थात् जगत्लाई अधीनमा राखेका छन्, देवीदेवता मन्त्रका अधीनमा छन्।

हिमवत्खण्ड क्षेत्रमा प्राचीन कालदेखि नै मन्त्रबाट सबै काम सुरु भएको पाइन्छ, जन्म, विवाह, मृत्युलगायत १६ संस्कारमा पनि मन्त्रकै प्रयोग। यिनै विविध मन्त्रबारे वैज्ञानिक खोजमा आधारित भएर डा. मिलनकुमार थापाले ‘मन्त्र विज्ञान’ पुस्तक लेखेका छन्। ‘आध्यात्मिक र व्यावहारिक कामको प्रारम्भ मन्त्रबाटै सुरु हुन्छ किनकि मन्त्र साधन हो जसबाट साध्य प्राप्त गर्न सकिन्छ’, उनले लेखेका छन्, ‘मन्त्र वेदको अंश हो, मन्त्रले सबैलाई अधीनमा राखेको छ। वेदमन्त्रले चेतना, चिन्तनको वृद्धि गर्छ त्यसैले मन्त्र अमृत हो।’

विश्वामित्रले गायत्री मन्त्र प्रयोग गरी ब्रह्मर्षि बने। साधना सम्पन्न गरेका साधकले मन्त्र पढेर यज्ञमा आगो उत्पन्न गर्थे, पानी पार्थे। रोगको उपचार गर्थे, अन्न फलाउँथे। राक्षसी स्वभाव र तामसी शक्तिलाई नष्ट गर्थे। मन्त्रबाट जहाज र हातहतियारलगायतका भौतिक संरचना निर्माण गरेको पनि पाइन्छ। यस्तै, लक्ष्मणले मन्त्रद्वारा सीतालाई सुरक्षित ठाउँमा राखेका थिए भने रावणले मन्त्रको प्रभावभन्दा बाहिर बोलाएर सीताको अपहरण गरेको सन्दर्भ उल्लेख छ। ‘पाश्चात्यहरूले मन्त्रको ज्ञान र शक्तिलाई बुझेर वेदलगायतका ग्रन्थमा झुमेका छन्’, मन्त्र विज्ञानमा छ, ‘तर मन्त्रलाई निजी होइन, राष्ट्रिय हित, सामाजिक वैभव र संस्कृति संरक्षणमा खर्च गर्नुपर्छ।’

निराकारबाट साकार भएको हो सृष्टि। साकार रूपमा जान ध्वनि प्रयोग भयो। प्रणव ध्वनि ॐबाट निराकार स्वरूप आकारमा परिणत भएको शास्त्रमा छ। अर्थ र महत्त्व नबुझे पनि सबैले सुनेको र अक्सर भनिने शब्द हो, ॐ। ॐ आफैंमा एक पूर्ण मन्त्र मानिन्छ किनकि ‘अ’ भनेको ब्रह्मा, ‘उ’ भनेको विष्णु र ‘म्’ भनेको शिव देवता हुन् जसमा तीन गुण सत्व, रज र तम छन्। यसैमा उत्पत्ति, स्थिति तथा लय तीन क्रिया हुन्छन्। यो मन्त्रको ढोका पनि हो। वेद मन्त्रको सुरुमै ॐ राखिएको छ। भनिन्छ, जीवन वा दैनिकी ॐबाटै सुरु हुन्छ। ‘सनातन वैदिक हिन्दू धर्म र दर्शनभित्र ॐकार नै सर्वस्व हो, सृष्टिकर्ता ब्रह्मा र पालनकर्ता विष्णु तथा संहारकर्ता रुद्रहरू पनि ॐकारबाटै स्वरूपमा उद्भव भएर ॐकारमा स्वरूपतः विलय भए’, पुस्तकमा ओम मन्त्रको महत्त्व यसरी वर्णित छ।

लगभग सात करोड मन्त्र हाम्रा ग्रन्थमा समेटिएका छन्। विश्वले मानेको वेदको अंश मन्त्र हो। शास्त्रमा भेटिन्छ, त्रेतायुगमा मन्त्रकै प्रभावबाट राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको थियो। ‘अहिले पनि सन्तानविहीनले हरिवंशको पाठपारायण एवं मन्त्र प्रयोग गरेर बुवाआमा बनेका उदाहरण समाजमा प्रशस्त देख्न सकिन्छ’, डा. थापाले लेखेका छन्, ‘मन्त्रबिना कार्य सफल र प्रतिफलमुखी बन्न सक्दैनन्, मन्त्र त एक प्रकारको शक्ति हो। मानवको रक्षा, प्रकृतिद्वारा तादात्म्य र अन्य चमत्कारी कार्य मन्त्रद्वारा सम्भव छ।’ मन्त्र पञ्चाक्षर, शताक्षर वा साहस्राक्षरसम्मको हुन्छ। अहिले प्रयोगमा रहेको योग र ध्यानमा प्रत्येक मानिसका सात चक्र सक्रिय पारिन्छ; जसमा मूलाधार चक्रका लागि लम्, स्वाधिष्ठानलाई वम्, मणिपुरलाई रम्, अनाहदलाई यम्, विशुद्धिलाई हम्, आज्ञालाई उम् र सहस्रार चक्र जगाउन/सक्रिय पार्न ॐ मन्त्र साधना गरिन्छ। यी चक्र सक्रिय बने मानिस शारीरिक, मानसिक एवं भावनात्मक रूपमा सबल र सफल हुन्छ।

गायत्री मन्त्र ‘ॐ भूर्भुवः स्वः...’लाई शब्दमा व्याख्या गर्न सकिँदैन। ‘यो अवर्णनीय, अव्याख्येय मन्त्र हो’, मन्त्र विज्ञानमा छ, ‘जपबिना मन्त्र सिद्ध हुँदैन, हवनबिना फल प्राप्त हुँदैन।’ मन्त्र साधनाले काय (शरीर), चित्त, दिक् (दिनमा पूर्व रातमा पश्चिम मुख पारी विधिवत् जप र देवपूजा गर्नु) र स्थान शुद्धि बनाउने थापाले उल्लेख गरेका छन्। हिन्दू धर्ममा मूर्ति, यन्त्र, पीठ पूजादेखि तान्त्रिक साधनासम्म गरिन्छ। तर दीक्षा परम्पराबिना मन्त्रको कुनै प्रयोजन हुँदैन, फल पाइन्नँ। मन्त्र उच्चारण सहज काम होइन, कुनै पनि किसिमको त्रुटि भए यसले उल्टो फल दिन्छ। मन्त्रको दुरुपयोग गरे नसोचेको दुष्परिणामसमेत पाइने उल्लेख छ। ‘तर श्रद्धासहित मन्त्र जपेमा ‘मानव’ ‘महामानव’ बन्छ’, डा. थापा लेख्छन्, ‘मन्त्रकै कारण हाम्रा पुर्खाहरू ऋषिमुनि, दार्शनिक, मन्त्रद्रष्टा र त्रिकालदर्शी भएका छन्।’

यस्तै विविध खोजमूलक विषय समेटेको मन्त्र विज्ञानलाई तीन खण्डमा विभाजित गरिएको छ। वेद उत्पत्ति, वेदमा विदेशी, मन्त्रको प्रभाव, मन्त्र साधना र सिद्धान्त, मन्त्रका स्वरूप र उपासनाको रहस्य, उपवेद र वेदांगहरू, आगम, आचार, धारणा, पञ्चांग, दिव्यदेश सेवन र प्राणक्रिया, मुद्रा, ध्यान, समाधि, दीक्षा र गुरुकृपा, योगशास्त्र र मन्त्रशास्त्र, ॐ र गायत्री मन्त्र, वैज्ञानिक युगमा उपासनाको आवश्यकता, मन्त्रशक्तिको वैज्ञानिक चिन्तन आदि छन्।

थुप्रै शब्द र प्रसंग सामान्य पाठकले बुझ्न कठिन छ। प्राविधिक विषय भएकाले पनि अर्थ बुझाइमा फरकपन र जटिलता उत्पन्न हुन्छ। लेखकले त्यस्ता शब्द वा विषयलाई सरल ढंगले प्रस्ट्याइदिएको भए सबैको हितमा हुनेथियो। मन्त्रबारे जति लेखिएको छ, सर्सर्ती पुग्दो महसुस हुन्छ तर मन्त्र विज्ञान अथाह समुद्र भएकाले यो किताब केही गाग्रीमात्र हुनसक्छ। यसअघि ‘तन्त्र विज्ञान’ लेखिसकेका डा. थापा ‘यन्त्र विज्ञान’को तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.