भ्रमण वर्ष २०२० : प्रदेश १ मा भव्य उद्घाटनको तयारी
विराटनगर : उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेश १ मा भव्य रुपमा भ्रमण वर्ष २०२० को उद्घाटन हुने बताएका छन्। जनवरी १ अर्थात् पुस १६ गते विराटनगर स्थित सहिद रंगशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमिति सक्रियरुपमा लागेको उनको भनाइ छ।
शनिबार विराटनगरमा बसेको प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकमा मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बाँकी रहेका कामलाई समेत द्रुत गतिमा गर्न उपसमितिका पदाधिकारीलाई आग्रह गरे। ‘अब केही दिन मात्रै बाँकी छ, प्रदेश सरकार र समिति यसमानै जुटेको छ, उपसमितिका सबै आआफ्नो स्थानबाट सक्रिय रुपमा लाग्नुहोस,’ मन्त्री कुसियले आग्रह गरे।
रंगशालामा हुने उद्घाटन कार्यक्रममा १० हजार बढीको सहभागीता हुने र झाँकी प्रदर्शन र प्रदेश १ का सबै जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारको स्टलसमेत राखिने मुल समारोह व्यवस्थापन उप–समितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए।
संयोजक अधिकारीका अनुसार कार्यक्रमको उद्घाटन एयर बेलुनबाट भिजिट नेपाल २०२० को झण्डा फहराएर साथै हेलिकोप्टरबाट पुष्पबृष्टि गरेर गर्ने तयारी भएको छ। उद्घाटन पूर्व साइकल÷मोटरसाइकल र्याली, विभिन्न नाका र एयरपोर्टबाट आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी मुल समारोह व्यवस्थापन उप–समितिले गरेको छ।
‘रंगशालामा १० हजारका उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुहुनेछ, झाँकी प्रदर्शनसहित पर्यटन गीत प्रस्तुतीको पनि तयारी छ,’ अधिकारीले भने। प्रदेश १ लाई समेटेर सुमित खड्काले पर्यटन गीत तयार गरिरहेका छन्। उद्घाटन कार्यक्रम पुस १६ गते दिउँसो १२ बजेबाट सुरु गर्ने समितिले जनाएको छ।
शनिबार प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहेका मन्त्री कुसियतले उपसमिति संयोजकसँग उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत छलफल गरे।